शेयेर गर्नुहोस
मान बहादुर ठकुल्ला /
टीकापुर । टीकापुर नगरपालिकाको ग्रामिण बस्तीमा छाउपडी प्रथा अझै कायम रहेको पाईन्छ । नगरपालिका वडा न ७ बैदी कि १७ बर्षिया किशोरी रेनुका साउद भन्नू हुन्छ हाम्रो गाउमा अझै पनि छाउपडी प्रथा कायमै छ ।
अझै पनि केही घरमा छाउगोठ नै रहेको छ । छाउगोठ मा बस्दा सर्प र किरा ,फट्याङ्ग्राको त्राशले सुत्नु पर्ने बाध्यता छ । जसका कारण रातभरि निन्द्रा लाग्दैन र बलात्कृतको सिकार पो भईन्छ कि भनी चिन्ताले पिरोल्ने गरेको रेनुका बताउछिन ।
यस्तै टीकापुर नगरपालिका वडा न ७ सत्तीकि जानू जैशि भन्छिन– ‘केही बर्ष पहिले घर भन्दा टाढा बनाईको छाउगोठमा बस्नु प्रथ्यो । आज भोलि छाउगोठमा त बस्नु पर्दैन तर छाउपडी प्रथा चाहिँ मान्नु पर्छ । घरको एक कुना अर्थात बरन्डा र घरको पालीमा सुत्नु पर्छ । पहिला भन्दा अलि सुरक्षित भएको महशुस गर्छिन ।
टीकापुर नगरपालिका ७ राम जानकी टोलकि संजिता ढुङ्गानाको पनि समस्या अरु भन्दा फरक छैन । गर्मीमा लामखुट्टेले सताउछ भने चिसो समयमा प्रसस्त लुगा नहुदा चिसोमा सुत्न अफ्ठ्यारो हुने त्राशका कारण रातभरि निद्रा लाग्दैन ।
जतिबेला आफुहरुलाई पोसिलो खानाको आवश्यक्ता हुन्छ त्यति बेला दूध,दहि ,घ्यु खान पाईदैन । देविदउता रिसाउछन र दूध दहि र घ्यु महिनावारी भएका बेला खाएमा घरमा अनिष्ट हुन्छ भन्दै बृद्धबृद्धाले खान र छुन दिदैन । आफु छाउपडी प्रथाका बारेमा सचेत त छौ तर स्थानिय स्तरका बुढापाखाको चेतनामा परिबर्तन ल्याउनु पर्ने अनि मात्रै छाउपडी प्रथा हटाउन सकिने टीकापुर ७ कि अस्मिता धामी बताउँछिन । महिनावारी तथा सुत्केरी भएका बेला छाइछुइ गर्न नहुने, यसो गरे देवता रिसाउने र पाप लाग्ने भन्दै घरका बुढापाखाले दूध ,दहि, घ्यु खान नदिने गरेको टीकापुरका अधिकांश ग्रामिण बस्तीमा धार्मिक अन्धविश्वास रहदै आएको छ ।

टिकापुर नगरपालिकाका विभिन्न समुदाय सुर्यपुर, बटनपुर कर्मिडाँडा, अर्नुवाफाँटा, कमलगाँउ, कालिमाटी पायलगाँउ,रोईनीबोझी , बैदी लगायतका गाउका महिला हरूमा महिनावारी भएका बेला घरका कुनैपनि सरसामान छुनु हुँदैन भन्ने अन्धविश्वास कायमै छ । त्यसैले यस्तो बेलामा सुत्केरी वा महिनावारी भएकी महिलालाई घरभन्दा टाढा बनाइएको झुपडीमा बस्न लगाइन्छ ।
टीकापुर ७ कि प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमि शान्ति नेपाली भन्छन ः– रजश्वला भएकी महिलालाई झन सफा राख्नुपर्ने तथा प्रशस्त पोषिलो आहार खुवाई आराम गराउनु पर्ने अवस्थामा ग्रामिण स्तरका छोरी, बुहारी समेत रजस्वला हुँदा घरका गाई, भैँसीको दूध खाँदैनन् । यस्तो बेलामा घरमा पालेको गाई, भैँसीको दूध खाए तिनले दूध दिन छोड्छन् भन्ने अन्धविश्वास रहेको टीकापुर नपा वडा न ८ कि मनसरा साउँद बताउछन ।
उनका अनुसार परम्परागत अन्धविश्वासका कारण यस्ता महिलालाई छोएको खण्डमा अशुद्ध हुने भएकाले छोए पनि सुनपानीको छिटो हाल्ने, गहुँत खुवाउने, घरका कुलदेवता चोख्याउने जस्ता प्रचलन छ । टीकापुर ९ का वडा सचिब लोक बहादुर बुढाका अनुसार छाउपडी बसेका बेला बलात्कार हुने, सर्पले टोकेर मर्ने लगायतका घटनाहरू सुन्नमा आउँछन् । कतिपय महिला छाउपडीमा बसेका बेला चिसोले कठ्याङ रिएर र कतिपय बढी रक्तस्राव भएर पनि मर्ने गरेका छन् । गर्मीमा लामखुट्टे,सर्प, बिच्छी जस्ता विषालु किराहरुको डर हुन्छ भने जाडो याममा न्यानो लुगाको अभावमा विभिन्न स्वास्थ्य समस्याहरु आउने गरेको बुढा बताउछन ।
कर्णाली माबि सती कि शिक्षिका सरस्वती साउँदका अनुसार बिगतका दिनमा स्कूल पढदै गरेका साना नानीहरुमा रजश्वला हुँदा गरिने भेदभावपुर्ण व्यवहारले बिद्यालय नआउने हुन्थ्यो तर आज भोलि त्यो समस्या भने अन्त्य भएको नियमित बिद्यालय आउने गरेका छन र उनीहरुका लागि स्वास्थ्य सामग्रीको व्यवस्था गरिएको हुन्छ ।
रजश्वला हुँदा महिलाले आफ्नो स्वास्थ्य प्रति अझ बढी जागरुक हुनु जरुरी छ । सरसफाईमा ध्यान पुर्यानुका साथै दैनिक आहारमा समेत पोषिलो खाने कुराको मात्रा बढाउनु पर्ने स्वास्थयकर्मि गोबिन्द कठायत बताछन ।

टीकापुर नगरपालिकाले छाउपडी प्रथा जस्ता कुरीतिका विरुद्घ जनचेतना फैलाउने र छाउपडी गोठ भत्काउने अभियान समेत थालिएको जस अन्तरगत ६० जति छाउगोठ भत्काईएको टीकापुर नगरपालिका कि महिला तथा बालबालिका शाखा प्रमुख संगिता शाहले बताइन । बिगतका दिनमा छाउपडी प्रथा तथा छाउगोठ मुक्त गर्नका लागि नगरपालिका विभिन्न खाले सचेतनामुलक कार्यक्रम संचालन गरिएको आगामि बर्ष पनि निरन्तरता दिनका लागि १ लाख रकम बिनियोजन गरिएको टीकापुर नगरपालिकाका प्रबक्ता दिर्घ बहादुर ठकुल्ला बताउछन । अझै पनि यस क्षेत्रका महिलाहरु छाउपडी प्रथा मानि रहनुका साथै छाउगोठमा बस्ने गरेको पाईन्छ ।
कतिपयले छाउगोठमा नबसि घरको पालिमा बस्ने गरेको पाईन्छ । छाउगोठ बनाई छाउगोठमा बसेको कोहि कसैले वडा कार्यालयमा उजुरि गरेमा छाउगोठ भएका घरपरिवारको वडा कार्यालय बाट दिईने सेवासुबिधा रोकिने टीकापुर नगरपालिका वडा न ७ का वडा अध्यक्ष रामलाल डगौरा थारुले बताए ।
यसरी महिनावारी तथा सुत्केरी हुँदा शारीरिक रुपले कमजोर भएका अवस्थामा उनीहरूले उचित हेरविचार र पौष्टिक खानपान पाउनुको साटो उल्टो शारीरिक पिडा मानसिक पिडामा महिला परेका छन ।
यसै प्रथाका कारण कयौं महिलाहरू जङ्गली जनावरका सिकार हुनुपरेको छ । अचेतना र रोगको सिकार हुनु परेको छ, व्यबिचारीहरूको फन्दामा परि बलात्कृत हुनु परेको छ, शिशु र मात्रृ मृत्युदर बढाएको छ ।
समग्रमा भन्नुपर्दा छाउपडी प्रथा का कारण महिलाहरूमाथि ठुलो अमानवीय तथा भेदभाव युक्त व्यवहार र उनीहरूको मानव अधिकारको हनन भैरहेको छ ।
महिलाहरूको जिवनस्तर र चेतनास्तर उठाउने काम पहिलो प्राथमिकतामा राखिनु पर्दछ र यस विरुद्ध आवाज उठाउन अब कति पनि ढिलो गर्नु नहुने भानु सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र सत्तीका अध्यक्ष देबेन्द्र प्रसाद जैशी बताउनुहुन्छ ।