banner

‘रामवृक्षमा जस्तो कम्युनिस्ट विचार अहिलेको धेरैजसो कम्युनिस्टका ठूला नेता भनाउँदाहरुमा पनि छैन’

शेयेर गर्नुहोस

क.रामवृक्ष यादवलाई मैले २०३६ सालदेखि नै चिन्थेँ । उहाँको नाम रामवृक्ष भए पनि नाम लिएर कसैले बोलाउँदैनथे । उहाँ लामो समयसम्म शिक्षण पेसामा आवद्ध रहेको कारण सबैले उहाँलाई ‘मास्टर साहब’ नै भन्थे । उहाँ शिक्षण पेसामा रहेको बेला नै माक्र्सवादको अध्ययन गर्नुभएको थियो । उहाँले क्रान्ति र विचारलाई नजिकबाट बुझ्ने प्रयास गर्नुभयो । जनतामा देखिएको अभाव र पीडालाई प्रत्यक्ष भोग्नुभयो । र, विस्तारै कम्युनिस्ट आन्दोलनप्रति आकर्षित हुँदै त्यसमा लाग्नुभयो ।

उहाँ शिक्षण पेसा छाडेर ऋषिराज देवकोटाको साथमा कम्युनिस्ट आन्दोलनमा आउनु भएको थियो । त्यतिबेला कम्युनिस्ट आन्दोलनमा लागेका कारण उहाँलाई जेलमा हालियो । पछि राजबन्दीहरु रिहा हुँदा उहाँलाई पनि रिहा गरिएको थियो । त्यहाँदेखि नै म उहाँसँग निरन्तर सम्पर्कमा रहेर काम गरेको हुँ ।

उहाँ कम्युनिस्ट विचारधाराप्रति पुरै प्रतिबद्ध हुनुहुन्थ्यो । यति प्रतिबद्ध कि उहाँको प्रेरणा र सोचले पुरै परिवार नै कम्युनिस्ट आन्दोलनमा लाग्यो । उहाँको परिवार मात्र होइन, कम्युनिस्ट प्रतिको सोच र लगाव देखेर त्यतिबेला थुप्रै मान्छे कम्युनिस्ट क्रान्तिमा लागेका थिए । उहाँमा जुनखालको विचार थियो, त्यस्तो विचार अहिलेको धेरैजसो कम्युनिस्टका ठूला नेता भनाउँदाहरुमा पनि छैन । अहिले कम्युनिस्ट आन्दोलन जुन अवस्थामा पुगेको छ, कम्युनिस्ट पार्टीहरुमा जुन प्रकारको गिजलो छ, उहाँ भएको भए अहिले निकै चिन्तित हुनुहुन्थ्यो होला ।

अहिलेका नेताहरुको बोली र व्यवहारमा फरक देखिन्छ । जनताको कुरा गर्ने तर व्यवहारमा कार्यान्वयन नगर्ने, राष्ट्रियता र पहिचानको कुरा गर्ने तर व्यवहारमा केही नगर्ने जुन रुप अहिलेका नेताहरुमा देखिन्छ, ती कुराहरु उहाँमा थिएन । यी कुराहरुबाट उहाँ कोसौँ टाढा हुनुहुन्थ्यो ।

उहाँले जे बोल्नु हुन्थ्यो, त्यो गर्नु हुन्थ्यो, चाहे त्यसका लागि जस्तोसुकै कदम किन चाल्नु नपरोस् । उहाँ पार्टी, क्रान्ति र विचारप्रति पुरै समर्पित हुनुहुन्थ्यो । कम्युनिस्ट आन्दोलनमा लाग्नुभन्दा अगाडि उहाँ अध्यात्मवादी विचारको व्यक्ति हुनुहुन्थ्यो । त्यतिबेला अध्यात्मवादको राम्रो वक्ता हुुनुहुन्थ्यो उहाँ । जब उहाँले माक्र्सवाद पढ्नुभयो, माक्र्सवादीहरुको सम्पर्कमा आउनुभयो अनि पुरै भौतिकवादी बन्नुभयो र, त्यहीखालको आचारण र व्यवहार पनि शुरु गर्नुभयो ।

