शेयेर गर्नुहोस
काठमाडौँ । अविरल वर्षासँगै आएको बाढीका कारण सुदूरपश्चिमका ५ जिल्लाको जनजीवन प्रभावित भएको छ । कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी र अछामका दुई हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ । २ हजार जनालाई विद्यालय, सामुदायिक भवन र अस्थायी टेन्टमा सारिएको सुदूरपश्चिम प्रदेशका डीआईजी रवीन्द्र केसीले जानकारी दिए ।
कैलालीमा ५७८ जना, कञ्चनपुरमा ५११ परिवारका १ हजार ७३८ जना, दार्चुलामा ९९ जना र बैतडीमा १८० जनालाई डुबान क्षेत्रबाट सुरक्षित ठाउँमा सारिएको छ । अविरल वर्षाका कारण आएको बाढी बस्तीमा पसेपछि कञ्चनपुरबाट ३९ जनाको उद्धार गरिएको छ । घरमा बाढी पसेपछि खाटबाट लडेर पानीमा खसेपछि डुबेर कञ्चनपुरमा ७ महिने बालकको मृत्यु भएको छ । ७ महिनाका सोलु धानुकको मृत्यु भएको हो । कञ्चनपुरमा महाकाली र जोगबुडा नदि बस्तीमा पसेको छ । बेलडाँडी, भिमदत्त र दोधारा क्षेत्र धेरै प्रभावित भएको कञ्चनपुर प्रहरीले जानकारी दियो ।
सुदूरपश्चिममा शनिवार देखी अविरल बर्षा भइरहेको छ । कञ्चनपुरमा नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् । प्रभावित स्थानीयको उद्धारका लागी दुई हजार प्रहरी परिचालन गरिएको डीआईजी केसीले जानकारी दिए । उनले भने– ‘प्रभाावितहरुलाई खानाको व्यवस्थापन र स्वास्थ्यको समस्या समाधान गर्नेबारे छलफल भइरहेको छ ।’
कैलालीको कान्द्रा र काडा नदिमा आएको बाढीका कारण भजनी नगरपालिकाका वडा नम्बर ५ र ७ तथा जोशीपुर गाउँपालिका वडा नम्बर–३ र ८ तथा टीकापुर नगरपालिकाको ६ नम्बर वडा डुबानमा परेको छ ।















