शेयेर गर्नुहोस
एजेन्सी
रियल म्याड्रिडका लिजेन्ड रोनाल्डोले पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट ला लिगा च्याम्पियनले नेयमारको साटो किलियान एम्बाप्पेलाई अनुबन्ध गर्नुपर्ने सुझाव दिएका छन् ।
एम्बाप्पे निकट भविष्यमा रियल म्याड्रिडसँग आबद्ध हुने चर्चा छ । लस ब्लाङ्कोसले सन् २०२१ मा एम्बाप्पेमा क्लबमा भित्र्याउने बताइन्छ । बार्सिलोनाका पूर्वफरवार्ड नेयमार सन् २०१७ मा विश्वकीर्तिमान रकममा पीएसजीसँग अनुबन्ध भएका थिए । उनी पनि रियल आउने चर्चा चलेको थियो ।
तर, ब्राजिलका पूर्वखेलाडी भने उमेरका कारण रियलका लागि नेयमारभन्दा एम्बाप्पे उपयुक्त विकल्प हुने बताउँछन् । ‘को कोभन्दा राम्रो हो भने कुरा होइन । तर, यदी रियलले ठूलो लागनी गर्ने हो भने उसले भविष्यको बारेमा सोच्नुपर्छ,’ सान्टान्डेरद्वारा आयोजित वेबिनारमा उनले भने ।
‘नेयरमा २८ वर्षका छन् र एम्बाप्पे २२ । लगानीका हिसाबले दुईजना मध्ये युवामा लगानी गर्न बढी तार्किक हुन्छ,’ उनको भनाइ थियो ।
एम्बाप्पे र नेयमार आइतबार बायर्न म्युनिखसँगको च्याम्पियन्स लिग फाइनलका लागि तयारी गर्दैछन् । पीएसजी प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो अवसर हो ।
नेयमारले भने सन् २०१५ मा बार्सिलोनासँग प्रतियोगिता जितिसकेका छन् । पीएसजीले यो सिजन यसअघि नै लिग वान, कोपे डे फ्रान्स, कोपे डे ला लिग र ट्रफी डेस च्याम्पियन्स जितिसकेको छ । ‘उनले यो सिजन पूरा गर्न लागि च्याम्पियन्स लिग जित्नुपर्छ,’ रोनाल्डोले भने, ‘उनले पछिल्लो समय निकै उत्कृष्ट खेल प्रदर्शन गरिरहेका छन् ।’
फरक प्रशंगमा विभिन्न मिडिया रिपोर्टका बावजुद लियोनेल मेस्सीले तत्काल बार्सिालोना नछाड्ने बताएका छन् । ‘युरोपमा जारी आर्थिक मन्दीका बीच मेस्सीले तत्काल बार्सिलोना छाड्ने सम्भावना देख्दिनँ,’ उनले भने ।
‘यदी म बार्सिलोना भएको भएँ, म उनलाई कुनै पनि हालतमा छाड्दिनँ थिएँ,’ उनले भने, ‘मेस्सीको बार्सिलोनासँग निकै गहिरो सम्बन्ध रहेको छ । मलाई लाग्दैन कि उनले क्लबलाई माया गर्न छाड्ने छन् । च्याम्पियन्स लिगमा ब्यहोरेको हारबाट उनी पक्कै पनि दुःखी छन् ।’
‘मेस्सीलाई उनको सहकर्मीको सहयोग चाहिएको छ र बार्सिलोनाले अर्को सिजनको लागि केही फरक गर्नुपर्छ । मुख्य खेलाडीलाई क्लब छाड्न दिनु समस्याको समाधान होइन,’ उनले भने ।