शेयेर गर्नुहोस
धनगढी । कैलाली र कञ्चनपुरमा नेपाल प्रहरीका सिबिल घुमुवाहरुले असुली धन्दा चलाइरहेको भन्दे नेपाल पत्रकार महासंघ कैलाली शाखामा पत्र आएको छ ।
हुलाक कार्यालय कैलाली मार्फत नेपाल पत्रकार महासंघ कैलाली शाखामा धनबहादुर बोहराको नामबाट प्राप्त पत्रमा प्रहरीको सुदूरपश्चिम आरआईटी, जिल्ला प्रहरी र वडा प्रहरी कार्यालयको घुमुवा प्रहरीले असुली धन्दा चलाएको आरोप लगाइएको हो ।
आरआईटीका प्रहरी, जिल्ला र वडा प्रहरीको सिबिल धुमुवाहरु असुली धन्दा प्रत्येक ठाउँमा तस्करहरुसँग मिलेर रातिको समयमा भारतबाट मालसामान ओसार प्रसार गर्न संलग्न हुन गरेकोलगायतका आरोप लगाइएको छ ।
उनीहरुले प्रहरीका हाकिमहरुलाई गुमराहमा राखेर बदनाम गराउने काम पनि गरिरहेको पत्रमा उल्लेख छ। सादा पोशाकमा रहेका प्रहरीहरुले चोरीका बाइक प्रयोग गरेर असुली धन्दा गर्ने गरेको आरोप लगाइएको छ ।
कुन प्रहरीलाई कस्तो आरोप ?
आरआइटीका हाकिमले कैलालीका विभिन्न तस्करहरुबाट रकम असुली गर्ने गराउने गरेको ।
बिष्ट थरी सईले तस्करहरुसँग रकम असुली गर्ने गरेको तस्करहरुलाई मासिक रुपले पैसा दिनुपर्छ भनि पैसा मागेको ।
उपाध्याय थरका सईले कनरीगाउँ चौधरीको घरमा गएर जबरजस्ती करणी गर्न खोजेको र जिल्ला प्रहरी कार्यालयमा आएर मिलापत्र गरेको र हाल तस्करहरुसँग रकम असुल गर्ने गरेको ।
सहायक हवल्दार भरत सिंह ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा रही चोरीका बाईक तस्करी गर्दा विवादमा आएको र हाल आएर आरआईटीमा रातिको समयमा तस्करहरुसँग मिलेर तस्करी गर्ने गरेको ।
बरिष्ठ हवल्दार लालबहादुर चन्दले आफन्तहरुलाई छोड्ने र अरुलाई पाँच किलो चिनी समातेर रोडमा फाल्ने गरेको र आफू आएर चौराहमा बस्ने र विभिन्न व्यक्तिलाई भगाउने गरेको र तस्करहरुलाई रातिको समयमा तस्कर गर्न लगाउने र पैसा असुली गर्ने ।
वरिष्ठ सई रमेश खड्का आफ्नो एरियाबाट क्यारिङ गराउने गरेको र निजहरुबाट मासिक रुपले असुली गर्ने गरेको । दाजुभाई होटल, रारा होटल लगायतका होटल साहुबाट अनैतिक क्रियाकलाप गराएर पैसा असुल गर्ने गरेको ।
सहायक हल्दार सुरेन्द्र साहु बजारका प्रत्येक साहुहरुसँग रक्सी र पैसा असुल गर्ने गरेको र चोरीका मोटरसाइकल चलाउने गरेको तथा देहव्यापार गराउने होटलबाट रकम उपर गर्ने गरेको ।
ट्राफिक त्रिनगरका असई महता प्रत्येक ट्रेक्टरबाट एक हजार लिने गरेको र रिन्यू फेल भएका अटो रिक्साबाट जरिवाना नगराई पैसा असुल गर्ने गरेको ।
पत्रमा ‘पदम थापाको टिम जस्तै यस्ता चोरहरुलाई पनि डाँडा कटाउनु पर्छ’ भनिएको छ। तर पदम थापा को हुन् भनेर केही उल्लेख छैन ।
यस्तै पत्रमा प्रहरीले दशै तिहारमा पैसा, रक्सी, उठाएर खाएको र अहिले सबै नाकाबाट तस्करी गराएर पैसा उठाउने गरेको आरोप पनि लगाइएको छ । उनीहरुले तस्करहरुबाट ‘हामी मिलाउँछु’ भनेर ५ लाखदेखि ७ लाखसम्म पैसा उठाएको आरोप पनि छ ।
यद्यपि यसमा प्रहरीको नाम लेखिएको छैन ।
प्रहरीले टिकापुर नाका, जोशीपुर, भजनी, रामपुर, हसुलिया, फुलबारी, जुगेडा, शान्तिनगर, त्रिनगर, डोकेबजार, खड्डा, कडकड, त्रिभुवनवस्ती, आईबिआडी, फट्टा, टेडुवा, बेलौरी, पचुई, भुडा, बेलडाँडी र झिलमिला सबैठाउँबाट असुली गर्ने गरेको आरोप लगाइएको छ ।
यी घटनाहरुमा संलग्न प्रहरीमाथि अनुसन्धान गरेर कारबाही गर्न मागसमेत गरिएको छ ।
(साभारः महेन्द्रनगर पोष्ट)










