शेयेर गर्नुहोस
दशजना चुनावी मैदानमा
यज्ञराज उपाध्याय
टीकापुर । यतिबेला देश स्थानीय तहको निर्वाचनले तातेको छ । गणतान्त्रिक मुलुकको दोश्रो स्थानीय तहको चुनावले दलहरु र केही स्वतन्त्र उम्मेदवारहरु निरन्तर प्रचारप्रसार एवं घरदैलो अभियानमा सक्रिय छन् । केही दलले त आफ्नो विजय सुनिश्चित भएको दाबीसमेत गर्न भ्याइसकेको अवस्था छ तर त्यो दाबी जस्तै जित आफ्नो हातमा पार्न त्यति सजिलो भने देखिदैन ।
२०७४ मा सम्पन्न स्थानीय तहको पहिलो निर्वाचनमा नेकपा एमाले पहिलो दल बनेको थियो भने नेपाली काङ्ग्रेस दोश्रो र नेकपा (माओवादी केन्द्र) तेश्रो भएको थियो । त्यो निर्वाचनमा नेपाली काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र)को केही मुख्य पालिकासहित अन्य ठाउँमा तालमेलसमेत थियो । त्यस्तै एमालेले पनि केही ससाना दलसँग सहकार्य गरेकै थियो ।
त्यसपछि भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले बाम गठबन्धन नै गर्यो । त्यसको केही महिनामा पार्टी एकता भयो र एकतापछी नेकपाको सरकार बन्यो । दुःखद कुरा के भने न एकता लामो समय रह्यो न नेकपाको सरकार नै बच्यो । अन्ततः एमाले र माओवादी पुर्ववत अवस्थामै फर्किए भने एमालेसमेत फुटको बाटोमा गयो । अहिले एमालेबाटै छुट्टिएका माधव नेपालको नेकपा (एकीकृत समाजवादी) सहित नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, जनमोर्चा नेपाल गरि पाँच दलको संयुक्त गठबन्धन छ ।
देशका विभिन्न पालिकाहरुमा जस्तै कैलालीको पुर्ववर्ती टीकापुर नगरपालिकामासमेत तीन दलीय गठबन्धनका तर्फबाट उम्मेदवार चुनावी मैदानमा छन् । आसन्न स्थानीय तहको निर्वाचनमा दलीय मतदाताहरुको जोडफलका आधारमा गठबन्धन अगाडी देखिए पनि प्रतिस्पर्धा कडा देखिएको छ ।
टीकापुरको हकमा गठबन्धनका नवराज रावल, नेकपा (एमाले) श्याम खत्री, नागरिक उन्मुक्ति पार्टीबाट रामलाल डगौंरा थारु, राप्रपाबाट गोविन्द रिमाल, मौलिक जरोकिलो पार्टीबाट राजु कुमार बिष्ट, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट गोपाल कर्मी, जनता समाजवादी पार्टीबाट धर्म घर्ती मगर, नेपाल लोकतान्त्रिक पार्टीबाट प्रेम चौधरी, स्वतन्त्रबाट ललित थापा (शिव), लोक बहादुर बुढाक्षेत्री नगर प्रमुखका लागि चुनावी अभियानमा सक्रिय छन् । प्रायः सबै उम्मेदवारका एजेन्डा उस्तै उस्तै छन् तरपनि अहिले एजेन्डा भन्दा पनि उम्मेदवारहरुका व्यवहार, सक्रियता, कार्यशैली, सामाजिक कार्यमा गरेका योगदान लगायतका आधारमा जनताले मत दिने टीकापुरका नागरिक अगुवाहरुको भनाई छ । आफुले वर्षौंदेखि नियाली रहेको परिवेशका आधारमा पनि उनीहरु यो पटक टीकापुरको चुनावी माहोललाई अलि फरक ढंगले विश्लेषण गर्छन् ।
टीकापुरका नागरिक अगुवा यज्ञमुर्ती अर्याल पनि यो पटकको स्थानीय तहको निर्वाचन अनुमान गर्न सकिने किसिमको नरहेको बताउँछन् । उनी आफ्नो पुरानो अनुभवका आधारमा पनि अहिले को अवस्था भन्दा पनि मतदानको अघिल्लो रातसम्म माहोल परिवर्तन हुनसक्ने दाबी गर्छन् । “टीकापुरको हकमा अहिलेको प्रतिस्पर्धा गठबन्धन, एमाले र नागरिक उन्मुक्ती पार्टीबीच हो तर अहिलेको अवस्थाले मात्र कसले जित्न सक्छ भन्ने यकिन हुँदैन । सबैको पकड राम्रै देखिन्छ । पुर्व शिक्षकसमेत रहेका अर्याल भन्छन्,” अघिल्लो रातसम्ममा माहोल बदलिन सक्छ । गठबन्धन को अवस्था ठिकै छ तर त्यसलाई नागरिक उन्मुक्ति पार्टी र एमालेले टक्कर दिइरहेका छन् । यता एक्लै मैदानमा रहेको एमालेले पनि आफ्नो पकड मजबुत बनाएकै छ । अगाडी एमालेले जितेको भएकाले पनि उसलाई दाबी गरेजस्तै सजिलो छैन । त्यही माथी स्वतन्त्रबाट उठेका ललित थापाले पनि पार्टीका केहि मतहरु आफ्नो तिर पार्न सक्छन् जसले गठबन्धन र एमालेलाई केही फरक पार्न सक्छ ।”
गत स्थानीय तहको निर्वाचन जस्तै अहिले पनि दलीय मतले मात्रै जित्न गार्हो भएको अर्याल बताउँछन् । उम्मेदवारको पकड अनुसार दलीय मतसँग अन्य मतहरु तान्नसक्नेले जित्ने उनको दाबी छ । “अगाडिको स्थानीय तहको निर्वाचनमा तपेन्द्र रावलले दलीय मत पाएर मात्रै जितेका होइनन् नि । अहिले पनि त्यस्तै हो । दलीय मत सबै आउँछ भन्ने पनि हुँदैन । दलीय मत सबै पाए गठबन्धनको सम्भावना भए पनि त्यसो नहुनसक्छ । नागरिक उन्मुक्ति पार्टीले यसमा कडा टक्कर दिनसक्छ । त्यसैले दलीय मत सबै आउँछ भन्ने हुँदैन । गठबन्धनका लागि क्रस भोटिङको मतको पनि समस्या हुनसक्छ ।” उनी भन्छन्, “कहिलेकाहीँ सोचेभन्दा फरक पनि भइदिन्छ, यसमा नेगेटिभ मतले काम गर्छ । गठबन्धन वा एमालेले उठाएका वडाध्यक्षका उम्मेदवारका कारण पनि केही मत नागरिक उन्मुक्ति पार्टीले पाउनसक्छ । यद्यपि चुनाव हो बाजि कसले मार्छ भन्नै सकिन्न ।”
त्यस्तै भ्रष्टाचार विरुद्धको अभियानका अभियन्तासमेत रहेका भीमराम चपाईं भने टीकापुरको हकमा दुई पक्षबीच मात्र प्रतिस्पर्धा हुने बताउँछन् । उनका अनुसार नागरिक उन्मुक्ति पार्टी र गठबन्धनबीच कडा प्रतिस्पर्धा हुनेछ । एमालेले अगाडी जितेको भएर अहिले केही गार्हो हुनसक्ने उनको धारणा छ । खासमा नागरिक उन्मुक्ति पार्टी भर्खरै स्थापना भए पनि रेशम चौधरीको विषयलाई प्राथमिकता दिएर थारुहरुका मुद्दाका आधारमा आफ्नो पकड बलियो बनाएको चपाईं बताउछन् ।
“अहिले दुई पक्षबीच प्रतिस्पर्धा हुने मैले देखेको छु । नागरिक उन्मुक्ति पार्टी पनि रेशमकै विषयलाई लिएर मैदानमा आएको छ । थारुहरुका मुद्दा उसको प्राथमिकता भएकाले पनि उसले आफ्नो पकड बलियो बनाएको छ भने तीन दल मिलेर बनेको गठबन्धन पनि बलियो नै देखिन्छ । बाँकी उम्मेदवारहरु, उनीहरुको काम, कार्यशैली लगायतले प्रभाव पार्ने कुरा हो ।”
उनी भन्छन्,“नागरिक उन्मुक्ति पार्टीले पनि रेशम चौधरीको स्थान लिन सक्दैन किनकी रेशम भनेको एक प्रतिभाशाली, सक्रिय, समाज ले रुचाएको मान्छे हुन् उनको स्थान कसैले लिनसक्छ जस्तो लाग्दैन ।”