बर्दिया क्षेत्र नम्बर १ ः सञ्जय भर्सेज लक्ष्मण, भुसालको घन्टी र थारूको ढकिया पनि चर्चामा

शेयेर गर्नुहोस

सनत सापकोटा

बर्दिया । चिसो बढ्दै गएको छ तर प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी सरगर्मीले मौसमलाई तताएकोे छ । मंसिर ४ गते हुन गइरहेको चुनावमा कुन पार्टीले बाजी मार्ला ? मुलुकका चोक, चौतारी र चिया पसलहरूमा अहिले विभिन्न अड्कलबाजी भइरहेका छन् ।

बर्दियामा पनि चुनावी माहोल तातेको छ । मुलुकको पश्चिम क्षेत्रमा सबैभन्दा बढी चर्चामा रहने गरेको निर्वाचन क्षेत्र हो, बर्दिया क्षेत्र नम्बर १ । नेकपा एमालेका तात्कालीन उपाध्यक्ष वामदेव गौतमको निर्वाचन क्षेत्र भएकाले पनि विगतमा यो निर्वाचन क्षेत्र चर्चाको विषय बन्थ्यो । निरन्तर यही क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गर्दै आएका गौतमको हार होस् वा जित दुवैमा यो क्षेत्रको चर्चा हुन्थ्यो । आफू पनि परियो यही क्षेत्रको । ?

अहिले वामदेव त चुनावी मैदानबाट बाहिरिइसकेका छन् । बर्दियाली आमजनताको मन जित्न नसकेपछि अघिल्लो सङ्घीय चुनावमा हारसँगै उनी बर्दियाबाटै पलायन हुनुपरेको हो । अहिले उनी करिब–करिब राजनीतिबाटै पलायन हुने अवस्थामा पुगेका छन् । वामदेव गौतम पलायन भएपछि यो क्षेत्रमा अब कसले बाजी मार्ला भन्ने कौतहुल भने आमनेपालीमा छँदैछ ।

विगतमा त्रिपक्षीय भीडन्त हुने गरेको यस क्षेत्रमा अहिले एमाले र गठबन्धनमा रहेको काँग्रेसबीच दुईपक्षीय भीडन्त हुने देखिन्छ । दुई निर्वाचन क्षेत्र रहेको बर्दिया क्षेत्र नम्बर १ बाट एक जना स्वतन्त्र उम्मेदवारसहित १० जनाले प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

वामलोकतान्त्रिक गठबन्धनका कारण संघमा नेकपा माओवादीसहितका दलहहरूको समर्थनमा काँग्रेस केन्द्रीय सदस्य सञ्जयकुमार गौतम चुनावी मैदानमा छन् भने एमालेका तर्फबाट केन्द्रीय सदस्य लक्ष्मणराज ज्ञवालीले प्रतिस्पर्धा गरिरहेका छन्् । सञ्जय यही क्षेत्रबाट आफ्ना थरबन्धु वामदेवलाई पराजित गर्दै अघिल्लो चुनावमा प्रतिनिधिसभा सदस्य बन्न सफल भएका थिए ।

अहिले यहाँको चुनावी प्रतिस्पर्धामा केही नयाँ अनुहार पनि थपिएका छन् । विशेष गरी युवा उम्मेदवारहरू यसपटक देखिएका हुन् । उनीहरू पनि चुनावमा हस्तक्षेपकारी भूमिकासहित देखा परेका छन् । स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी माहोल बन्न नसक्ने यहाँको अवस्थामा ती युवाहरू कुनै न कुनै पार्टीबाटै चुनावी प्रतिस्पर्धामा होमिएका हुन् ।

रवि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रवेश भुसाल क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् । आइटी इन्जिनियरसमेत रहेका भुसाल ‘इनर्जेटिक’ युवा हुन् । छोटै समयमा निकै लोकप्रियता कमाएको राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारका रूपमा भुसालको पनि लोकप्रियता बढिरहेको छ ।

त्यसै गरी, नागरिक उन्मुक्ति पार्टीका तर्पmबाट ठाकुरसिंंह थारू उम्मेदवार छन् । उनी लामो समयदेखि यस क्षेत्रमा पत्रकारिताका माध्यमले चिनिएका व्यक्ति हुन् । थारू र मधेसी समुदायमा यो पार्टीको राम्रो प्रभाव भएको मानिन्छ ।

त्यस्तै, राप्रपाको तर्फबाट सूर्यबहादुर सिंहले चुनावी प्रतिस्पर्धा गरिरहेका छन् । राजेन्द्र लिङ्देन राप्रपा अध्यक्ष निर्वाचित भएपछि देशव्यापी रूपमा यो पार्टीको सङ्गठनमा सकारात्मक प्रभाव परेको छ ।

हुन त नेपालको समग्र राजनीति नै अस्थिर र तरल अवस्थाको छ । कुनै पनि व्यवस्था, दल वा नेताको राजनीतिक भविष्य सुनिश्चित छैन । कुनै पनि नेताले आफ्नो निश्चित भूमि तयार गर्न सकेका छैनन् । कहिले कुन क्षेत्र त कहिले कुन क्षेत्रबाट नेताहरू चुनाव लड्नुको कारण पनि यही हो । अघिल्लो चुनावमा अत्यधिक मतसहित विजयी बनेका नेता लगत्तैपछिको चुनावमा त्यही क्षेत्रबाट नराम्रो हार व्यहोर्न बाध्य बनेका नजिर छन् ।

केन्द्रीय राजनीतिको प्रभाव यो क्षेत्रमा पनि नपर्ने कुरै भएन । यहाँ पनि कहिले एमाले, कहिले काँग्रेस त कहिले माओवादीले बाजी मार्दै आएका छन् । २०४८ सालपछिका चुनावहरूमा एमालेमय लाग्ने यो क्षेत्र, कुनैबेला माओवादीमय पनि भएको थियो । त्यस्तै, दुईपटक काँग्रेसले पनि यो क्षेत्रमा बाजी मार्न सफल भएको हो ।

अघिल्लो चुनावमा वामदेवलाई हराएर चर्चामा आएका सञ्जय गौतमको पक्षमा जुन माहोल देखिएको थियो, अहिले त्यो पाइँदैन । वामदेवप्रतिको बर्दिया क्षेत्र नम्बर १ का जनताको विकर्षण र एमालेभित्रको आन्तरिक कलहको लाभ सञ्जयले मजैले उठाएका थिए । तर ठीक त्यही अवस्थाको लाभ अहिले अरूले उठाउने सम्भावना छ ।

काँग्रेस पार्टीभित्र देखिएको आन्तरिक मतभेदको असर चुनावमा पनि पर्न सक्ने अड्कलबाजी भइरहेका छन् । सञ्जय पार्टीमा कोइराला प्यानलको पक्षपोषण गर्ने भएकाले संस्थापन पक्षको सहयोग उनलाई प्राप्त हुन्छ नै भन्ने निश्चित छैन । जबकि बर्दियामा संस्थापन पक्षको बाहुल्यता छ ।

त्यस्तै, वामदेवजस्तो चर्चित नेतालाई हराएर चर्चा कमाएका सञ्जयले पनि यो पाँच वर्षमा आफ्नो क्षेत्रका जनतामा खासै सकारात्मक प्रभाव पार्न सकेनन् । उनी पनि वामदेवजस्तै राजनीतिको भूमरीमा केन्द्रतिरै हराए ।

गठबन्धनको साझा उम्मेदवार बनेका सञ्जय अन्य दलहरूले आफूलाई जिताइ दिनेमा ढुक्क देखिन्छन् । तर अघिल्लो चुनावमा माओवादी मतदाताले वामदेवलाई ‘धोका’ दिएजस्तै यो चुनावमा सञ्जयले धोका पाउँदैनन् भन्ने कुनै ग्यारेन्टी छैन ।

अर्कातिर, राष्ट्रिय स्वतन्त्र पार्टीका भुसाल र नागरिक उन्मुक्ति पार्टीका थारूप्रति यहाँका युवा तथा थारू समुदायको आकर्षण बढेको पाइन्छ । चुनावी प्रचार–प्रसारलाई हेर्दा भुसालको घन्टी र थारूको ढकिया चुनाव चिह्नले निकै चर्चा बटुलेको छ । उनीहरू आफ्नो जित सुनिश्चित गर्न नसके पनि चुनावी परिणामलाई फेरबदल गर्न सक्ने अवस्थामा रहेको आकलन गर्न सकिन्छ ।

त्यसैगरी, एमालेका तर्फबाट प्रतिनिधिसभामा यहाँबाट उम्मेदवार बनेका ज्ञवाली पार्टीको बलमा नै उम्मेदवार बनेका हुन् र पार्टीकै बलमा चुनाव जित्ने तयारीमा छन् । पार्टी राजनीतिमा पुराना भए पनि उनी चुनावी प्रतिस्पर्धामा भने नयाँ हुन् । उनी आमजनता र मतदातासँग त्यति घुलमिल नभएका व्यक्ति हुन् । फेरि उनी वामदेव गौतमका बहिनीज्वाइँ हुन् । वामदेवलाई बर्दियामा मन नपराउने अधिकांश जनताले उनकै नातासम्बन्धि ज्ञवालीलाई कुन रूपमा लेलान् १ त्यो हेर्न बाँकी नै छ ।

सञ्जय व्यक्तिगत रूपमा पनि यहाँका अधिकांश मतदातासँग परिचित छन् । तर लक्ष्मणलाई भने पार्टी कार्यकर्ताबाहेक प्रायः यहाँका आममतदाताले चिन्दैनन् । त्यसैले, चुनावी रणनीतिका हिसाबले लक्ष्मणका लागि सञ्जय भारी पर्नेछन् ।

अहिले ठूलो युवापंक्ति दलीय राजनीतिप्रति वितृष्णा राख्छ । यो समग्र मुलुककै अवस्था हो । राजनीतिप्रति नयाँ पुस्तालाई खासै रुचि र आकर्षण छैन । गएको स्थानीय चुनावमा सचेत र जागरुक नागरिक बस्ने सहरहरूमै स्वतन्त्र उम्मेदवारहरूले लोकप्रिय मतसहित चुनाव जित्नुले पनि दलहरूप्रतिको आमजनता र मतादाताको विकर्षणलाई देखाउँछ ।

बर्दियाली जनतामा पनि दलहरूप्रतिको विकर्षण बढ्दो क्रममै छ । पाकापुराना र ‘टेस्टेड’ नेता र दलहरूप्रति आकर्षण घट्दै जानु र नयाँ दल र व्यक्तिप्रतिको आकर्षण बढ्नुले आमजनताको चाहनालाई प्रतिबिम्बित गर्छ ।

बर्दियाली जनताको विकास र समृद्धिको चाहनालाई यहाँका कुनै पनि दल र तिनका नेताले सम्बोधन गर्न नसक्नुकै परिणाम हो, अहिलेसम्मको चुनावी परिणामको अस्थिरता । नेताहरूले जनतालाई आफ्नो मातहतको ठान्नु र उनीहरूका आवश्यकता र चाहनाको बेवास्ता गर्नुकै परिणाम हो यो ।

अझ आफ्ना कार्यकर्तालाई त नेताले कारबाहीको डन्डा देखाएर हकारपकारै गर्ने तहसम्मको व्यवहार प्रदर्शन गर्छन् । नेताहरूको यो चरित्र र व्यवहारमा बदलाव ल्याउनु जरुरी छ । आमजनता, पार्टी कार्यकर्ता र मतदाता कसैका बँधुवा होइनन् । नेताहरूले बुझ्नुपर्छ ‘एक माघले जाडो जाँदैन’ । एकपटक जनता, कार्यकर्ता र मतदातालाई झुक्याउँदैमा सधैँ झुक्याउन सकिन्छ भन्ने भ्रम अब नपाले हुन्छ ।

नेतालाई जनताले जवाफ दिने सबभन्दा ठूलो अवसर निर्वाचन नै हो । त्यसैले आम मतदाताले यो अवसरको उपयोग गर्दै आफ्नो विवेक सही ठाउँमा प्रयोग गर्नु नै बुद्धिमानी हुनेछ ।
(यो समाचार रातोपाटीबाट लिइएको हो ।)

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed