‘माणौ’ मासेर सिमेन्टका मन्दिर निर्माण

शेयेर गर्नुहोस

बैतडी । स्थानीय तह र प्रदेश सरकारले ठुलो बजेट खर्च गरेर सिमेन्टका मन्दिर बनाउँदा पुरातात्त्विक सम्पदाका रूपमा रहेका माणौ (माडौँ) को अस्तित्व सङ्कटमा परेको छ । 

यहाँका प्रसिद्ध भगवतीका माणौमध्येको एक डडेलधुरा जिल्लामा रहेको उग्रतारा भगवतीमा सिमेन्ट र कङ्क्रिटको प्रयोग गरेर गरेपछि पुरातत्व विभागले सम्पदा सूचीबाट हटाइसकेको छ । स्थानीय तह र प्रदेश सरकारले भने जिल्ला र गाउँ गाउँमा बजेट खर्च गरेर सम्पदा मास्ने अझै काम रोक्न सकेका छैनन् ।   

उग्रताराको कङ्क्रिट हटाई पुरानो स्वरूप दिन पुरातìव विभागले आर्थिक वर्ष २०७९/८० मा एक करोड ६२ लाख रुपियाँ विनियोजन गरेर बोलपत्र आह्वान गर्दा कबोल गर्न कोही आएनन् । बजेट फ्रिज भएपछि उग्रताराले पुनारो स्वरूपमा पाउन सकेको छैन । 

स्थानीय कालिगडले ढुङ्गा र काठको प्रयोग गरेर निर्माण गरेको उग्रतारालाई पुरातत्व विभागले विसं २०४१ सालमा सम्पदा सूचीमा सूचीकृत गरेको थियो । उग्रताराको तस्बिर अङ्कित हुलाक टिकटसमेत जारी भएको थियो । स्थानीयले विभागलाई कुनै जानकारी नगराई माणौमा कङ्क्रिटको प्रयोग गरेपछि विभागले विसं २०५४ सालमा सम्पदा सूचीबाट हटाएको हो । 

यो विषयलाई सुदूरपश्चि प्रदेश सरकारले गम्भीर रूपमा लिएको देखिएन । बरु यस्तै त्रुटि दोहोर्‍याएर विभिन्न जिल्लामा माणौको स्वरूप बिगार्न बजेट विनियोजित गर्दै आएको छ । पर्यटन शीर्षक अन्तर्गत पाँच वर्षमा प्रदेशका नौ जिल्लामा ८१३ वटा मन्दिर निर्माण भएका  छन् । यी योजना निर्माण गर्दा सम्बन्धित कार्यालयका इन्जिनियरले पुराना कालिगडलाई खबर नै नगरेको ९० वर्षीय कालिगड अन्तराम वडले बताउनुभयो । 

माणौमा काठको खोल्देली, स्लेट वा ताम्रपत्रको छानो, कटुवा ढुङ्गा (वास्तु) को प्रयोग र काठको कालो खाम हुने गरेको उहाँले बताउनुभयो । पछिल्लो समय माणौ मासेर सिमेन्टका मन्दिर निर्माण गरी कालो खामको बदलामा सिमेन्टकै गेट बन्न थालेको गुनासो गर्नुभयो ।  

सुदूरपश्चिम प्रदेश सरकारले मात्रै बितेका पाँच वर्षमा मन्दिर निर्माण गर्न एक अर्ब पाँच करोड २१ लाख रुपियाँ खर्च गरेको प्रदेश सरकारको तथ्याङ्कमा छ । सो रकममध्ये ८२ करोड खर्च भइसकेको छ । चालु आव २०८१/८२ मा थप २३ करोड २१ लाख रुपियाँ खर्च गर्ने लक्ष्य राखिएको छ ।  

बैतडीमा मात्रै डिभिजन वन कार्यालयमार्फत जिल्लाभर ५९ वटा सिमेन्टका मन्दिर बनाइएको छ । पर्यटन प्रवर्धन शीर्षकका सिमेन्टका संरचनामा १० करोड ५७ लाख रुपियाँ खर्च भएको डिभिजन वन कार्यालय बैतडीको तथ्याङ्कमा उल्लेख छ । स्थानीय र प्रदेश सरकारले पर्यटक घुमाउने नाममा माणौको मौलिकता मासेर सिमेन्ट र कङ्क्रिट प्रयोग गरी बजेट सक्ने काम गरेको नेपाल टुर एन्ड ट्राभल एसोसिएसन धनगढीका अध्यक्ष मायाप्रकाश भट्टले गुनासो गर्नुभयो । सिमेन्टको प्रयोगले सुदूरपश्चिमका माणौको मौलिकता समाप्त हुने अवस्था देखिएको पुरातात्त्विक विभागका अधिकृत राजेश परियारले बताउनुभयो । 

उहाँले प्रसिद्ध वनारसीधाममा सिमेन्टको प्रयोग नगर्न सुझाव दिएर फर्केको बताउनुभयो । प्रदेश र स्थानीय सरकारले पनि पुरातात्त्विक सम्पदाको ख्याल गर्नुपर्ने उहाँको भनाइ छ । स्थानीय र प्रदेश सरकारमातहत विभिन्न शाखा, उपशाखा भए पनि पुरातत्वसम्बन्धी विषय हेर्ने शाखा स्थापना हुन सकेका छैनन् ।    

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *