शेयेर गर्नुहोस
बाँके । बाँकेमा स्रोत नखुलेको ३८ लाख बढी रकमसहित तीन जना पक्राउ परेका छन् ।
आइतबार बेलुका नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ सुर्खेत रोडबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बर्दियाको बारबर्दिया नगरपालिका—२ की २५ वर्षीया पूर्णिमा चौधरी, राजापुर नगरपालिका—१ का २० वर्षीय अनुप थारू र नेपालगञ्ज—१६ जैसपुरका ३६ वर्षीय हसिब अहमद जसगढ छन् ।
उनीहरूबाट स्रोत नखुलेको ३८ लाख ६३ हजार रुपैयाँ बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराले बताए ।
प्रहरी निरीक्षक निरञ्जन घिमिरेका अनुसार पक्राउ परेका पूर्णिमाले बोकेको झोलाबाट १६ लाख ९४ हजार रुपैयाँ र अनुपले बोकेको झोलाबाट २१ लाख ६९ हजार रुपैयाँ रकम बरामद भएको थियो । उनीहरूलाई भरियाको रूपमा रकम ओसारपसारमा प्रयोग गर्ने हसिब रहेको तथ्य अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक घिमिरेले बताए ।
पूर्णिमा र अनुप नेपालगञ्जमा कोठा भाडामा लिएर बस्दै आएका थिए । उनीहरू हसिबको कार्यालयमा सहयोगीको रूपमा काम गर्थे ।
स्रोतका अनुसार हसिबमाथि हुण्डीको कारोबार गर्दै आएको आरोप छ । नेपालगञ्ज—४ न्यूरोडमा भित्री सटर भाडामा लिएर हुण्डीको कारोबार गर्दै आएको भन्ने सूचना पाएपछि लामो समयदेखि प्रहरीले अनुसन्धान गरिरहेको थियो ।
राष्ट्रिय अनुसन्धान विभागको टोलीले पनि हसिबमाथि अनुसन्धान गरिरहेको थियो । घटनामा संलग्न एक जना फरार रहेको प्रहरी स्रोतले जनाएको छ ।
‘झन्डै २५ लाख पैसा बोकेका युवक भागेको भन्ने अनुसन्धानबाट खुलेको छ,’ प्रहरी स्रोतले भने, ‘भागेका व्यक्तिको खोजी जारी छ ।’















