मुख्यमन्त्री सोडारीलाई बजेटमा विगतको कमजोरी नदोहर्‍याउन संसदीय समितिको सुझाव

शेयेर गर्नुहोस

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई बजेटमा विगतको कमजोरी नदोहर्‍याउन सुझाव दिइएको छ । अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले आगामी आर्थिक वर्षको बजेटमा विगतका कमजोरी नदोहर्‍याउन सुझाव दिएको हो ।

प्रमुख सचिव तथा अर्थ सचिवसहितको उपस्थितिमा भएको छलफलमा सदस्यहरूले गत वर्षको बजेटको समीक्षा र छलफल नभएको भन्दै यस पटक विगतको जस्तो कमजोर बजेट नल्याउन सुझाव दिए ।

उनीहरूले पूर्व योजना तर्जुमा नगरी बजेट निर्माण प्रक्रिया अगाडि बढाएको प्रति गुनासो समेत गरेका थिए ।

प्रादेशिक योजना बैङ्कका लागि सम्भावना अध्ययन नगरी बजेट बनाउने र बनेका बजेटको कार्यान्वयन पक्ष पनि कमजोर हुने विषय महत्वपूर्ण रहेको भन्दै उक्त विषयमा पनि ध्यानाकर्षण गराइएको प्राकृतिक स्रोत समितिका सदस्य समेत रहेका एमाले संसदीय दलका नेता राजेन्द्र रावलले बताए । उनले भने, ‘पहुँचमा होइन प्राथमिकतामा बजेट बनोस् । प्रदेश सभा सदस्यहरूसँग पर्याप्त छलफल होस् र कर्मचारी हाबी हुने अवस्था सृजना नहोस् ।’

उनले योजना तर्जुमा दिग्दर्शनमा पनि कमजोरी रहेको बताउँदै संशोधन हुनुपर्नेमा जोड दिए । मुख्यमन्त्री सोडारीले आएका सुझावहरूलाई कार्यान्वयन गर्ने बताए । ‘योजना पहुँचका आधारमा नभई प्राथमिकताको आधारमा छनोट हुनेछन्, जनप्रतिनिधिहरूसँग पनि व्यापक छलफल हुनेछ,’ मुख्यमन्त्री सोडारीले भने ।

amazed