शेयेर गर्नुहोस
धनगढी । सहकारी रकम हिनामिनाबारे संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको नेपाली कांग्रेसले सडक आन्दोलन गर्ने भएको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । सहकारी प्रकरणमा ससदीय छानबिन समिति गठनको माग गर्न सदन र सडकबाट सहकारी पीडितको पक्षमा आवाज उठाउने निर्णय गरिएको केन्द्रीय सदस्य डिला संग्रौलाले जानकारी दिइन् ।
सहकारी बचतकर्ताको बचत फिर्ता हुनुपर्ने मुख्य माग राख्दै पहिलो चरणमा यही शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आन्दोलन गर्ने पनि संग्रौलाले बताइन । त्यसपछि ठगी भएका ठूला सहकारी रहेका सहर पोखरा, बुटवलमा आन्दोलन गर्ने उनको भनाइ छ ।
सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै सदनमा अवरोध गर्दै आएको छ । सहकारीको बचत अपचलन, हिनामिना, ठगी र दुरूपयोगका सन्दर्भमा संसदीय छानबिन समिति बनाउने विषयमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सैद्धान्तिक सहमति भएको छ ।
समितिको कार्यादेश तय गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्वमा कार्यदलसमेत बनेको थियो । कार्यदलमा नेकपा (एमाले) प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सांसद जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल थिए ।
कार्यललको तीन चरणमा बैठक बसे पनि क्षेत्राधिकार टुंगो लागेको छैन । नेपाली कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री नै मुछिएको भन्दै उनको नाम लेखेर क्षेत्राधिकार तय गर्नुपर्ने बताउँदै आएको छ ।
एमाले र रास्वपाले भने गृहमन्त्री जोडिएको भनिएको बुटवलको सुप्रिम र पोखराको सूर्यदर्शन सहकारीको नाम अनुसूचीमा लेखेर जानुपर्ने बताएपछि कुरा मिल्न नसकेको हो । संसदीय छानबिन समिति नबनाइ सत्तापक्षले पेलेरै सदन चलाएको भन्दै प्रतिपक्षी कांग्रेस रुष्ट छ ।















