रुसी सेनामा भर्ना भएका कञ्चनपुरका सिंह भागेर स्वदेश फर्किए

शेयेर गर्नुहोस

धनगढी । रुसी सेनामा भर्ना भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ का २४ वर्षीय सिजनबहादुर सिंह घर फर्किएका छन् । रुसी सेनाबाट भागेर उनी शुक्रबार भारतको दिल्ली हुँदै स्वदेश फर्किएका हुन् ।

‘पछिल्लो तीन महिनादेखि तलब पाइएन । खाना नपाएर साह्रै गाह्रो भयो । रुसी सेनाले नेपालीसँग भएको पैसा, खाना लुट्ने र अग्रमोर्चामा युद्धका लागि खटाउँथे,’ उनले भने, ‘त्यसपछि भागेर आएको हुँ ।’ उनी रुस–युक्रेन युद्धमा अग्रमोर्चामा खटिएका थिए । उनी अन्य १० जना साथीसँगै गत भदौ १ गते ‘भिजिट भिसा’मा रुस गएर सेनामा भर्ती भएका थिए । परिवारका जेठा छोरा उनी ऋण तिर्न पैसा कमाउन अर्को ऋण काढेर रुसी सेनामा पुगेका थिए । घर फर्किँदा रित्तो हात हुनु परेको छ ।

‘घरमा ३० लाख ऋण थियो । बुबाले कमाएर तिर्न सक्ने अवस्था थिएन । स्वदेशमा पाइने २०/३० हजारको जागिरले ब्याज तिर्न पनि सकिँदैनथ्यो’, उनले भने, ‘परिवारको बाध्यताले युद्धको भुँवरीमा हामफालेँ तर सोचेकोजस्तो भएन ।’

सुरुवातमा रुसी सरकारले तलब दिए पनि पछिल्लो तीन महिनामा तलब पनि नदिएको र भोकभोकै काम गर्न नसकिने अवस्था आएपछि भागेर स्वदेश फिर्ता भएको उनले सुनाए । उनका अनुसार घर धितो राखेर सात लाख ५० हजार ऋण निकालेर रुस हानिएका हुन् । सँगै रुस गएका अन्य १० साथी युद्धभूमिमै ढलेको उनी बताउँछन् ।

‘त्यहाँको अवस्था देख्दा बाँचिएला सोचेकै थिएन । सँगैका सबै साथी मरे । डराएर म पछि पछि लागेर युद्धमा जाने हुनाले बचेँ,’ उनले भने, ‘दैनिक ५०÷६० जना नेपाली सैनिकमा भर्ती हुन पुग्थे ।’ मासिक अढाई लाखदेखि पाँच लाखसम्म आम्दानीलगायत प्रलोभनमा परेर रुसी सेनामा भर्ना भइरहेको उनको भनाइ छ । केही महिनाको सैन्य तालिमपछि युद्धका लागि परिचालन गरिएको उनले बताए ।

युद्ध लडिरहेको रुसी सेनाको फौजबाट भागेर राजधानी मस्को पुगेका सिंह घरबाट पैसा मगाएर दिल्ली हुँदै स्वदेश पुगेका हुन् । मस्कोमा एक दलाललाई दुई लाख ५० हजार बुझाएर घर पुग्न सफल भएको उनले बताए । ‘तीनजना भागेर मस्को पुगेका थियौँ । सँगै दिल्लीको टिकट काटिएको थियो,’ सिंह भन्छन्, ‘तर विमानमा दिल्ली आउँदा एक्लै थिए । पछि बुझ्दा एक जनालाई अध्यागमनले समातेको रहेछ ।’ रुसी सेनामा भर्ना भएका नेपालीको अवस्था दयनीय रहेको उनले सुनाए।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *