प्राविधिक शिक्षामा युवाको आकर्षण

शेयेर गर्नुहोस

यज्ञराज उपाध्याय
टीकापुर । टीकापुर नगरपालिका वडा नम्बर १ का रतन साँउद एकाबिहानै आफ्नै तरकारी बारीमा गोडमेल गरि रहेका छन् । २१ वर्षका साउँदले आइएससी एजी अध्ययनसँगै यसरी तरकारी खेती गर्न थालेका हुन् । कैलालीको टीकापुरस्थित टीकापुर पोलिटेक्निक इन्ष्टिच्यूट बाट आएससी एजीको पढाइ सकेका उनले निकै राम्रो तरिकाले व्यावसायिक तरकारी खेती गरि रहेका छन् भने उता बिएससी एजी अध्ययनका लागि बंगलादेश जाने तयारी पनि गरिरहेका छन् ।


स्थानीय स्तरमै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को आंगिक शिक्षालय स्थापना भएपछि कमर्श पढिरहेका साउँद यता होमिएका थिए । तीन वर्षे कोर्ष अध्ययनको क्रममा शिक्षालयमा गरिने अभ्यासकै आधारमा उनले पहिलो वर्ष नसकिदै परिवारले परम्परागत रुपमा गर्दै आएको कृषि कर्ममा व्यावसायिकमा बदल्दै तरकारी खेती गर्दै आएको साउँद बताउछन् । “सुरुमा कमर्श पढि रहेको थिएँ तर पछि पोलिटेक्निक को बारे धेरै जानकारी पाएपछि प्रवेश परिक्षा दिएँ र पास पनि भएर यतै पढ्न थालेँ’’ उनले थपे, “कलेजमा सैद्धान्तिक ज्ञानभन्दा बढी प्राक्टिकल हुने भएकाले पढाईको पहिलो वर्षमै पाएको ज्ञानले व्यावसायिक रुपमा तरकारी खेती गर्दा राम्रो हुने लाग्यो र व्यावसायिक तरकारी खेती सुरु गरेँ ।’’


इन्ष्टिच्यूटमै बेर्ना हाल्नदेखि, उमार्न, टिप्न, बेच्नदेखि मल, विषादीको प्रयोग, सिचाईँ, गोडमेल लगायत धेरै कुराहरुको प्राक्टिकल नै गराइने भएकाले छिटो धेरै कुरा सिकिएको साउँदको भनाइ छ । उनी समयमै प्राविधिक शिक्षाको अध्ययनतर्फ लाग्दा समय र पैसाको बचत संगै छोटो अवधीमै आम्दानीसमेत हुन लागेको बताउछन् । “समयमै पोलिटेक्निकमा प्राविधिक शिक्षा अध्ययनको अवसर पाउँदा समय पनि खेर गएन अनि पैसा पनि,“ उनले भने, “अनि आफ्नो सीपलाई व्यवहारमा उतार्दा छोटो समयमै अलिकति भएपनी आम्दानी हुने गरेको छ ।’’


तरकारी खेतीसंगै गाईपालन र माछापालनसमेत गरिरहेका साउँद सीप विकासमा कैलालीमै सबैभन्दा पहिले स्थापना भएको टीकापुर पोलिटेक्निकल ले नदीमाथि तर्ने पुल जस्तै काम गरेको बताउछन् । केही काम गर्ने इच्छा हुँदाहुँदै पनि केही सीप नभएकाहरुलाई विभिन्न तालिमहरु दिने, किताबी ज्ञान भन्दा पनि फिल्डमै अभ्यास गराइने भएकाले धेरै मान्छेहरु आत्मनिर्भर बनिरहेको बताउदै यसले स्थानीय स्तरमा राम्रो प्रभावसमेत देखिन थालेको दाबी गरे । “सिटिईभिटी अन्तरगतको टीकापुर पोलिटेक्निक इन्ष्टिच्यूटले छोटो र लामो समयका तालिम दिने हुँदा स्थानीयलाई केही सीप सिकेर काम गर्न सहज भएको छ,’’ उनले भने, “विश्वासिलो र भरपर्दो भएकाले पनि अगाडी नै तालिम लिएकाहरुले पनि पुनः तालिम लिएर काम पनि गरि रहेका धेरै उदाहरणहरु छन् ।’’
त्यस्तै सोही इन्ष्टिच्यूटबाट अध्ययन सकेका धनगढी उपमहा–नगरपालिका वडा नम्बर ५ का हेमराज भट्टले स्थानीय स्तरमा सीप विकासका लागि टीकापुरको एकमात्र सिटिइभिटी शिक्षालयले निकै महत्त्वपूर्ण काम गरिरहेको बताए । उनले पछिल्लो समय आफ्नो ठाउँमा केही रोजगारी नपाउदा विदेश जानेहरु बढिरहेको सन्दर्भलाई जोड्दै सीप सिकेर आफ्नै ठाउँमा राम्रो आम्दानी गर्न सकिने नभए हातमा सीप भएपछि जहाँ गएपनी ढुक्कसँग काम गर्न सकिने बताए ।


इन्ष्टिच्यूटबाट तालिम लिएर पुरुषभन्दा महिलाहरु बढी आत्मनिर्भर भईरहेको यो निकै सकारात्मक पक्ष भएको उनको भनाई छ । “टीकापुर पोलिटेक्निक इन्ष्टिच्यूटले स्थानीय स्तरमा सीप विकासको काम त गरेको नै छ तर त्योभन्दा राम्रो कुरा भनेको यहाँबाट सीप सिकेर अन्य जुनसुकै ठाउँमा गएर पनि सीप नभएजस्तो दुख पाउनु पर्दैन,’’ उनले भने, “अझ सकारात्मक पक्ष त के हो भने यसले प्रायः महिलाहरु सीप सिकेर आत्मनिर्भर भईरहेका छन् । यसले महिलाले पनि आर्थिकोपार्जन गरेर परिवार चलाउन सक्ने र महिलाहरु पनि पुरुषभन्दा कम नभएको कुरा झल्काउछ ।’’
उक्त इन्ष्टिच्यूटबाटै दुई महिने ब्युटिसियनको तालिम लिएर अहिले टीकापुर बजारमै ब्युटी पार्लर खोलेर व्यवसाय गरिरहेकी सरिता चौधरीको भनाई पनि यस्तै छ । ब्युटिसियन सम्बन्धी तालिम काठमाडौंकै निजी तालिम केन्द्रमा लिएर काठमाडौंमै व्यवसाय गरेको अनुभव भएता पनि सिटिइभिटी अन्तरगतको शिक्षालय बाट तालिम लिँदा आफ्नो ठाउँमै राम्रो तरिकाले काम गर्न आत्मबल बढेको उनको भनाई छ । यस इन्ष्टिच्यूटबाट पुनः त्यही तालिम लिँदा धेरै कुराहरु सिकेको र हातमा सीप र आत्मबल बढेपछी टीकापुरमा राम्रो तरिकाले व्यवसाय गरिरहेको चौधरीले बताइन । “मैले यस इन्ष्टिच्यूट बाट दुई महिने ब्युटिसियन तालिम लिएर अहिले व्यवसाय पनि गरि रहेकी छु,’’ सरिताले भनिन्, “यहि तालिम दस वर्ष अगाडी काठमाडौंको निजी तालिम केन्द्रमा लिएपनि टीकापुरमा आएर फेरि तालिम लिँदा धेरै कुराहरु सिकेर यतै व्यवसाय गरिरहेकी छु ।’’


आफ्नो ब्युटी पार्लर देखाउदै टीकापुर पोलिटेक्निक इन्ष्टिच्यूटले न्यून अवस्था भएका तर सीप सिकेर आत्मनिर्भर हुन चाहनेहरुका सपना मात्र साकार नगरी उनीहरुले सोच्दै नसोचेको परिणाम पनि दिएको उनले बताइन् ।


यसरी आफ्नै ठाउँमा प्राविधिक शिक्षाको लागि सिटिईभिटीकै आंगिक इन्ष्टिच्यूट आएपछी धेरै मानिसहरुले सीप सिकेर काम गर्नकै लागि बाहिर जानुपर्ने समस्या अन्त्य भएको जानकी गाउँपालिका वडा नम्बर ३ भगतपुरका नवीन महतोको भनाई छ । उनले ५ वर्ष अगाडी यहि इन्ष्टिच्यूटबाट ३ महिने इलेक्ट्रीक तालिम लिएपछि आफ्नो छुट्टै व्यवसाय गरिरहेका छन् । कमर्श अध्ययन गरिरहेका उनले यसरी तालिम पाएर यसरी आफ्नो ठाउँमै केही गर्ने सपनामा पनि नसोचेको बताउदै अहिले बार्षिक तीन लाखसम्मको आम्दानीसमेत हुने गरेको बताए । “पाँच वर्ष अगाडी कमर्श पढिरहेको थिएँ तर टीकापुर पोलिटेक्निक इन्ष्टिच्यूटले प्राविधिक तालिम दिइरहेको जानकारी पाएपछि तीन महिने इलेक्ट्रीक तालिम लिएँ,” महतोले भने, “त्यसपछि त जीवन नै बदलिएजस्तो भयो र त्यसपछि गाउँमै पसल खोलेर इलेक्टिकल कामहरु गर्न सुरु गरेँ ।”


महतोले टीकापुरमै प्राविधिक शिक्षालय स्थापना हुनुभन्दा अगाडी केही तालिम लिनपनि बाहिर जानुपर्ने र समय, पैसा धेरै लाग्ने भएकाले धेरै गार्हो रहेको कुरा सम्झदै अहिले त्यो समस्या नरहेको बताए । यस इन्ष्टिच्यूटले यस क्षेत्रका बेरोजगार, न्यून स्तर भएकाहरुलाई छोटो समयका तालिमहरु दिएर स्वरोजगार मात्र नभई चाहेपछी आफ्नै ठाउँमा पनि कामहरु गर्न सकिने रहेछ भन्ने विश्वाससमेत दिलाएकोमा खुशी व्यक्त गरे । “पहिले केही सीप सिक्न पनि धेरै टाढा टाढा जानुपर्थ्यो र पैसा पनि धेरै खर्च हुन्थ्यो तर जब टीकापुरमै प्राविधिक शिक्षालय खुल्यो तब हामीजस्ता युवाहरुले आफ्नै ठाउँमा सीप सिक्ने मौका मात्र नपाएर आत्मनिर्भर बन्नेसम्मको अवसर पाएका छौं,” उनी थप्छन्, “यस इन्ष्टिच्यूटले सीप सिकाएर स्वरोजगार बनाउन मात्र नभई हाम्रो समाजमा आफ्नै ठाउँमा पनि केही गर्न सकिने रहेछ भन्ने विश्वाससमेत पैदा गरेकोमा खुशी छु ।”


