banner

भारतमा फेरि कोरोना बढेपछि स्वदेशमै फर्किंन थाले नेपाली

शेयेर गर्नुहोस

कैलाली । सुर्खेतको गुरुवाकोट–११ का खडक विक भारत पसेको तीन महिनामै कैलालीको गौरीफन्टा नाका भएर घर फर्केका छन्। भारतमा लकडाउनको हल्ला चलेसँगै विक मात्र होइन, उनीसहित सुर्खेतका १२ युवाको टोली शुक्रबार नेपाल फर्किएको हो। उनीहरू भारतको महाराष्ट्र प्रदेशको पुनामा होटल र विभिन्न कम्पनीमा काम गर्थे।

‘त्यहाँ कोरोना बढेको छ, फेरि लकडाउन हुने हल्ला चलेपछि घर फर्किएका हौं। गत वर्षजस्तो सास्ती नहोस् भनेर यसपालि लकडाउन नहँुदै फर्किएको’, विकले भने। उनी गत वर्ष चैतमा लकडाउनका बेला एक महिनाभन्दा बढी भारतको पलियामा रोकिएका थिए।

‘त्यतिबेला भारतको पलियामा एक महिना रोकिनुपर्‍यो। परिवारसँग कुराकानी पनि हुन सकेन। खानपिनको व्यवस्था पनि राम्रो भएन’, उनले भने, ‘मरे पनि घरमै मरुँला भनेर आएका हामीलाई अर्काको देशमा जेल हालेजस्तै भयो। त्यसैले यसपालि हल्ला चल्नेबित्तिकै घर फर्केका हौं।’
उनले घरमा खेतीपाती भित्र्याउने समय भएको, चैते दसैं पनि आएकाले परिवारले घर आउन भनेपछि फर्किएको बताए। ‘लकडाउन भएन भने पछि एक÷दुई महिना खेतीपातीको काम गरेर फेरि गइन्छ’, उनले भने, ‘हैन भने हेरौं।’

नुवाकोटको तारकेश्वर–२ का रमेश परियार पनि शुक्रबार गौरीफन्टा नाकाबाटै घर फर्किए। परियार महाराष्ट्रको पुनामा होटलमा कुक काम गर्थे। त्यहाँ लकडाउनको हल्ला चलेकाले घर फर्केको उनले बताए। ‘त्यहाँ कोरोना फेरि बढिरहेको छ। त्यहाँको प्रदेश सरकारले लकडाउन गर्ने भनेर सूचना पनि जारी गरेको छ’, उनले भने, ‘साथीहरूले पोहोर सालको लकडाउनका बेला पाएको दुःख सुनेर यसपालि अगाडि नै घर आएको हुँ।’

उनी पनि गत वर्षको चैतमा लकडाउन सुरु भएका बेला घर फर्किएका थिए। मंसिरमा मात्रै भारत पसेका उनले भने, ‘लकडाउनको हल्लाले चार महिना मात्र काम गरेर फर्किनुपर्‍यो।’
उनले परिवारबाट पनि लकडाउन भए दुःख पाउने भएकाले घर आउन भनेकाले फर्किएको बताए। ‘छोराछोरी स–साना छन्, एक्लै श्रीमतीले उनीहरूको स्याहार गरिरहेकी छन्’, उनले भने, ‘म पनि लकडाउन भएर गत वर्षजस्तै सीमा नाकामा फसेपछि समस्या हुन्छ भनेर यसपालि लकडाउन नहुँदै आएको हुँ।’

कैलालीको टीकापुर नगरपालिका कटानपुरका विन्दु विक पनि भारतको पुनाबाट फर्किएका छन्। पुनामा मासु प्याकिङ गर्ने कम्पनीमा कार्यरत विकले त्यहाँ लकडाउनको तयारी भइरहेको सुनाए। ‘भारतमा नयाँ कोरोना पनि आएको छ भनेर सुनियो। त्यो पहिलेको तुलनामा खतरनाक भएको साथीहरूले बताए’, उनले भने, ‘कोरोनाले मर्नुभन्दा त घर जाऊँ भनेर फर्किएको।’
उनी दसैं–तिहार छाडेर असोजमा भारत गएका थिए। ‘कोरोना कम भइहाल्यो, भारतमा कम्पनीहरू खुलिसके भन्ने सुनियो अनि फेरि भारत गइयो’, उनले भने, ‘नेपालमा रोजगारी केही पाइँदैन। तर, फेरि त्यहाँ पनि लकडाउन हुने भनेर सुनेपछि घर आएको हुँ।’

भारतको राजधानी दिल्ली, ठूला सहर मुम्बई, गुजरात, चेन्नईसहितका प्रदेशमा कोरोनाका बिरामी बढिरहेका छन्। कोरोनाको दोस्रो चरणको महामारी फैलिन थालेपछि भारत सरकारले प्रभावित प्रदेशमा लकडाउन गर्ने संकेत गरेको छ। भारतमा कोरोनाको दोस्रो चरणका बिरामी पनि थुप्रै फेला परेका छन्। कोरोनाको पहिलो चरणभन्दा दोस्रो भाइरस अझ खतरनाक रहेको भनिएपछि नेपाली धमाधम घर फर्किन थालेका हुन्।

‘सीमा क्षेत्रमा पछिल्लो एक हप्तादेखि घर फर्किने नेपालीको संख्या दैनिक बढिरहेको छ’, प्रदेश सरकारले सीमामा खोलेको हेल्थ डेस्कका इन्चार्ज गणेशबहादुर साउदले भने। कोरोनाका कारण लकडाउन हुने हल्लापछि भारतबाट फर्किने नेपालीको संख्या बढिरहेको साउदले बताए।

‘भारताट फर्किने सिजन होइन। एकै पटक चैते दसैंमा मानिस फर्किन्छन्। चैते दसैं वैशाख दोस्रो साता छ। पहाडतिर अझै खेतीपाती भित्र्याउने बेला पनि भएको छैन’, साउदले भने, ‘तर दैनिक चार–पाँच सय मानिस गौरीफन्टा नाकाबाट फर्किरहेका छन्।’ अन्नपूर्ण पोस्ट दैनिकमा शिवराज भट्ट र क्रान्ति शाहले खबर लेखेका छन् ।

ताजा खबर

भारतको राजधानी दिल्लीमा एक साता लकडाउन घोषणा

भारतमा एकैदिन थपिए २ लाख ७३ हजार बढी कोरोना संक्रमित

amazed
corona alert

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!