शेयेर गर्नुहोस
रोयल आचार्य
काठमाडौं । कोरोना बीमा वापतको रकम लिने संक्रमितहरुको संख्या १४ हजार नाघेको छ । बीमा समितिका अध्यक्ष राजुरमण पौडेलका अनुसार सोमबार साँझसम्म १४ हजार १८४ जनालाई १ अर्ब ३८ करोड ४८ लाख ७५ हजार रुपैयाँ भुक्तानी भइसकेको छ ।
थप २ हजार ५२१ जना भुक्तानी पाउने प्रक्रियामा छन् । ३ हजार १११ जनाको फाइल भने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) स्वीकृत हुने प्रक्रियामा छ । बिमक संघका अनुसार, ती फाइल आउनासाथ थप १ हजार ५५० जनाको फाइल ईडीसीडी पठाउने तयारी छ ।
बीमा कम्पनीहरुले निजी ल्याबका परीक्षण रिपोर्टहरु रुजु गर्न ईडीसीडी पठाउने गरेका छन् । रिपोर्ट सही भएको प्रमाणित भएर आएपछि कम्पनीहरुले भुक्तानी प्रक्रिया अघि बढाउँछन् । श्वास्थ्य मन्त्रालय मातहतका ल्याबमा गरिएको परीक्षण भने रुजु गराउन पर्दैन ।
तुलनात्मक हिसाबले भुक्तानी दर बढेपनि भुक्तानी नपाउनेको संख्या ठूलो छ । आवश्यक सबै कागजात बुझाएर पनि भुक्तानी नपाउनेको संख्या १२ हजार ४१३ छ
७४ जनाले दावी भुक्तानी नपाउने
कोरोना बीमा रकमका लागि दावी पेश गरेका ७४ जनाले भने रकम नपाउने भएका छन् । बिमक संघका अनुसार, कसैको दोहोरो दाबी परेको र कतिपय मापदण्डसमेत नपुगेको कारण उनीहरुले भुक्तानी नपाउने भएका हुन् ।
दुई कम्पनीमा बीमा गरेको भए पनि कुनै एक कम्पनीबाट मात्रै भुक्तानी पाइन्छ । कतिपयले दुई कम्पनीमा बीमा गरेर दुबैतिर दावी पेश गरेको भेटिएको बिमक संघले जनाएको छ । संघका अनुसार, बीमा गरेको १५ दिनपछि कोरोना लागेको अवस्थामा मात्रै कोरोना बीमा दावी गर्न सकिने व्यवस्था छ । कतिपयले यो मापदण्ड पनि पूरा नगरेको संघको भनाइ छ ।
बिमक संघका अनुसार १ हजार ८९२ जनाले कागजात पूरा नगरी दाबी प्रस्तुत गरेको पाइएको छ । त्यस्ता फाइल सम्बन्धीत कम्पनीमा फर्काइएको संघले जनाएको छ ।
प्रक्रिया सहज भएको हो ?
केही समय अघिसम्म कोरोना बीमाको भुक्तानी ठप्प प्राय थियो । भुक्तानी नै रोकिएपछि बीमा कम्पनीहरुको ब्यापक आलोचना भएको थियो । यस विषयमा अर्थमन्त्री विष्णु पौडेलले समेत चासो राख्दै ७ दिनभित्रै भुक्तानी दिन निर्देशन दिएका थिए ।
तर ७ दिनमा भुक्तानी हुनै नसकेपछि अर्थमन्त्रीले ३ दिनमा भुक्तानी दिन दोस्रो निर्देशन दिएपछि बढीमा ९०० जनाले भुक्तानी पाए । त्यसपछि अर्थमन्त्रीको समेत आलोचना भयो ।
अर्थमन्त्रीबाट ३ दिनमा हुनै नसक्ने निर्देशन आएको बिमक संघका अधिकारीहरु बताउँछन् । ‘सम्बन्धित बीमा कम्पनीमा बुझाउने, बीमा कम्पनीले पुल म्यानेजरकहाँ लैजाने अनि त्यहाँबाट पनि ईडीसीडीमा पठाउनुपर्ने हुन्छ,’ संघका एक अधिकारी भन्छन्, ‘मन्त्रीज्यूले भने सस्तो लोकप्रियताका लागि तीन दिन भन्नु भएको थियो ।’
अहिले भुक्तानी दर बढेको उनी बताउँछन् । तुलनात्मक हिसाबले भुक्तानी दर बढेपनि भुक्तानी नपाउनेको संख्या ठूलो छ । आवश्यक सबै कागजात बुझाएर पनि भुक्तानी नपाउनेको संख्या १२ हजार ४१३ छ । दशैं अगाडि नै दावी पेश गरेकाले पनि भुक्तानी पाएका छैनन् ।
शिखर इन्स्योरेन्सको चाबहिल शाखामा कोरोना बीमा गराएका नेपाल राष्ट्रिय व्यवसायी महासंघका उपाध्यक्ष गोविन्द कार्की कागजात पेश गरेको तीन महिना पुग्न लागेको बताउँछन् । ‘पटक–पटक सम्पर्क गर्दा फाइल बीमा समितिमा पुगेको जवाफ आउँछ,’ उनी भन्छन्, ‘चाँडै आउँछ भन्छन्, यो दिन आउँछ भन्दैनन् ।’
बीमा समितिले ५०० रुपैयाँ तिरेर ५० हजार रुपैयाँ र एक हजार रुपैयाँ तिरेर एक लाख रुपैयाँको कोरोना बीमा गर्न सकिने व्यवस्था गरेको थियो । सामूहिक बीमा गर्दा भने ३०० तिरेर ५० हजार र ६०० तिरेर १ लाखको बीमा गर्न सकिने व्यवस्था थियो ।
तर, कोरोना धेरैलाई लागेपछि बीमा कम्पनीहरु आत्तिए । भुक्तानी गर्न नसकिने भन्दै बीमा समितिलाई पोलिसी खारेज गर्न सुझाएका बीमा कम्पनीहरुले अर्बौंको भुक्तानी रोकेर राखे । बीमा गरिसकेपछि भुक्तानी दिनैपर्ने निर्देशन समितिले दिएको थियो ।
सुरुमा कोभिड पोजिटिभ आउनेबित्तिकै बीमा गरेअनुसार भुक्तानी दिनपर्ने व्यवस्था थियो । तर, समितिले मापदण्ड संशोधन गरेर पोजिटिभ आए २५ प्रतिशत तत्कालै र ७५ प्रतिशत रकम अस्पताल वा होटल आइसोलेसनमा बसेको बिल भर्पाइ पेश गरेपछि दिने व्यवस्था गरेको छ । (साभार अनलाइन खबर)