पहाडी भेगमा आज भव्यताका साथ होली मनाइदै

शेयेर गर्नुहोस

धनगढी । सद्भावनाको पर्व होली, आज पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ ।

फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने भोलि (सोमबार) मनाइँदैछ । आफन्त, साथीभाइ मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो । सुदूर पहाडीमा सामूहिक रूपमा होली खेल्ने गरिन्छ । फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलोमात्र गरिँदैन, नाचगान पनि गरिन्छ ।

बूढापाका, युवा र बालबालिका पनि हौसिएर नाचगानमा भाग लिन्छन् । होलीमा परम्परागत बाजा बजाउने अनि समूहमा आबद्ध भई नाच्ने पुरानो परम्परा हो । गाउँमा अहिले पनि फागु खेल्ने चलन छ । हिन्दू धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन् ।

रङ लगाउँदा भागदौड भएछ । यो गतिविधि सबैले रमाइलो मान्न थालेर होलीपर्व मनाउन थालिएको किंवदन्ती छ । अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होलीपर्व मनाइने गरिएको मानिन्छ । होली खेल्दा न जात हेरिन्छ, न धनी–गरिब । सद्भावको प्रतिविम्ब यो पर्व सभ्य र भव्य छ । होलीपर्व सभ्य र व्यवस्थित बनाउन सुरक्षा संयन्त्रलाई बलियो बनाइएको छ ।

अनुमतिबिना कसैलाई पनि रङ लगाउन नपाइने, लोला हान्न नहुने, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउन नपाइने भन्दै यसअघि नै जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरले सूचना जारी गरिसकेका छन् । यदि कसैले नियमविपरीत गरेमा तत्काल कारबाही गरिने प्रहरीले जनाएको छ ।

ताजा खबर

amazed