अझै छाउपडी प्रथा कायमै

शेयेर गर्नुहोस

मान बहादुर ठकुल्ला । टीकापुर । महिना–वारी हुनु महिला सन्तान उत्पादन का लागि सक्षम हुनु हो । महिना वारी महिलाको जीवनमा बरदान जस्तै हो तर त्यही महिनावारीको समयमा महिलाले भोग्ने व्यवहारले महिनावारीलाई उत्सवका रुपमा मनाउने वातावरण बनेको छैन ।
कैलालीको टीकापुर नगरपालिकाका ग्रामिण बस्तीका किशोरीलाई महिनावारीबारे राम्रो ज्ञान भए पनि छाउपडी प्रथा अझै कायम रहेको छ ।
टीकापुर–७ बैदीकि १७ वर्षीय किशोरी रेनुका साउँदलाई महिनावारी मासिक चक्र हो भन्ने थाह छ तर उहाँले छाउ प्रथा बार्नुपरिरहेको छ । ‘‘म लगायत स्थानीय किशोरी हरु छाउपडी प्रथाका बारेमा सचेत छौँ तर हाम्रो गाउँमा अझै पनि छाउपडी प्रथा कायमै रहेको छ’’, उहाँ भन्नुहुन्छ, ‘‘गाउँका बुढापाका तथा घरपरिवारको दबाबमा छाउपडी प्रथा मान्नुपर्ने बाध्यता हामीलाई छ ।’’
रेनुकाले वडा नं. ७ मा अझै केही घरमा छाउगोठ रहेको बताउनुभयो । छाउगोठमा बस्दा सर्प, किरा र फट्याङ्ग्राको डरै–डरले सुत्नुपर्ने वाध्यता रहन्छ । शारीरिक असुरक्षाका कारण रातभरि निदाउन नसक्ने महिलाले अझै मुक्ती नपाएको रेनुकाको गुनासो छ ।
टीकापुर ७ कै जानु जैसी छाउपडी प्रथा बिकृति र बिसंगति पूर्ण प्रथा रहेको भनी सचेत रहे पनि समाजको व्यवहारले मान्नु परिरहेको बताउनुभयो । ‘‘केही वर्ष पहिले घरभन्दा टाढा बनाईको छाउगोठमा बस्नु प¥थ्यो । आजभोलि छाउगोठमा त बस्नु पर्दैन तर छाउपडी प्रथा चाहिँ मान्नुपरिरहेको छ’’, जानुले भन्नु भयो, ‘‘घरको एक कुना अर्थात बरन्डा र घरको पालीमा सुत्नुपर्छ । पहिलाभन्दा अलि सुरक्षित भएको महशुस गरेकी छु तर ४ दिनसम्म अलग रहने, भान्सामा जान नपाउने जस्ता कार्य चलिरहेका छन् ।’’
रामजानकी टोलकी संजिता ढुङ्गानाको पनि समस्या अरुको भन्दा फरक छैन । छाउपडी कुप्रथाका बारेमा सचेत तथा जानकार भए पनि समाजमा रहेको गलत अभ्यासले आफूलाई पिरोलिरहेको उहाँको भनाइ छ । ‘‘गर्मीमा लामखुट्टेले सताउँछन्, चिसो समयमा प्रसस्त लुगा नहुँदा चिसोमा सुत्न अफ्ठ्यारो हुने गर्छ । रातभरि निद्रा लाग्दैन’’, संजिताले भन्नुभयो, ‘‘तर घरमा विद्रोह गर्न सकिएको छैन । जतिबेला आफुलाई पोषिलो खानाको आवश्यक्ता हुन्छ त्यति बेला दूध, दहि, घ्यु खान पाईदैन ।’’
समुदायमा चलनकारुपमा रहेको छाउपडी कुप्रथा विरुद्ध आवाज उठाउने महिला समेत बढ्दै गएका छन् । टीकापुरकी अस्मीता धामीले महिनावारीको समयमा घरबाहिर बस्दिन भनी बिद्रोह गर्न थाल्नु भएको छ ।
‘‘रजश्वला तथा सुत्केरी भएका बेला छाइछुइ गर्न नहुने, यसो गरे देवता रिसाउने र पाप लाग्ने भन्दै घरका बुढापाखाले दूध ,दहि, घ्यु खान नदिने गरेका छन्’’, धामीले भन्नुभयो, ‘‘अब हामीले ग्रामिण बस्तीमा धार्मिक अन्ध विश्वास हटाउने काम गर्न आवश्यक छ ।’’
टीकापुर नगरपालिकाका विभिन्न समुदाय सुर्यपुर, बटनपुर कर्मिडाँडा, अर्नुवाफाँटा, कमल गाँउ, कालिमाटी पायलगाँउ, रोईनीबोझी ,बैदी लगायतका गाउँमा रजस्वला भएका छाउपडी कुप्रथा अभ्यासमा छ । टीकापुरकी रुष्मा विकको घरमा दुई वर्षअघि निकै छुवाछुत गरिन्थ्यो । महिनावारीको समयमा उहाँले नल्का सम्म छुन पाउनु हुँदैनथ्यो । गतवर्ष रुष्माले गोठमा बसाए खाना नखाने अडान लिनुभयो । ‘‘मैले दुई दिन खाना खाइन, म निकै बिरामी परे, अनि आमाले घरभित्रै सुत भन्नुभयो’’, रुष्माले भन्नुभयो, ‘‘म आजभोलि घरभित्रै सुत्छु, नल्कामै नुहाउँछु तर भान्सामा जान दिनु भएको छैन । विस्तारै त्यो पनि गर्छु ।’’ रुष्माका अनुसार अलिअलि विद्रोह पनि आवश्यक छ तर परिवारलाई महिनावारी पाप होइन भन्ने बुझाउन आवश्यक छ ।
टीकापुर ७ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमी शान्ति नेपाली रजश्वला भएकी महिला लाई झन सफा राख्नुपर्ने तथा प्रशस्त पोषिलो आहार खुवाई आराम गराउनुपर्ने अवस्थामा घरबाहिर राख्नु गलत हुने बताउनु हुन्छ ।
‘‘गाई, भैँसीको दूध खाँदैनन् । यस्तो बेलामा घरमा पालेको गाई, भैँसीको दूध खाए तिनले दूध दिन छोड्छन् भन्ने अन्धविश्वास गलत हो’’, नेपाली भन्नुहुन्छ, ‘‘यस्तो बेला बढी स्याहार आवश्यक छ ।’’
कर्णाली मावि सत्तीकी शिक्षिका सरस्वती साउँद विगतलाई हेर्दा धेरै परिवर्तन भएको बताउनुहुन्छ । ‘‘विगतका दिनमा स्कूल पढ्दै गरेका साना नानीहरुमा रजश्वला हुँदा गरिने भेदभावपूर्ण व्यवहारले विद्यालय नआउने हुन्थ्यो तर आज भोलि त्यो समस्या भने अन्त्य भएको छ । नियमित विद्यालय आउने गरेका छन्’’, साउँदले भन्नुभयो, ‘‘आजभोलि विद्यालयमै निशुल्क स्यानिटर प्याड दिने गरिएको छ । उनीहरुका लागि स्वास्थ्य सामग्रीको व्यवस्था गरिएको हुन्छ । जसले सहज बनाएको छ ।’’
रजश्वला हुँदा महिलाले आफ्नो स्वास्थ्य प्रति अझ बढी जागरुक हुनु जरुरी छ । सरसफाईमा ध्यान पु¥याउनुका साथै दैनिक आहारमा समेत पोषिलो खाने कुराको मात्रा बढाउनुपर्ने स्वास्थयकर्मी गोबिन्द कठायत बताउनुहुन्छ । टीकापुर नगरपालिकाले गतवर्ष छाउपडी प्रथाजस्ता कुरीतिका विरुद्घ जनचेतना फैलाउने र छाउपडी गोठ भत्काउने अभियान समेत थालिएको थियो । जसअन्र्तगत ६० छाउगोठ भत्काईएको टीकापुर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख संगिता शाहले बताउनु भयो ।
विगतका दिनमा छाउपडी प्रथा तथा छाउगोठ मुक्त गर्नका लागि नगरपालिका विभिन्न खाले सचेतना मूलक कार्यक्रम संचालन गरिएको र आगामी वर्ष निरन्तरता दिनका लागि रु. १ लाख रकम विनियोजन गरिएको टीकापुर नगरपालिकाका प्रबक्ता दीर्घ बहादुर ठकुल्लाले बताउनु भयो ।
अझै पनि यस क्षेत्रका महिलाहरु छाउपडी प्रथा मानीरहेका छन् । साथै छाउगोठमा बस्ने गरेको पाईन्छ । कतिपय छाउगोठमा नबसी घरको पाली वा खुला आकाशमा बस्ने गरेका छन् । ‘‘छाउगोठ बनाई छाउगोठमा बसेको कोहि कसैले वडा कार्यालय मा उजुरी गरेमा छाउगोठ भएका घरपरिवारको वडा कार्यालयबाट दिईने सेवा सुबिधा रोक्नेछौँ’’, टीकापुर –७ का वडाध्यक्ष रामलाल डगौरा थारु बताउनु हुन्छ, ‘‘सरकारले छाउपडी कुप्रथा लाई अपराध मानेको छ । बस्ने र बस्न लगाउनेलाई पनि कारवाही हुन्छ ।’’
धर्म र सँस्कृतिको आडमा महिलामाथि गरीने यस्ता अमानविय व्यवहारका बिरुद्दमा सरकारी तथा गैरसरकारी संघ–संस्था सचेतना मूलक कार्यक्रम सञ्चालन गर्दै आईरहेका छन् । बाल कल्याण संघद्वारा गठित नवजारण महिला सञ्जालले यसरी महिनावारी तथा सुत्केरी हुँदा शारीरिकरुपले कमजोर हुने भएकाले समुदायको चेतनास्तर विकासका लागि विभिन्न खाले जनचेतनामूलक कार्यक्रम गरिरहेको बाल कल्याण संघद्वारा गठित नवजारण महिला सञ्जालका अध्यक्ष नन्दा खत्री साउँदले बताउनुभयो ।
‘‘उचित हेरविचार र पौष्टिक खानपान पाउनुको साटो उल्टो तिरस्कार, शारीरिक पीडा र लामो समयसम्म घरबाट टाढा एक्लै बस्नुपर्दा महिलाको स्वास्थ्य, विचार, मनोवल र अस्तित्व आदिमा समेत ठुलै नकारात्मक प्रभाव पार्ने गरेको छ’’, साउँदले भन्नुभयो, ‘‘हामीले सञ्जालमा पनि छलफल गर्ने गरेका छौँ । कुप्रथा मानेकै कारण महिलामाथि भइ रहेको हिंसाविरुद्ध समेत सचते भएका छौँ ।’’
महिलाको जीवनस्तर विकास पहिलो प्राथमिकतामा राखिनुपर्ने भानु सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र अध्यक्ष देबेन्द्र जैशी बताउनुहुन्छ । ‘‘विभिन्न चलन र परम्पराका नाममा महिलामाथि हिंसा बढेको देखिन्छ’’, अध्यक्ष जैसी भन्नुहुन्छ, ‘‘पुस्तकालय मार्फत् किशोरीको नेतृत्व विकासको काम समेत भइरहेको छ । हामीले हिंसा न्यूनिकरणका क्षेत्रमा समेत काम गरिरहेका छौँ ।’’

ताजा खबर

माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती

क्वारेनटाइन नहुँदा तरकारी ल्याउन विवाहको कार्ड देखाउनुपर्ने

धर्मापुर कटान ग्रामीण सहकारीको १५ औं साधारणसभा सम्पन्न

एसएसपी बढुवाको तयारी, यी ३८ जना प्रतिस्पर्धी

amazed