शेयेर गर्नुहोस
टीकापुर । टीकापुर अस्पतालमा रहेका समस्यालाई समाधान गर्न सरोकारवालाहरु संग छलफल भएको छ ।
बिहिबार टीकापुर नगरपालिका सभाहलमा भएको कार्यक्रममा टीकापुर अस्पतालमा बिरामी जाँचगर्ने बिभिन्न अपुग सामाग्री तथा भएका सामाग्री संचालन गर्ने व्यक्तिको अभाव बारे छलफल भएको हो ।
टीकापुर नगरपालिका प्रमूख तपेन्द्र बहादुर रावलको प्रमूख आतिथ्यमा भएको सो कार्यक्रममा टीकापुर अस्पताल अध्यक्ष दिपक वहादुर रावलको सभापतित्व रहेको थियो ।
कार्यक्रमका प्रमूख अतिथी समेत रहेका टीकापुर नगर प्रमूख रावलले अस्पताल जस्तो सम्वेदनशिल ठाउँमा बिगतमा पनि सहयोग गरेको र आगामि दिनहरुमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाए ।
सभापतीको आसनबाट अस्पताल अध्यक्ष रावलले भने–‘जनशक्ति व्यवस्थापनमा टीकापुर अस्पतालले मात्र धान्न नसक्ने भएकाले यसतर्फ सबै सरोकारवाला निकायको समेत ध्यान पुग्न जरुरी छ ।
अध्यक्ष रावलले टीकापुर अस्पतालमा आइसियु संचालन गर्न पनि अति आवश्यक्ता रहेको भन्दै कार्यक्रममा बिभिन्न सरोकारवालाहरु बिच ध्यानाकर्षण गराए ।
यसैगरी कार्यक्रममा टीकापुर अस्पतालका सुपरीटेन्डेन्ट डा. र्यामकुमार राईले टीकापुर अस्पताल मा ३ भ्यान्टीरेटर छन तर त्यसलाई संचालन गर्ने व्यक्तिको निकै अभाव रहेको बताए ।
यसैगरी सुदूरपश्चिम प्रदेश सदस्य एवं प्रतिपक्षदलका नेता रणबहादुर रावलले स्वास्थ्य, शिक्षा अहिलेको आवश्यक्ता हो यी कुराको समाधान गर्न आफु कहिले पछि नहट्ने बताए ।
साथै नेता रावलले टीकापुर अस्पतालमा पिसिआर मेसिनको पनि आवश्यक्ता छ भन्दै ध्यानाकर्षण गराए ।

उक्त छलफल कार्यक्रममा सभाषद मदन कुमारी शाह (गरिमा) ले टीकापुर अस्पतालमा आइसियु सबैभन्दा महत्वपूर्ण कुरा रहेको बताइन ।
उनले भनिन–‘स्वास्थ्यक्षेत्र संग कुनैपनि भूगोल जोडिएको हुदैन । टीकापुर अस्पताल सुबिधा सम्पन्न भएमा बर्दिया तथा सिमा नजिकका भारतीयहरु समेत सुबिधा लिन आउछन त्यसैले टीकापुर अस्पताल सुबिधा सम्पन्न बनाउन कैलालीका १३ स्थानिय तह संग सहयोग लिन सकिने बताइन ।
सो कार्यक्रममा टीकापुर नगरपालिका उपप्रमूख केशरी बिष्टले अहिलेको अवस्था निकै गम्भिर भएकाले बिकाश निर्माणका योजना भन्दा स्वास्थ्य महत्वपूर्ण रहेको र यसतर्फ गम्भिर बन्नुपर्ने बताइन ।
टीकापुर अस्पतालमा रहेका बिभिन्न समस्याहरु समाधान गर्न यसक्षेत्रका स्थानियतहहरुले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने र आर्थिक समस्यामा आर्थिक सहयोग जुटाउन ध्यान दिनुपर्ने समेत बिष्टले बताइन ।

कार्यक्रममा नेकपाका टीकापुर नगर इन्चार्ज खडग शाहले टीकापुर अस्पताल बजबुद बनाउन सबैको भूमिका आवश्यक रहेकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने धारणा राखे ।
यसैगरी सो कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. १ कैलालीका क्षेत्रिय सभापती भूवनेश्वर अधिकारीले ‘टीकापुर अस्पतालका समस्या जनताका समस्या हुन’ अस्पताल बाट जनताले नै सुबिधा लिने हुन त्यसैलेपनि सबै मिलेर टीकापुर अस्पताललाई बलियो बनाउनुपर्ने बताए ।
कार्यक्रममा पूर्व सभाषद हरी ज्ञवाली, रुपा चौधरी, प्रदेश सदस्य उमादेवी बादी, जोशीपुर गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरी, भजनी नगरपालिका उपप्रमूख छाया देबकोटा, समाजसेवी श्याम खत्री, जनमोर्चाका नेता दयाराम सञ्ज्याल, लगायतको उपस्थिती थियो ।