नेकपाको अन्तरसङ्घर्ष र सम्भावित परिणाम

शेयेर गर्नुहोस

झकबहादुर मल्ल ‘सुदीप’
विभाजनको सँघारमा पुगेर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० एकताको यात्रामा अघि बढिरहेको छ । कम्युनिस्ट पार्टीमा चल्ने वादविवाद र बहसलाई स्वाभाविक र सामान्य पनि हो । अन्तरविरोध र अन्तरसङ्घर्ष एउटा जीवन्त पार्टीको नियमित प्रक्रिया पनि हो । द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दृष्टिकोणअनुसार हरेक वस्तुमा अन्तरविरोध हुनु अनिवार्य प्रक्रिया हो । तर यस्ता अन्तरविरोध ठीक ढङ्गले सञ्चालन गर्न नसक्दा पार्टीहरु टुटफुट र विभाजनमा जाने परम्परा नेपालमा मात्रै होइन संसारभरि नै भएको पाइन्छ । पार्टी एकताको दुई वर्ष नबित्दै नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० मा चलेको असाधारण अन्तरविरोधले पार्टीलाई फुटको नजिक पु(याएको थियो । नेतृत्वको सचेत पहलकदमी, आम नेता कार्यकर्ता र जनताको खबरदारी साथै संसारभरिका मित्र शक्तिहरुका सकारात्मक सुझावले नेकपा दुर्घटनाको सन्निकट पुगेर पनि जोगिएको छ ।

गत माघमा सम्पन्न केन्द्रीय समिति बैठकपश्चात पार्टीमा नयाँ उत्साह पैदा भएको थियो । कम्युनिस्ट पार्टी र आन्दोलनमा गत केन्द्रीय समिति बैठक निकै महत्त्वपूर्ण निर्णयका साथ सम्पन्न भएको विश्वास गरिएको थियो । तर केन्द्रीय समिति बैठकलगत्तै भएका गुटगत भेला, छलफल र गरिएका गतिविधिले त्यो बैठकको उत्साहलाई निरन्तर निराशामा बदल्दै लग्यो । पार्टीभित्र र बाहिर जुन किसिमका बहस र छलफल हुन थाले तिनले अन्तरविरोधलाई अझ बढी चर्काउँदै लगे । लकडाउनको अवधिमा सरकारद्वारा ल्याइएका विवादास्पद अध्यादेश र सांसद अपहरण लगायतका घटनाक्रमले पार्टीभित्रको अन्तरविरोधलाई छताछुल्ल रूपमा सतहमा ल्याइदिएको थियो । फाउन्डेसनका नाममा देशव्यापी रूपमा भएका समानान्तर भेला र नेकपा ९एमाले० नामको नयाँ दल दर्तासम्म आइपुग्दा पार्टीमा स्पष्ट रूपले विभाजनको सङ्केत देखिएको थियो ।

देशको विषम परिस्थितिमा पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्नेमा यस्ता खाले गतिविधि बढी रहनाले पार्टीभित्र मात्र होइन आम जनतामा समेत निराशा उत्पन्न गरिरहेको थियो । सुरुवातमा सामान्य मतान्तर जस्तो देखापरेको अन्तरविरोध विस्तारै बढ्दै गएर गम्भीर सैद्धान्तिक मतभेदको रूपमा विकास भएको थियो । पार्टी एकताको दस्तावेजमा सहमति कायम गरिएका वैचारिक राजनीतिक विषयसमेत यो अन्तर विरोधमा तानिए । पार्टीको तत्कालीन कार्यदिशा समाजवाद उन्मुख जनताको जनवाद हो । जनताको बहुदलीय जनवाद, एक्काइसौँ शताब्दीको जनवाद र माओवादबारे सैद्धान्तिक बहस महाधिवेशनले टुङ्गो लगाउने गरी पार्टी एकताको दस्तावेज सर्वसम्मत रूपले पारित गरिएको थियो । पार्टीभित्रको अन्तरविरोध बढ्दै जाँदा एकताको साझा दस्तावेजभन्दा बाहिर गएर आधारभूत सैद्धान्तिक सहमतिलाई तोड्दै अघि बढ्ने काम भयो । अर्थात पार्टीभित्रको अन्तरविरोध सैद्धान्तिक रूपमा समेत स्पष्ट रूपमा देखापरेको थियो ।

पार्टीभित्रको अन्तरविरोध सामान्य प्राविधिक विषय मात्र थिएन । त्यो सैद्धान्तिक विषय पनि थियो । सँगसँगै पार्टीभित्र विधि र अनुशासन लागू गर्ने कि नगर्ने भन्ने पनि थियो । अर्थात पार्टीलाई विधिसम्मत तरिकाले चलाउने या स्वेच्छाचारी ढङ्गले रु भन्ने विषय गम्भीर रूपले उठेको थियो । दुई फरकफरक साङ्गठनिक पद्धतिको अभ्यास गर्दै आएका कम्युनिस्ट पार्टीहरूको एकतापश्चात नेकपा बनेको हो । विधिसम्मत ढङ्गले अगाडि बढ्न मूल नेतृत्वमा पार्टीको विधि र अनुशासनप्रति निकै ठूलो संवेदनशीलता आवश्यक हुने गर्छ । कम्युनिस्ट पार्टीले सामूहिक नेतृत्व प्रणालीमा विश्वास गर्दछ । लेनिनवादी सङ्गठनात्मक सिद्धान्त आधारभूत रूपले पार्टीले स्वीकार गरेको छ । पार्टी एकतापश्चात नै कमिटी प्रणालीलाई कमजोर बनाउने गतिविधि भइरहेका थिए । देशमा नियम कानुनको पालना गराउने जिम्मेवारी पाएको नेतृत्वले आफ्नै पार्टीमा विधि र पद्धतिको पालना गराउन नसक्नाले समस्या उत्पन्न भएको थियो । कतिपय सन्दर्भमा नेतृत्वले आफै पनि विधिको उल्लङ्घन गर्दै गएकाले अन्तरविरोध बढ्दै गएको थियो ।

विधि र पद्धतिको सैद्धान्तिक व्यख्या र परिभाषाभन्दा पनि त्यसलाई व्यवहारमा कसरी पालना गरिन्छ भन्ने कुराले धेरै ठूलो अर्थ राख्ने गर्छ । सरकार गठनको साढे दुई वर्ष बितिसक्दा पनि सरकार पार्टीको निर्देशनमा चल्ने वा निश्चित गुटको घेरामा चल्ने भन्ने कुराको व्यावहारिक अनुभूति पार्टीमा भएन । पार्टीका आधिकारिक कमिटीले गरेका निर्णयहरु कार्यान्वयन नहुने र धेरैजसो निर्णय भइसकेपछि मात्रै जानकारी हुने परिपाटीले समस्यालाई जटिल बनाइरहेका थिए । अझ महत्त्वपूर्ण कुरा त के भने पार्टीको आधिकारिक दस्तावेजमा उल्लेख भएको समाजवाद उन्मुख जनताको जनवादलाई आधार मानेर जाने वा दलाल पुँजीवादको घेरामा रमाउने भन्ने कुरा विधिसम्बन्धी सैद्धान्तिक महत्त्वको गम्भीर विषय थियो । यस्ता गम्भीर सवालमा पार्टीभित्र गम्भीर बहस गरेर साझा बुझाइका साथ सरकार सञ्चालन गरेको भए धेरै हदसम्म समस्या समाधान हुने थियो ।

विधि र पद्धतिसम्बन्धी अर्को महत्त्वपूर्ण कुरा के भने पार्टी एकताका बाँकी कार्यभार सम्पन्न गर्ने सवाल अहिलेसम्म पनि पूरा हुन सकेन । पार्टी एकता घोषणा गर्दा तीन महिना भित्रमा सम्पन्न गर्ने भनिएको एकताका कतिपय कार्यहरु दुई वर्ष वितिसक्दा पनि पूरा भएका छैनन् । पार्टीका महत्त्वपूर्ण आयोग र विभागले पूर्णता पाउन बाँकी नै छन् । पोलिटब्युरो र केन्द्रीय परिषद् बन्न बाँकी नै छ । जसले गर्दा देशभर कम्युनिस्ट आन्दोलनमा लामो इतिहास भएका हजारौँ नेता कार्यकर्ताहरु पार्टीको आधिकारिक जिम्मेवारीविहीन अवस्थामा रहेका छन् । गत माघमा सम्पन्न केन्द्रीय समिति बैठकले १५ दिनभित्रमा सम्पन्न गर्ने भनेका यिनै कार्यहरू हुन् । पार्टीका आधारभूत कामहरुमा आफैले गरेका निर्णय लागू नहुनु कमिटी प्रणालीप्रति चरम उदासीनताको नमुना हो । पार्टीमा उत्पन्न समस्याको एउटा महत्त्वपूर्ण कारण यो पनि हो ।

पार्टीको आन्तरिक जीवनका कामहरु एकातिर अलपत्र पर्ने र अर्कोतिर सरकारका कामप्रति आम जनतामा असन्तुष्टि बढ्दै जानुले पनि अन्तरविरोधको वस्तुगत वातावरण तयार हुँदै गएको हो । यसबीचमा सरकारका तर्फबाट भएका कतिपय विवादास्पद निर्णय र भ्रष्टाचारजन्य ठूल्ठूला घटनाक्रमले गर्दा जनतामा असन्तुष्टि बढ्दै गएको हो । विशेषगरी विगतका बलिदानीपूर्ण आन्दोलनबाट प्राप्त उपलब्धिहरूको संस्थागत गर्ने र त्यसलाई आम जनताले अनुभूत गर्नेगरी विकास गर्ने कुरामा सरकारको तर्फबाट ठोस पहलकदमी हुन सकेन । वर्तमान सरकार र व्यवस्था विगतकै व्यवस्था र सरकारको निरन्तरता होइन । दुईतिहाइ जनमत प्राप्त सरकार हो । यसप्रति जनताको अपार विश्वासको साथमा निकै ठूलो अपेक्षा हुनु स्वाभाविक हो । यो तथ्यलाई सरकारले गम्भीरता पूर्वक आत्मसात गर्नुपर्दथ्यो । त्यसमा रहेको कमीकमजोरी पार्टीका विभिन्न माध्यम हुँदै केन्द्रीय अन्तरविरोधको रूपमा अभिव्यक्त हुन पुगेको हो ।

यही अन्तरविरोधको उत्कर्षमा पार्टी विभाजनको सँघारमा पुगेको थियो । पार्टीमा विधिसम्मत ढङ्गले उठेका विषयहरु समयमै हल नहुँदा तिनले विस्फोटक रूप लिँदै गएका थिए । पार्टीमा उठेका सैद्धान्तिक र राजनीतिक विषयलाई समेत विषयान्तर गरेर प्रस्तुत गरिदिनाले पनि समस्या झन् बढ्दै गएको थियो । पार्टीकै एकथरी नेताहरुले उठेका भिन्न विचार र दृष्टिकोणलाई अतिरन्जित तरिकाले व्याख्या गरे । यो असन्तुष्टि कुर्सीका लागि हो भनेर गलत व्याख्या गरे । सरकार ढाल्नका लागि गरेको षड्यन्त्रको रूपमा समेत व्याख्या गरे । जसले गर्दा आफ्नै पार्टीका नेताहरूको मानमर्दन गर्ने र गौरवपूर्ण इतिहासप्रति हिलो छ्याप्ने काम गरियो । यसरी नेताहरूको बीचमा एकता पैदा गर्ने काम गरियो र पार्टीभित्र विभाजनको रेखा कोर्ने काम गरियो ।

यही सेरोफेरोमा जिम्मेवार नेतृत्वमा रहेका कतिपय नेताहरुका भूमिका पनि आम पार्टी पङ्क्ति र जनताले प्रस्ट रूपमा देख्ने मौका पाए । पार्टीभित्रको यो लडाइँ वैचारिक र राजनीतिक थियो । सही र गलतको बीचमा थियो । भ्रम र यथार्थको बीचमा थियो । यथास्थिति र अग्रगमनको बीचमा थियो । दलाल पुँजीवाद र समाजवादको बीचमा थियो । पार्टीलाई विभाजित गर्ने र आफ्नो स्वार्थ पूरा गर्ने देशीविदेशी प्रतिक्रियावादी र पार्टीलाई एकताबद्ध गर्ने र कम्युनिस्ट आन्दोलनको विकास गर्ने क्रान्तिकारी शक्तिका बीचको लडाइँ थियो । यो लडाइँ वर्गीय पक्षधरताको पनि थियो । यो लडाइँको अग्रभागमा सहभागी नेताहरूको कित्ताबन्दी प्रष्ट देखिन्थ्यो । यो सही र गलतको लडाइँमा एउटा यस्तो मध्यमार्गी धार पनि देखापर्यो जसले आफ्नो प्रस्ट दृष्टिकोण सार्वजनिक गर्न सकेन ।

पार्टीभित्रको बहस मूलतः वस्तुगत र सामान्यतः आत्मगत परिस्थितिको उपज थियो । नेपाली कम्युनिस्ट आन्दोलनमा टुटफुट र विभाजनका अनेकौँ घटनाक्रममा सामेल नेताहरूको केन्द्रीकरण नेकपामा छ । त्यसैले फुटको परिणाम के हुन्छ भन्ने कुराको आकलन सबैले गरेकै थिए । यहाँ फुट्ने र जुट्नेभन्दा पनि पार्टीलाई देश जनताको परिवर्तनको संवाहक बनाउने या त यथास्थितिको रक्षक बनाउने भन्ने विषय मुख्य हो । यो लडाइँको केन्द्रमा पार्टीको सचिवालय र त्यसमा पनि विशेषतः दुइवटा अध्यक्ष भएको कुरा स्पष्ट नै छ । दुवैजना अध्यक्षका बीचमा पार्टीभित्रको अन्तरविरोधलाई हल गर्ने सैद्धान्तिक सहमति भएपछि एकताको नयाँ कोर्समा पार्टी अगाडि बढेको छ । पार्टीको आन्तरिक समस्यालाई समाधान गर्ने आधार तयार गर्न छ सदस्यीय कार्यदल गठनसम्म आइपुग्दा पार्टी एकताको बाटोमा अगाडि बढेको अनुभूति गर्न सकिन्छ ।

पार्टी एकताबद्ध हुनु भनेको केवल दुई अध्यक्ष बीचको एकता मात्र होइन केही नेताहरूको पदीय भागबण्डा मिलाउने कुरा मात्रै पनि होइन । सरकारका मन्त्रीहरुको फेरबदल र केही व्यक्तिहरूको राजनीतिक नियुक्ति गर्ने सहमति पनि पार्टी एकताको शर्त हुँदै होइन । पार्टी एकता भनेको वैचारिक समस्याको समाधान हो । राजनीतिक रूपमा देखापरेका भिन्नताको बुझाइमा एकरूपता हो । पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्ने नयाँ प्रतिबद्धता हो । विगतका गल्ती र कमी कमजोरीलाई सच्याएर अघि बढ्ने अठोट हो । पार्टीलाई लाखौँ नेता कार्यकर्ताको विश्वास र भरोसामा बदल्ने नयाँ कार्ययोजनामा सहमति हो । यसो भयो भने वास्तविक अर्थमा एकता सङ्घर्ष र रूपान्तरण हुन्छ । नयाँ आधारमा खडा भएको एकता भन्ने बुझिन्छ । दुई अध्यक्ष र पार्टी सचिवालयमा यदि यस किसिमको बुझाइमा एकता भएको हो भने यसले पार्टीलाई दूरगामी हिसाबले एकताको मार्गमा अघि बढाउनेछ ।
सहमति, सम्झौता, एकता आफैमा महत्त्वपूर्ण कुराहरु हुन् ।

नेपाली कम्युनिस्ट आन्दोलनमा सङ्घर्षका गौरवपूर्ण विरासत बोकेको नेकपाको एकतालाई जोगाएर रूपान्तरणसहित अघि बढ्नु ऐतिहासिक जिम्मेवारी र दायित्व हो । विगतमा कम्युनिस्ट आन्दोलनमा देखा पर्ने सानातिना अन्तरविरोधले पनि पार्टीहरु फुटेर विभाजनमा गएका थुप्रै उदाहरण छन् । अहिलेको एकताको प्रतिबद्धताले ती नकारात्मक कुराहरुको शिक्षालाई गहिरोगरी नेतृत्वले बोध गरेको देखिन्छ । अन्तर सङ्घर्षको उचाइ र एकताको गहिराइलाई राम्रोसँग आत्मसात गर्न सकिएन भने यो एकता पनि भविष्यमा अर्को दुखद् विभाजनमा परिणत हुनसक्छ । गरिएका सहमति र समझदारी पटक पटक तोडिएका नमीठो विगत हाम्रो सामु ताजा नै छ । एकताको यो उचाइ साँच्चिकै रूपान्तरणमा जान्छ वा फेरि अर्को अन्तरविरोधको भुमरीमा फस्छ भन्ने कुरा थाहा पाउन धेरै लामो समय पर्खन पर्ने छैन । निकट भविष्यमा नै त्यो चित्र स्पष्ट रूपमा देखा पर्ने निश्चित छ ।

ताजा खबर

कञ्चनपुरमा मलामी गएका सशस्त्र प्रहरीकाे दुर्घटनामा मृत्यु

अछाममा बलात्कारको आरोप लागेका चन्द पक्राउ

प्रवासी नेपाली संघ राजकोट नगर समिति अध्यक्षमा अर्जुन बिक चयन

कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *