शेयेर गर्नुहोस
बैतडी । नेपाल– भारत सीमा समन्वय बैठकमा झुलाघाट पुल विहान ६ बजेदेखि बेलुका ७ बजेसम्म खुल्ला राख्ने सहमति भएको छ । भारतको पिथौरागढमा सम्पन्न भएको समन्वय बैठकमा सअघि यो पुल विहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै खुल्ने गरेको पुल साँझ ७ बजे सम्म खोल्ने सहमति भएको हो ।
बैठकमा दुवै देशका सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणका विषयमा छलफल भएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।
भारतमा हुने लोकसभा चुनावलाई मध्यनजर गरेर सीमा क्षेत्रमा अपनाउनुपर्ने सतर्कता, मानव तथा वन्यजन्तु तस्करीमा रोक, लागुऔषध ओसारपसारमा रोकलगायत विषयमा पनि बैठकमा छलफल भएको छ । भारतमा यही अप्रिलमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गरेर चुनाव हुनुभन्दा ७२ घण्टाअगाडि सीमानाका बन्द गर्ने सहमति दुवै देशका अधिकारीबीच भएको जनाइएको छ ।
बैठकमा भारतीय पेन्सनधारी नेपालीलाई पेन्सन लिन सहज बनाउने, सीमा क्षेत्र भएर बग्ने महाकाली नदीको सरसफाइ, द्विपक्षीय सीमा क्षेत्रका विविध विषयमासमेत छलफल भएको छ । बैठकमा बैतडीका प्रजिअ शर्मा, दार्चुलाका प्रजिअ किरण जोशी, दुवै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । भारतका तर्फबाट पिथौरागढकी जिल्ला अधिकारी रीना जोशी, चम्पावतका जिल्ला अधिकारी नवनीत पाण्डेलगायत सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।















