स्थानीय तहबाट महामारीमा करोडौं खर्च

शेयेर गर्नुहोस

जनताको सोध्छन्– खै कसका लागि खर्च भयो ?
कैलाली । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका नाममा स्थानीय तहहरुले ठूलो रकम खर्च गरेका छन् । कोरोनाबाट प्रत्यक्ष रुपमा प्रभावित सर्वसाधारणहरू भने सामान्य मास्क, सेनिटाइजर र पहिलो लहरमा थोरै खाद्यान्न राहतस्वरुप पाए पनि अरु कुनै सहयोग स्थानीय तहबाट नपाएको गुनासो गरिरहेका छन् ।

कैलालीको गोदावरी नगरपालिकाले कोरोना महामारीको पहिलो लहरमा तीन करोड २८ लाख ४७ हजार रुपैयाँ खर्च गरेको छ । तर, नगरवासी भने आफूहरुले खासै राहत नपाएको गुनासो गर्छन् । कुन मापदण्ड र के आधारमा राहत वितरण गरियो भन्ने आफूहरुलाई कुनै जानकारी नभएको उनीहरु बताउँछन् ।

गोदावरी नगरपालिका–१ का ठाकुर चौधरीले कोरोनाको पहिलो लहरका बेला मास्क, सेनिटाइजरजस्ता स्वास्थ्य सामग्री पाए पनि अरु राहत र सहयोग कार्यक्रम के थियो भन्नेबारे आफूहरुलाई कुनै जानकारी नभएको बताए । वडा नम्बर १ कै टोपबहादुर चौधरीले पनि आफूहरुले नगरपालिकाबाट आयआर्जनका कुनै कार्यक्रम नपाएको बताए । उनले भने, ‘वडाका जनप्रतिनिधिहरु अवलोकनमा आउनुहुन्थ्यो, तर सर्वसाधारणका लागि कुनै खास कार्यक्रम दिनुभएन ।’

कोरोना महामारीको पहिलो लहरमा गोदावरी नगरपालिकाले कोरोना कोषबाट उक्त रकम खर्च गरेको हो । नगरपालिकाको कोरोना कोषमा २०७७ साल असार मसान्तसम्म तीन करोड ६५ लाख ७५ हजार रुपैयाँ जम्मा भएको थियो ।

गोदावरी नगरपालिकाका सूचना अधिकारी शिवराज भाटले कोरोना महामारीका बेला इन्धन, राहत, भाँडा वर्तन, रेनकोट, मास्क खरिद, ढुवानी, गाडी भाडा, सूचना तथा सञ्चार, क्वारेन्टाइन व्यवस्थापन र दोस्रो लहरमा राहतका लागि सो रकम खर्च भएको जानकारी दिए ।

उनले भने, ‘मेडिकल सामग्री, आरडीटी भीटीएम तथा औषधि खरिदमा मात्र एक करोड ६ लाख ४२ हजार ३९८ रुपैयाँ खर्च भएको छ ।’ उनका अनुसार विद्युतीय सामग्री खरिदमा २४ लाख ४४ हजार ४७४, पहिलो लहरको राहत तथा क्वारेन्टाइन व्यवस्थापन र खाद्यान्नमा ६६ लाख ९९ हजार ६७३ रुपैया खर्च भएको छ ।

त्यसैगरी क्वारेन्टाइन व्यवस्थापन तथा दोस्रो लहरको राहतमा ६२ लाख ७५ हजार ५३३ रुपैयाँ खर्च भएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारबाट गोदावरी नगरपालिकाले ६६ लाख ४० हजार र नगरपालिका कर्मचारी संघ, संघीय सरकार तथा सामुदायिक विद्यालयका शिक्षकबाट ४६ लाख ७१ हजार रुपैयाँ प्राप्त भएको उनले बताए ।

गोदावरी नगरपालिकाले कोरोना रोकथाम नियन्त्रण र व्यवस्थापनका लागि २०७७ माघ मसान्तसम्म ३४ लाख ५६ हजार २७१ रुपैयाँ खर्च गरेको छ । प्रदेश संचित कोषबाट क्वारेन्टाइन, होल्डिङ सेन्टर निर्माण व्यवस्थापनमा १० लाख १८ हजार ७११ रुपैयाँ खर्च गरेको छ भने संघीय कोभिड कोषबाट जनशक्ति परिचालनमा तीन लाख २४ हजार रुपैया खर्च भएको नगरपालिकाको अभिलेखमा उल्लेख छ ।

सूचना अधिकारी भाटका अनुसार प्रदेश कोभिड कोषबाट औषधि एवं स्वास्थ्य उपकरण सामग्री खरिदमा १६ लाख ६२ हजार ३२० रुपैयाँ र अन्य शीर्षकबाट चार लाख ५१ हजार २३० रुपैयाँ खर्च भएको छ । गोदावरी नगरपालिकाले सबै १२ वडामा तीन हजार चार सय २८ घरधुरीका १६ हजार २३ जना परिवारलाई ४७ हजार ४८८ केजी चामल वितरण गरेको उनले बताए । सो अवधिमा १० हजार ८०३ किलो दाल, तीन हजार नौ सय ५९ पाकेट नुन, तीन हजार छ सय ३६ लिटर खानेतेल र तीन हजार ६९५ पिस साबुन वितरण गरेको उनले बताए ।

कोरोना महामारीको पहिलो लहरमा विद्यालय र सामुदायिक संस्थाहरूका १४३ वटा भवनमा क्वारेन्टाईनको व्यवस्था गरिनुका साथै गेटा मेडिकल कलेजको आईसोलेसन कक्ष र नेपाल रेडक्रस शाखाको भवनमा १२० बेडमा अक्सिजनको व्यवस्था गरिएको थियो ।

त्यस्तै, मालाखेती अस्पतालमा कोरोना संक्रमितका लागि २० बेड र तीन जना चिकित्सकको व्यवस्था गरिनुका साथै दुई वटा एम्बुलेन्सको व्यवस्था गरिएको थियो । कोरोनाको दोस्रो लहरमा कोरोना संक्रमितलाई औषधि सहितको हाइजिन किट वितरण गरिएको र संक्रमणबाट मृत्यु भएका परिवारलाई १० हजार रुपैयाँका दरले रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

नगरपालिकाले अहिले पनि नियमित रुपमा पीसीआर र एन्टिजेन परीक्षणको व्यवस्था गरेको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले चालू आर्थिक वर्षका लागि एक करोड रुपैयाँको कोरोना कोष स्थापना गरिएको जानकारी दिए । गोदावरी नगरपालिकाले मालाखेती अस्पतालमा आईसोलेसन सेन्टरसहित उपचारको व्यवस्था मिलाएको छ भने गेटा मेडिकल कलेजको कोरोना स्याहार केन्द्रको आईसोलेसनमा सहयोग गरेको छ ।

स्वास्थ्य शाखा प्रमुख अवस्थीले दैनिक एन्टिजेन र पीसीआर परीक्षणका लागि नमुना संकलन गर्ने काम भइरहेको र शंकास्पद व्यक्तिलाई होम आईसोलेसनमा राखेर उपचार गर्ने व्यवस्था गरिएको बताए ।

उनले भने, ‘कोरोना संक्रमित भएर निको भएका बिरामीका लागि नगरपालिकाले बीमा भुक्तानीमा सिफारिस गर्नुका साथै स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ताको समेत व्यवस्था गरिएको छ ।’

कोरोनाको दोस्रो लहरमा गोदावरी नगरपालिकाका प्रत्येक वडाका ५० घर बराबर एउटा कोभिड खोप प्रचार टिम पनि गठन गरिएको उनले बताए ।

गोदावरी नगरपालिका–१ का वडाध्यक्ष शर्मानन्द भट्टका अनुसार कोरोना महामारीको पहिलो लहरमा भारतबाट आउने नेपाली नागरिकलाई क्वारेन्टाईनमा राख्ने र उनीहरुको निगरानी र चेकजाँचका लागि नगरपालिकाले टास्क फोर्स गठन गरेर काम गरेको भए पनि दोस्रो लहरमा भने भारतबाट आउने नेपालीहरुको कुनै अभिलेख राखिएको छैन । (साभारः रातोपाटी)

ताजा खबर

कर्णालीबाट हाम फालेर बेपत्ता भएका शाहीको तीनपछि शव भेटियो

नागरिक उन्मुक्ति पार्टीभित्र फेरी किचलो

कञ्चनपुरमा ५६ वर्षीय पुरुष एसइईको परिक्षा दिँदै

टीकापुर नगरपालिकाले मनायो विश्व क्षयरोग दिवस

धनगढीका मेयर हमालकी छोरी सम्पर्कमा

amazed

छुटाउनु भयो कि !

हाम्रो फेसबुक