शेयेर गर्नुहोस
यज्ञराज उपाध्याय, टीकापुर । सुदूरपश्चिम प्रदेश औलो मलेरियाको उच्च जोखिममा रहेको छ । सुदूरपश्चिममा औलोमा बिरामी अन्यत्रभन्दा बढी रहेको महामारी विज्ञान र रोग नियन्त्रण महाशाखाको तथ्यांकमा उल्लेख छ ।
सन् १९२५ मा मकवानपुरदेखि सुरु हुँदै चितवन, दाङ उपत्यका हुँदै फैलिएको औलो अहिले पहाडी जिल्लामा पनि देखिन थालेको छ । सुदूरपश्चिममा चालू आर्थिक वर्ष २०७९/०८० को १० महिनामा ९४ जना औलोका बिरामी भेटिएका छन् । तथापि यो बिरामी संख्या अगाडीका आवको तुलनामा घट्दो हो । प्रदेशभरी आव २०७५/०७६ मा ४५९, ०७६/०७७ मा ३२०, ०७७/०७८ मा २१६, ०७८/०७९ मा १७९ जना बिरामी भेटिएका थिए ।
यो आवमा भेटिएका ९४ जनामध्ये सबैभन्दा धेरै कैलालीमा ४३ जना छन् भने दार्चुलामा १ जना भेटिएको तथ्यांकमा उल्लेख छ । कञ्चनपुरमा २१ जना संक्रमित हुँदा अन्य पहाडी जिल्ला पनि यसबाट अछुतो छैनन् । इन्टोमोलोजिष्टहरु र औलो स्वास्थ्यकर्मीहरुको अभावका कारण यो न्यूनीकरणमा चुनौती भएता पनि अगाडीका वर्षभन्दा कम हुँदै गएको टीकापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख बल बहादुर रावलले बताउनुभयो ।
प्रमुख रावलका अनुसार अहिले टीकापुरमा १२ जना औलोका बिरामी छन् । जसमध्ये यहीँका स्थानीय भन्दा पनि बाहिरबाट आएका बिरामी धेरै छन् । आव २०७४/०७५ मा टीकापुर नगरपालिकामा मात्र ६४ जनामा औलो संक्रमण पुष्टि भएको थियो ।
नगरपालिकाले औलो उन्मुलनका लागि सक्रियताका साथ काम गरिरहेको र आयातीत भन्दा पनि स्थानीय औलो बिरामी शुन्यमा झार्न निशुल्क उपचारदेखि चेकजाँच, परामर्शको काम भइरहेको प्रमुख रावलले जानकारी दिनुभयो ।
मंगलबार विश्व औलो दिवसको अवसर पारेर पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा रावलले कुनै समयमा महामारीको रुपमा फैलिएको औलो नियन्त्रणका लागि नगरपालिकाले विभिन्न योजना बनाएको बताउनुभयो । सरकारले पनि यो नियन्त्रणका लागि पहल गरिरहेको बताउदै एमडिआइएसमा सम्पर्क गरेर परामर्श लिन सकिने जानकारी दिनुभयो ।
सुदूरपश्चिमका नौ वटा वडा औलोबाट प्रभावित रहेकोमा टीकापुर नगरपालिकामा भने जोखिम नरहेको उहाँले जानकारी दिनुभयो । “हाम्रो नगरपालिकामा औलोको जोखिम न्यून छ, अहिले १२ जना मात्र बिरामी छन् जसमध्ये बढी आयातीत छन्,” उहाँले भन्नुभयो, “औलो उन्मुलनका लागि ग्रामीण स्तरमै स्वास्थ्यकर्मी, स्वयंसेविका खटाएर काम भइरहेको छ, स्थानीय औलो बिरामी शुन्यमा झार्ने हाम्रो लक्ष्य हो । यसमा सबैको साथ, सहयोग हुनुपर्छ ।”
यो आवको दस महिनामा देशैभर २४ स्थानीय र ३१३ जना आयातीत औलो संक्रमित छन् । चारवटा प्रदेश औलो जोखिममुक्त छन् भने अहिले तराईका ठाउँ संगै पहाडी जिल्लामा पनि औलो भेटिन थालेपछि सबै सजग भएर सुरक्षित हुनुपर्ने प्रमुख रावलले सुझाउनुभयो । विषेश गरेर भारतबाट फर्किनेहरुले अनिवार्य चेकजाँच गरेर समाजमा औलो सर्न नदिन सहयोग गर्न उहाँले आव्हानसमेत गर्नुभयो ।
जानकी गाउँपालिकामा ५ जना र लम्की चुहा नगरपालिकामा १ जना औलोका संक्रमित छन् ।