कमसल सामाग्री प्रयोग गरेर सडक बनाउन माहिर ठेकेदार लखेटिए

शेयेर गर्नुहोस

अत्तरिया । कैलालीको गोदावरी नगरपालिकामा कमसल सडक निर्माण गर्ने ठेकेदार लखेटिएका छन् । बुधवार बिहान गोदावरी नगरपालिका – १ चेतना टोलमा कमसल सामग्री प्रयोग गरेर सडक कालोपत्रेको तयारी गरिरहेका ठेकेदार लखेटिएका हुन ।

स्थानीयले बेस निर्माणको काम मापदण्ड विपरीत भएको भन्दै ठेकेदारलाई काम रोक्न भनेका थिए । तर, ठेकेदारले सबैतिर मिलाइसकेको भन्दै कालोपत्रेको तयारी गर्न थालेपछि स्थानीयले वडाका जनप्रतिनिधि बोलाएका थिए । प्राविधिक सहित जनप्रतिनिधिले पुगेपछि तताउँदै गरेको अलकत्रा छोडेर ठेकेदार र कामदार त्यहाँबाट हिँडेका थिए ।

स्थानीय चेतराज जोशीले गुणस्तरहीन काम गरेको स्पष्ट देखिएकाले काम रोक्न भन्दा उल्टै ठेकेदारले थर्काएको बताए । उनले सबै चेकजाँच गरेर पास भएको ठेकेदारले दाबी गरेपछि वडाका जनप्रतिनिधिलाई बोलाएको बताए । उनले सडकको बेस नै नमिलाएर माटै माटो हालेर कालोपत्रे गर्न लागिएको बताए ।

वडाध्यक्ष गोपाल दत्त भट्टले मङ्गलवार नै आएका नगरका प्राविधिकले सडकको काम गुणस्तरीय नभएको भन्दै रोक्न लगाइसकेको भए पनि ठेकेदारले मनोमानी तरिकाले काम अगाडि बढाएको बताए । उनले नगरका इन्जिनियर जनक खड्काले राम्रो काम नभएको भन्दै ठेकेदारलाई पत्र पठाइसकेको भए पनि ठेकेदारले काम नरोकेपछि आफै आएर काम रोक्न लगाएको बताए ।

उनले सडकमा होलीको रङ्ग हालेजस्तो बेस हालेर गुणस्तरहीन काम भइरहेको बताए । ‘यसरी कालोपत्रे गरेको काम टिक्दैन’ उनले भने ‘ठेकेदारलाई काम रोक्न भनेपछि अहिले कहाँ गए थाहा भएन ।’ वडा कार्यालयले आर्थिक वर्ष २०७९÷०८० मै २५ लाख बजेट विनियोजन गरेर सडक निर्माणको काम अगाडि बढाएको थियो ।

गत वर्ष नै सकिनुपर्ने उक्त सडक चालु आर्थिक वर्षको अन्त्यमा कालोपत्रे गर्न थालिएको भए पनि गुणस्तहिन काम भएको पाइएको छ । १२५ मिटरको उक्त सडकमा एकतर्फी नाला निर्माण गरिएको छ । सडक निर्माणका लागि काफली कन्स्ट्रक्सन सँग ठेक्का सम्झौता गरिएको थियो ।

वडाकी सब–इन्जिनियर अनिता धामीले बेसको काम पिचको लागि उपयुक्त नभएको बताइन् । उनले काम गुणस्तरीय नभएकाले रोकेको बताइन् । उनले बेसको थिकनेस पुगे पनि इम्प्रेसन राम्रो सँग नभएको बताइन् ।

वडा सदस्य गम्भीर साउँदले ढिला भएको काम पनि गुणस्तरहीन भएपछि आफूहरूले काम रोक्न लगाएको बताए । उनले प्राविधिकहरूले पनि काम गुणस्तरहीन भएको भनिसकेकाले यसमा पुन रोलिङ गरेर काम गरिनुपर्ने बताए । स्थानीय हिक्मत देउवाले सडकको मापदण्ड अनुसार काम भए कुनै अवरोध नहुने बताए । उनले नालीको काम पनि उपयुक्त नभएको बताए । उनले यही अनुसार पिच भए १ महिना पनि नटिक्ने बताए ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *