शेयेर गर्नुहोस
टीकापुर । कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग अन्तर्गत सम्पन्न दुई खेलमा युथ अफ टीकापुर र गरुडा नगरपालिका विजयी भएका छन् ।
समुह ‘बि’ बाट युथ अफ टीकापुरले सेमीफाइनलमा स्थान समेत पक्का गरेको हो। शनिबार सम्पन्न पहिलो खेलमा युथ अफ टीकापुरले कैलाली बहुमुखि क्याम्पसलाई पराजित गर्दै समुह चरणमा जितसँगै सेमीफाइनलमा स्थान सुरक्षित गरेको छ । युथ अफ टीकापुरले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा निर्धारित ११ ओभरमा कैलालीले ७ विकेट गुमाएर ७९ रन बनाउन सक्यो ।
खराब मौसमका कारण ११ ओभरमा घटाइएको खेलमा टस जितेर ब्याटिंग गर्दै युथ अफ टिकापुरले ७ विकेट गुमाएर ९४ रन बनायो । साथै टीकापुरका गौतम केसी प्लेयर अफ द म्याच घोषित भए । दोश्रो खेलमा गरुडा नगरपालिकाले विजयी सुरुवात गर्ने क्रममा सुदुरपश्चिमाञ्चल एकेडेमीलाई ९८ रनले पराजित गरेको छ ।
गरुडाले दिएको १७४ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमाञ्चल एकेडेमीले २० ओभर खेल्दै ८ विकेट गुमाएर ७५ रन मात्र बनाउन सकेको हो । टस जितेर ब्याटिंग गरेको गरुडाले २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनाएको हो । प्रतियोगिता अन्तर्गत आइतवार पनि दुई खेल हुनेछन्। पहिलो खेल विहान ९ बजे घोडाघोडी क्रिकेट एकेडेमी र गरुडा नगरपालिकाबिच तथा दोश्रो खेल दिउँसो १ बजे सत्यवती एकेडेमी र लिटल एन्जल्सबिच हुनेछ ।















