शेयेर गर्नुहोस
काठमाडौं । सरकारले निलम्बित सांसद रेशम चौधरीको रिहाइको माग गर्दै आन्दोलनरत पक्षसँग वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको छ । मन्त्रिपरिषद्को बैठकले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई र सांसद भगवती चौधरी सदस्य रहेको ३ सदस्यीय वार्ता टोली गठन गरेको हो ।
बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले वार्ता समितिले आजैबाट संवाद सुरु गर्ने बताए । रेशम चौधरीलाई रिहाइको माग गर्दै केही दिनअघिदेखि थारु कल्याणकारिणी सभा, थारुवान–थरुहट संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले राजधानीको माइतीघरमा धर्ना दिँदै आएको छ । सो पक्षले चौधरीको रिहाइसहित १९ बुँदे माग अघि सारेको छ ।
यसअघि, आन्दोलनरत पक्षलाई मनाउन गृहमन्त्री रामबहादुर थापा रेशम चौधरी र लक्ष्मण चौधरी लगायतको मुद्दा खारेजका लागि आयोजित विरोध सभामा नै सहभागी भएका छन् । माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा सहभागी थापाले सडकमा बसेर उनीहरुलाई सम्बोधन गरेका थिए । ( साभारः रातोपाटी)