शेयेर गर्नुहोस
टीकापुर । कैलालीमा अवरुद्ध पूर्वपश्चिम राजमार्ग खुलेको छ ।
जिल्लाको साडेपानीमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएका भोजबहादुर शाहीको घटनाको छानबिनको माग गर्दै अवरुद्ध गरिएको राजमार्ग खुलेको हो । मंगलबार घोडाघोडी नगरपालिका–१ जङ्गल रिसोर्ट नजिकै सुदूरपश्चिम प्रदेश ०१०१० प ५०७० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–२ विशाल चोकका ३० वर्षीय भोजबहादुर शाहीको मृत्यु भएको थियो ।
प्रहरीले मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको जनाए पनि स्थानीयले भने गाडीले ठक्कर दिएर दुर्घटना भएको भन्दै छानविनको माग गरेका थिए। प्रहरीले घटनाको छानविन गर्ने सहमतिपछि राजमार्ग सुचारु भएको छ । मृतकका आफन्तले बाग्मती प्रदेश ०१०२९ च ३८८७ नम्बरको कारले मोटरसाइकललाई ठक्कर दिएको किटानी जाहेरी दिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।










