शेयेर गर्नुहोस
यज्ञराज उपाध्याय, टीकापुर । कैलालीको टीकापुर क्षेत्रमा लागूऔषध दुर्व्यसनी बढ्दै गएको छ । लागूऔषध दुर्व्यसनी बढ्न थालेपछि प्रहरीको सक्रियता पनि बढ्न थालेको छ ।
ईलाका प्रहरी कार्यालय टीकापुरको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखी माघ अन्तिमसम्मको ६ महिनाको अवधिका गत आर्थिक वर्षको यहि समयको भन्दा दुई गुणाभन्दा बढीले लागूऔषध सेवनकर्ता र कारोबारी बढेको देखिन्छ । चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा ३५ वटा मुद्दा दर्ता भएको र ५३ जना पक्राउ परेको टीकापुर प्रहरीको तथ्यांकमा उल्लेख छ ।
गत आर्थिक वर्षको यहि ६ महिनाको अवधिमा १४ मुद्दा दर्ता हुँदा २० जना पक्राउ परेका थिए । यसको तुलनामा अहिले दुई गुणा भन्दा बढीले लागूऔषध बढेको देखिन्छ । प्रहरीको सक्रियता बढेसंगै बढी पक्राउ परेको र त्यसैअनुसार बढी मुद्दा दर्ता भएको जनाइएको छ ।
टीकापुर क्षेत्रको लागूऔषध दुर्व्यसनीको अवस्थाका विषयमा ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) विश्वराज अधिकारी लागूऔषध दुर्व्यसन घटेको वा बढेको भन्दा पनि प्रहरीको सक्रियता कस्तो छ त्यसैमा भर पर्ने बताएका छन् । उनले अहिले ठाउँ ठाउँमा प्रहरी परिचालन, गस्ती, समुदाय र विद्यालयहरुमा सचेतना अभियानले यो क्षेत्रका नागरिक सचेत हुँदै गएपछी बढी मान्छे पक्राउ परेको बताए ।
पक्राउ गरेर मुद्दा दर्ता गर्नका लागि मात्र भन्दा पनि यस क्षेत्रमा युवाहरुलाई लागूऔषधको लतै लाग्नबाट जोगाउने गरेर अभियान सञ्चालन गरिएको उनको भनाइ छ । अभियान प्रभावकारी बनाउन अभिभावक, विद्यार्थी, सचेत नागरिक सबैले साथ दिइरहेको र अझै सबैबाट सहयोगको अपेक्षा गरेको भन्दै लागूऔषध दुर्व्यसन रोक्न सर्वप्रथम अभिभावक चनाखो हुनुपर्ने बताए ।
‘अहिले यस क्षेत्रको लागूऔषध दुर्व्यसन रोक्न प्रहरीले निरन्तर अभियान सञ्चालन गरिरहेको छ, अहिले बढेको छ वा घटेको छ त्यो तपाईहरुले हेर्ने कुरा हो,’ उनले भने, ‘हाम्रो विचारमा प्रहरी धेरै सक्रिय भएकाले धेरै पक्राउ परेका हुन र यसमा सबैले साथ दिइरहनु भएको छ तर यसलाई न्यूनीकरण नै गर्ने हो भने पहिला अभिभावक चनाखो हुनुपर्छ, आफ्नो बच्चाको निगरानी गर्नुपर्छ ।’
लागूऔषध दुर्व्यसन घटेको वा बढेको हेर्न टीकापुरका सुधार गृहहरु हेर्न आग्रह गर्दै प्रहरीको सक्रियताले टीकापुर क्षेत्रका सेवनकर्ता पनि बाहिर गएर सेवन गएर आउने देखिएको डिएसपी अधिकारी जानकारी दिए । उनले तिनीहरुको फोटो र नाम सबै कार्यालयमा भएकाले निगरानी गरिरहेको बताए । उनीहरुलाई अब यस लतबाट टाढा राख्न अभिभावकले विषेश भुमिका निभाउनुपर्ने, गलत साथीको संगत गर्न छुटाउनु पर्ने र सकेसम्म केही समय अलि नयाँ ठाउँमा बस्नुपर्ने डिएसपी अधिकारीले सुझावसमेत दिएका छन् ।
टीकापुर प्रहरीले पक्राउ गरेका अधिकांश सेवनकर्ता यसै क्षेत्रका हुन् । यो भन्दा अलावा प्रहरीले केही भारतीय नागरिक र केही अन्य क्षेत्रकालाई समेत पक्राउ गरेर मुद्दा चलाएको छ ।















