शेयेर गर्नुहोस
टीकापुर । कैलालीको जानकी गाउँपालिकाबाट वैदेशिक रोजगार ठगीको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा जानकी गाउँपालिका(७ का ३२ वर्षीय उमाकान्त आचार्य पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्वराज अधिकारीका अनुसार वैदेशिक रोजगार विभागले अदालतबाट पक्राउ पुर्जी लिएर पत्र पठाएको थियो । सोही पत्रको आधारमा बिहीवार बिहान पक्राउ गरेर काठमाडौं पठाइएको डिएसपी अधिकारीले जानकारी दिए ।
आचार्यले आफ्नै ठाउँका स्थानीय र आफन्तलाई विदेश पठाइदिने भन्दै रकम लिएर ठगी गरेपछी पिडितले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए । पछिल्लो समय वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने क्रम बढ्दै गएको छ । तर टीकापुर प्रहरीले भने यस्तो मुद्दामा वैदेशिक रोजगार विभागको पत्रानुसार पहिलोपटक पक्राउ गरेर काठमाडौं पठाएको डिएसपी अधिकारी बताए । अधिकारीका अनुसार विदेश पठाइदिने भन्दै ठगी गरेको खण्डमा पिडितले वैदेशिक रोजगार विभागमै गएर उजुरी दिनुपर्छ र यसको कारबाही प्रक्रिया उसैले अगाडी बढाउने गरेको छ ।
वैदेशिक रोजगारीमा पठाउने आश्वासन देखाएर धेरै युवाहरु फस्ने गरेका छन् । देशमा रोजगारीको अभाव, जनचेतनाको कमी, बढी विश्वासकै कारण युवाहरुको लाखौं रुपैयाँ ठगी हुने गरेको छ ।