उहाँ यस्तो नेता हुनुहुन्थ्यो कि कोही जनता–कार्यकर्ता बिरामी भएको अवस्थामा उहाँ आफै उसको घरमा गएर सेवा गर्नुहुन्थ्यो । अध्यात्मका साथै मास्टर ९शिक्षक० भएको नाताले उहाँलाई केही औषधिहरुको ज्ञान पनि थियो । र, त्यो हिसाबले उहाँ बिरामीहरुलाई सेवा गर्नुहुन्थ्यो । जनतासँग उहाँको अटुट नाता थियो, जनताप्रति समर्पित हुनुहुन्थ्यो । जनताको हरेक सुखदुःखमा उहाँले साथ दिनुहुन्थ्यो । त्यसैले उहाँ जनप्रिय नेता बन्नुभएको थियो ।

साँच्चै भन्ने हो भने जननेतामा हुनुपर्ने सबै गुण उहाँमा थियो । उहाँ निरन्तर वर्ग संघर्षमा लाग्नुभयो । वर्ग संघर्षप्रति र विचारधाराप्रति उहाँ प्रतिवद्ध भएको कुरा त्यो क्षेत्रका पञ्चहरुलाई सह्य भएन । पञ्चायती गुण्डाहरु जो बहुदल आइसकेपछि कोही काँग्रेस भए, कोही एमाले पनि भए, उनीहरुले नै योजना बनाएर मस्टरसाहबको हत्या गरे ।

मास्टर साहबलाई कसरी र कसले हत्या गर्यो भन्ने आमजनतालाई थाहा छैन । कतिपय तत्कालीन एमालेका नेताहरु र काँग्रेसकै नेतृत्वमा उहाँको हत्या भएको हो । पञ्चायती व्यवस्थाको समयमा मास्टर साहब र पञ्चायती गुण्डाहरुबीच भिडन्त भइरहन्थ्यो । उनीहरु डाँका थिए । उनीहरुले गाउँ लुट्थे । मास्टर साहबले त्यसको विरोध गर्नुहुन्थ्यो, जुन कुरा ती पञ्चहरुलाई पच्दैनथ्यो । पछि बहुदल आएपछि उनीहरु कोही एमाले भए, कोही काँग्रेस भए । र, सबैले योजना बनाएर नै मास्टर साहबको हत्या गरे । त्यतिबेला प्रहरी प्रशासनले पनि उनीहरुलाई साथ दिएको थियो । भदौ १ गते नेपाल बन्दको क्रममा उहाँ जनकपुर जानु भएको थियो । म सिरहामा थिएँ । जनकपुरबाट फर्किने क्रममा बाटोमा उहाँको हत्या भएको थियो ।

त्यो बेला हामी जनयुद्धको तयारीमा थियौं । मास्टर साहबको हत्या भएपछि उहाँका छोरा शेखर यादव, छोरीहरु बोधमाया यादव, सुनिता यादव, श्रीमती रामकुमारी यादवलगायत परिवार र अन्य नातेदारहरु सबै कम्युनिस्ट आन्दोलनप्रति प्रतिवद्ध थिए । आफ्नो उमेर र क्षमता अनुसार सबैजना आन्दोलनमा लागेका थिए । पुरै परिवारलाई राजनीतिकरण गर्नमा हामीले सघाएका थियौं । अध्यक्ष प्रचण्डलगायतका नेताहरुले पनि मास्टर साहबको परिवारलाई राजनीतिकरण गर्ने काम गर्नुभयो । देशमा गणतन्त्र आइसकेपछि भएको पहिलो चुनावमा मस्टर साहबका श्रीमती रामकुमारी यादवलाई टिकट दिएर नै चुनाव जिताएका थियौं । पछि एउटा दुर्घटनामा परेर उहाँको निधन भएको थियो ।

मास्टर साहबका छोरा शेखर पार्टीमै सहिद हुनुभएको हो । मास्टर साहबको कान्छी छोरीको श्रीमान् पनि जनयुद्धमै सहिद हुनुभएको हो । मास्टर साहबका सानीआमाका छोरा पनि जनयुद्धमै सहिद हुनुभएको हो । त्यसका साथै उहाँका अन्य नेतादारहरु पनि जनयुद्धमा सहिद हुनुभएको हो । अर्थात् उहाँका पुरै परिवारले कम्युनिस्ट पार्टीका लागि योगदान गरेको छ, पार्टीका लागि बलिदानी दिएको छ । यो सबै मास्टर साहबको प्रेरणा र उच्च विचारको प्रभाव हो । उहाँसँग काम गर्दा मैले उहाँमा एउटा अचम्मको गुण पाएँ । उहाँले ज–जसलाई कन्भिन्स गर्नुभयो, सबै कम्युनिस्ट आन्दोलनमा लागेका छन् । उहाँका अधिकाँश नातेदारले यही कम्युनिस्ट आन्दोलनमै जीवन बिताए ।

