शेयेर गर्नुहोस
यज्ञराज उपाध्याय, टीकापुर । टीकापुर नगरपालिकाले विश्व क्षयरोग दिवस २०२४ मनाएको छ । नगरपालिका कार्यालयमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै विश्व क्षयरोग दिवस २०२४ मनाइएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दमन सिंह चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा जनस्वास्थ्य प्रवर्द्धन उपशाखा संयोजक बल बहादुर रावलले क्षयरोग विषयक प्रस्तुति दिएका थिए । उनले क्षयरोगको बारेमा बताउदै नेपालमा बर्सेनि यो रोगबाट १७ हजार नागरिकले ज्यान गुमाउने गरेको बताए । त्यस्तै नेपालम बर्सेनि ६९ हजार अनुमानित क्षयरोगका बिरामी भेटिने गरेकोमा ३८ हजार मात्र राष्ट्रिय क्षयरोगको कार्यक्रममा आउने गरेको संयोजक रावलले जानकारी दिए ।
संयोजक रावलले प्रस्तुत गरेको तथ्यांक अनुसारविश्वमा भारतमा सबैभन्दा धेरै अर्थात २८ प्रतिशत क्षयरोगका बिरामी रहेका छन् । तर नेपाल टप १० भित्र नरहेको तथ्यांकमा उल्लेख छ । तर पनि नेपाल सरकारले २०३५ सम्म क्षयरोगबाट हुने मृत्युदर ९५ प्रतिशतले घटाउने र नयाँ बिरामीहरुको दर ९० प्रतिशतले घटाउने लक्ष्य लिएको छ । जबकी विश्वको सबैभन्दा धेरै क्षयरोग संक्रमित भएको भारतले २०३० मै क्षयरोगको मृत्युदर र नयाँ बिरामी दर घटाउने लक्ष्य लिएको छ ।
संयोजक रावलले २०५० सम्म प्रती दस लाखमा १ बिरामी हुनुपर्ने दीर्घकालीन लक्ष्य सरकारले लिएको जानकारी दिए । उनले अहिले पनि देशमा क्षयरोगको अवस्था भयावह भएको तर प्रयाप्त बजेट नभएको बताए । एउटा औषधि सेवन नगर्ने क्षयरोगको बिरामीले ग्रामीण वा पहाडी भेगमा १० देखि १५ जना नयाँ बिरामी उत्पादन गर्ने र शहरी क्षेत्रमा २५ जनासम्म नयाँ बिरामी उत्पादन गर्न सक्ने संयोजक रावलले बताए ।
त्यस्तै उनले टीकापुरमा क्षयरोग घट्दै गएको पनि तथ्यांक प्रस्तुत गरे । विगतका वर्षभन्दा अहिले टीकापुरमा नयाँ बिरामी बढी भेटिने गरेको र भेटिएकालाई तुरुन्तै अस्पताल पठाएर औषधि दिइरहेको रावलको भनाई छ । उनले टीकापुर अस्पतालसंगको सहकार्यमा शंकास्पद बिरामीको एक्सरेदेखी अन्य चेकजाँच निशुल्क हुने गरेको र त्यसको खर्च नगरपालिकाले व्यहोरिरहेको बताए । उनले टीकापुर नगरपालिका भित्र टोल टोलमा क्षयरोग स्वयंसेवक, महिला स्वयं सेविका लगायतलाई पठाएपछि नयाँ बिरामी बढी भेटिने गरेको र नागरिकहरु पनि सचेत हुँदै आफै आउने गरेको जानकारी दिए । उनका अनुसार टीकापुर नगरपालिकामा गत आर्थिक वर्षको १२ महिनामा एक सय ७६ क्षयरोगका नयाँ बिरामी भेटिएको र ५ जनाको मृत्यु भएको थियो । चालू आर्थिक वर्षको फागुन अन्तिमसम्म ८ महिनामै एक सय ६ जना नयाँ बिरामी भेटिएको र २ जनाको मृत्यु भएको छ ।
संयोजक रावलले टीकापुरमा वार्षिक दुई सय २१ जना बिरामी भेटिनुपर्नेमा नभेटिएको तर अहिले नागरिक सचेत हुँदै गएपछि बिरामी बढ्नु सकारात्मक भएको बताए । उनले लक्ष्य अनुसारका बिरामी भेटिए क्षयरोग उन्मुलन गर्न सहज हुने पनि दाबी गरे ।
उनले प्रस्तुत गरेको तथ्यांकअनुसार सुदूरपश्चिममा सबैभन्दा धेरै कैलालीको धनगढी उपमहानगरपालिकामा बिरामी भेटिएका छन । टीकापुर नगरपालिका तेश्रोमा र दोश्रोमा कञ्चनपुरको भिमदत्त नगरपालिका रहेको छ । भारतसँगको खुला सिमाकै कारण कैलाली र कञ्चनपुरमा बढी नयाँ बिरामी भेटिने गरेका छन् । चालू आर्थिक वर्षको फागुनसम्म कैलालीमा क्षयरोगका ८ सय ९१ नयाँ बिरामी भेटिएको र ३० जनाको मृत्यु भएको छ । तीमध्ये टीकापुर नगरपालिकामा एक सय ६ जना र छिमेकी जानकी गाउँपालिकामा ६३ जना रहेका छन् ।
अन्तरक्रिया कार्यक्रमको अध्यक्षता ग्रहण गरेका प्रमुख प्रशासकीय अधिकृत दमन सिंह चौधरी र उपस्थित वडा नं. १ का अध्यक्ष मोहन लुहारले क्षयरोग निवारण अभियानमा सदैव साथ दिने भन्दै बजेट लगायत विषयमा सहयोग गर्ने र कार्यपालिकामा छलफल अघि बढाउने प्रतिबद्धता गरे ।
सोही अन्तरक्रिया कार्यक्रमको अवसरमा चारजनालाई सम्मानसमेत गरिएको हो । एकतानगर शिविरमा कार्यरत उत्कृष्ट महिला स्वयं सेविकाको रुपमा सुशीला विक लुहार, १० जना क्षयरोग स्वयंसेवक मध्ये उत्कृष्ट वडा नं. ९ मा कार्यरत मिना चौधरी, १० जना फोकल पर्सनमध्ये टीकापुर अस्पतालमा कार्यरत तनोज कुमार पोखरेल र सत्ती शहरी स्वास्थ्य केन्द्रमा कार्यरत गोविन्द कठायतलाई सम्मान गरिएको हो ।
नगरपालिकाको स्वास्थ्य प्रवर्द्धन उपशाखाका वरिष्ठ अधिकृत कमल बहादुर रावलले सञ्चालन गरेको अन्तरक्रियामा जनस्वास्थ्य निरीक्षक धर्म सिंह बटालाले स्वागत गरेको थिए । कार्यक्रममा शाखा प्रमुखहरु, महिला स्वयंसेविका, क्षयरोग स्वयंसेवक, क्षयरोग बिरामी सेवाग्राही, सञ्चारकर्मी लगायतहरुको उपस्थिति रहेको थियो ।
