शेयेर गर्नुहोस
नेपालमा हरेक क्षेत्रमा नक्कली, फर्जी गतिविधिहरु मौलाइरहेको छ । राजनीति होस वा सरकारी काम, व्यवसाय होस वा विकासका काम जताततै नक्कली, फर्जी कामहरु बढीरहेका छन् । यस्तै फर्जी काम कैलालीको गोदावरी उद्योग वाणिज्य संघभित्र भएको छ । एउटा मात्र नभई यहाँ कैयौं नक्कली कामहरु भएका विषय क्रमशः बाहिरिरहेका छन् । गोदावरीको अत्तरियामा महोत्सवको टिकट नक्कली बनाएर लाखौंको घोटाला गरेको घटना पुरानो भएको छैन । अझ गोदावरी उद्योग वाणिज्य संघको चुनाव लड्नका लागि मात्र नक्कली फर्म खडा गरेको विषय बाहिरिएको छ ।
नक्कली टिकट बिक्री प्रकरण अनुसन्धान नसकिदै अर्को नक्कली काम गरेको विषय बाहिरिएको हो । यसले समाजमा नराम्रो प्रभाव पारेको छ । यस्ता नक्कली गतिविधि गर्नेहरुकै कारण समाज नराम्रो दिशामा जान्छ । यहि कारण भ्रष्टाचार लगायतका घटना बढ्दै जान्छन् । क्षमतावान र दक्ष मान्छेले अवसर नपाउनुको एक कारण यस्ता गतिविधि गर्नेहरु हाबी भएर पनि हो । समाजका लागि असल नियतका साथ जिम्मेवारी पूरा गर्न अगाडी आउनुपर्नेमा नक्कली काम गरेर आउने यस्ता व्यक्ति विकासका बाधक पनि हुन्छन् । यहि कारण हाम्रो समाज अझै माथी उठ्न सकेको छैन ।
यस्ता नक्कली र फर्जी काम गर्नेहरुलाई समाजले पनि बहिष्कार गर्नुपर्छ । प्रहरी प्रशासनले यस्ता विषयमा गम्भीर भएर अनुसन्धान गर्नुपर्छ । नक्कली काम गरेर पदमा बस्दै संस्था र समाजलाई दुर्गन्धित बनाउनेहरुलाई कानुनी सजाय दिन आवश्यक छ । अनि मात्र हाम्रो समाजमा सक्षम र क्षमतावान मान्छेले अवसर पाउनेछन् । तसर्थ, यस्ता नक्कली काम गर्नेहरु जो सुकै भए पनि कानुनी दायरामा ल्याउन ध्यान जानुपर्छ ।