टीकापुर पोलिटेक्निक इन्ष्टिच्यूट का प्रमुख टेकेन्द्र थापाले यस क्षेत्रका लागि प्राविधिक शिक्षालय आवश्यकता मात्र नभएर एक मध्यम स्तरिय जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण धरोहर नै रहेको बताए । छोटो समयका तालिम, ३ वर्षे कोर्षले यहाँका अधिकांशलाई आत्मनिर्भर बनाउन मद्दत गरि रहेको बताउदै छोटो समयको तालिम लिएर सीप सिकेर मात्र भएपनि जिन्दगीमा धेरै प्रगति गर्न सकिने दाबीसमेत गरे । इलेक्ट्रीक, प्लम्बिङ, ब्युटिसियन, टेलरिङ, बेमौसमी तरकारी खेती, च्याउ खेती लगायतका तालिम अहिले सम्म दुई हजारभन्दा बढीले लगिसकेको र तालिम लिएर सीप सिकेका अधिकांशहरुले कामसमेत गरिरहेकाले काम गर्नकै लागि बाध्य देश जाने क्रम पनि रोक्नमा महत्वपूर्ण भुमिका खेलेको थापाको भनाई छ । “टीकापुर पोलिटेक्निक इन्ष्टिच्यूट यहाँको आवश्यकता मात्र नभई एक महत्वपूर्ण धरोहरका रुपमा लिनुपर्छ, जसले स्थानीय स्तरमा सीप विकास मात्र नभई मध्यम स्तरका प्राविधिक जनशक्ति उत्पादन गरेर आत्मनिर्भर पनि बनाईरहेको छ,” उनले भने, “हाम्रो यता जागिरको सिलसिलामा लाखौं मान्छे विदेशिनु परेको छ तर यो समस्यालाई हामीले कम गर्न सक्छौं । सीप विकास गर्ने तालिम मात्र नभई लामो समयका कोर्ष गराएर जनशक्ति उत्पादन गर्दै बजारमा आफ्नै तरिकाले काम गर्नेसमेत बनाउन सकिन्छ जसले विदेशिने समस्या मात्र घट्दैन, आफ्नै ठाउँमा राम्रो आम्दानी हुन्छ र यसले अरुलाई पनि आफ्नै ठाउँमा त्यस्तै काम गर्ने हौसला मिल्छ ।”


आवेदनका आधारमा वर्षमा पाँचरछ वटा तालिम सञ्चालन गरिने भएता पनि यो वर्ष कोभिडका कारण फागुनदेखि सुरु भएको कक्षा १५ दिनमै बन्द गरेर अहिलेसम्म सुरु गर्न नसकिएको थापाले बताए । अब केही दिनमै पुरानासहित नयाँ कक्षासमेत सुरु गरिनेसमेत बताए । तालिम त थुप्रै संघसंस्था, आजभोलि स्थानीय तहहरुले दिने गरेता पनि प्राविधिक शिक्षालयबाट लिएको तालिमले सीप मात्र नसिकाई काम गर्नैपर्ने गरेर आत्मबल पनि बढाउने गरेको उनको भनाई छ । “आवेदनका आधारमा वर्षमा पाँचरछ कार्यक्रमहरु सञ्चालन गर्छौं तर यो वर्ष कोभिड १९ को संक्रमणले चैत्रदेखि नै बन्द गरिएको छ,” थापाले थपे, “विशेषत सीप विकासका तालिम थुप्रै संघसंस्था, स्थानीय तहका वडा वडाले दिने गरेता पनि तिनीहरुले आत्मनिर्भर बनाउन सक्दैनन् । हामी दुई, महिनासम्म तालिम दिन्छौं, तालिमपछि राष्ट्रिय सीप परिक्षण बोर्डमार्फत स्किल टेस्टसमेत गराउने भएकाले यहाँबाट सीप सिक्ने अधिकांश काम गरिरहेकै छन् ।”


इन्ष्टिच्युट प्रमुख थापा तालिम सञ्चालनका सम्बन्धमा जति पहल गर्दा पनि टीकापुर नगरपालिकासँग राम्रो समन्वय हुन नसकेकोसमेत गुनासो गर्छन् । “नगरपालिका र वडाहरुले एक हप्ते, दुई हप्ते तालिमहरु दिन्छन् तर ती प्रभावकारी हुदैनन्,” उनले भने, “यो सम्बन्धमा नगर प्रमुख, उप प्रमुख, सबै वडाध्यक्षहरुसँग छलफल गरेर एक, दुई हप्ते तालिमभन्दा यतैबाट तालिम सञ्चालन गर्न र अलिकति बजेट प्रशिक्षिकहरुका लागि छुट्टाइदिने प्रस्ताव राखेका थियौं तर खै केही हुन सकेन ।”

ताजा खबर

भजनी नगरपालिकामा आधारभूत तहको नतिजा निराशाजनक

पुलबाट खोलामा खसेर बस दुर्घटना

कञ्चनपुरमा अढाई लाखभन्दा बढीको अवैध सामान बरामद

कैलालीमा चार जना फरार प्रतिवादी पक्राउ

amazed