२०४२ सालतिर एकपटक अस्पतालबाट मास्टर साहबलाई भगाउनका लागि उहाँका नातेदारहरुले नै सहयोग गर्नुभएको थियो । अस्पतालबाट भगाउनुदेखि लिएर सीमा कटाउनसम्म उहाँका नातेदारहरुकै सहयोग थियो । त्यतिमात्र होइन, मास्टर साहब मारिए पनि उहाँका नातेदारहरुबाट जनयुद्धलाई निकै सहयोग भयो । जसरी मास्टर साहबले सहयोग पाइरहनु भएको थियो, त्यसरी नै हामीले पनि सहयोग पाएका थियौं ।

कम्युनिस्ट पार्टीले पनि उहाँ र उहाँका परिवारलाई निकै सम्मान गरेको छ । हाल नेकपाका अध्यक्ष प्रचण्ड आफै पटक–पटक उहाँको घर पुगेर उहाँका परिवारका सदस्य तथा नातेदाहरलाई भेट्नु भएको छ । यहाँसम्म कि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पनि मास्टर साहबको स्मृतिसभालाई सम्बोधन गर्न बरमझिया पुग्नुभएको थियो । उहाँको नाममा सडक नामाकरण गर्ने घोषणा पनि भयो तर हालसम्म त्यो कार्यान्वयन भएको छैन ।

तर एउटा कुरा सही हो कि मधेशका नेताहरुलाई उपेक्षा गरिन्छ । अन्य दलमा रहेका मधेशी नेताहरुको पनि उपेक्षा नै गरिएको हुन्छ । मास्टरसाहबका लागि जति हुनुपर्ने, त्यति भएको छैन । उहाँको योगदान र लगानीको हिसाबले पार्टीले धेरै गर्नुपथ्र्यो तर त्यो अनुसार भएको छैन । यद्यपि जे गरेको छ, त्यसमा सन्तोष मान्नुपर्ने अवस्था पनि छ । अध्यक्ष प्रचण्डले उहाँ र उहाँका परिवारलाई स्थापित गर्न हरेक प्रकारले प्रयास गर्नुभएको छ । अहिले मास्टर साहबका एकजना छोरी समानुपातिक सांसद हुनुहुन्छ । अर्को छोरी दुई नम्बर प्रदेशको सम्पर्क मञ्चको अध्यक्ष हुनुहुन्छ । अहिले पनि उहाँका परिवारबाट पार्टीमा दुईजना सक्रिय भएर लागिरहनु भएको छ ।

मास्टर साहब साहित्यकार पनि हुनुहुन्थ्यो । उहाँले गीत र कविता लेख्नु हुन्थ्यो । गाउनु पनि हुन्थ्यो । संगीत पनि दिनुहुन्थ्यो । तर उहाँको सबभन्दा ठूलो कमजोरी, उहाँ जहाँ कविता लेख्नु हुन्थ्यो त्यहीँ छोडिदिनुहुन्थ्यो । कुनै गीत, संगीतलाई ग्रहण गर्नुभएन । उहाँको हत्या भएको धेरैपछि उहाँको एउटा किताब प्रकाशन भएको छ । उहाँका कविता, गीत, संगीत प्रायः क्रान्तिकारी खालको हुन्थ्यो । जनताको मुक्तिका लागि हुन्थ्यो । उहाँ बहुप्रतिभाशाली व्यक्ति हुनुहुन्थ्यो भन्दा फरक पर्दैन । त्यसैले आज पनि उहाँको योगदान, विचार, लगनशीलतालाई सबैले सम्मान गर्छन् ।

(रामवृक्ष यादवसँग काम गर्नुभएका नेकपाका स्थायी कमिटी सदस्य मातृका यादवसँग कुरा गरिएको आधारमा) –रातोपाटीबाट साभार

ताजा खबर

भारतको राजधानी दिल्लीमा एक साता लकडाउन घोषणा

सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने सरकारको निर्णय

भारतमा एकैदिन थपिए २ लाख ७३ हजार बढी कोरोना संक्रमित

प्राज्ञिक समाजद्वारा पत्रकार चौधरीसहित ४ जना डा. सम्मानित

amazed
corona alert

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!