शेयेर गर्नुहोस
अत्तरिया । मोहना अत्तरिया ६ लेन सडक अन्तरगत गोदावरी क्षेत्रमा राखिएका डिभाइडरका कारण सडक दुर्घटना भइरहेका छन् । दुर्घटना बढ्न थालेपछि धनगढी उपमहानगरपालिका क्षेत्रमा डिभाइडर हटाइएका भए पनि गोदावरी क्षेत्रमा भने डिभाइडर अझै सडकमै राखिएका छन् । सडक किनारामा साना सवारी साधन सञ्चालनका लागि डिजाइन गरेर डिभाइडर राखिएको भए पनि हाल सो क्षेत्रमा ठुला सवारी साधन पार्किङ गरिँदै आएको छ । डिभाइडर सँगै आवश्यक अन्य पूर्वाधार सडक लाइट, पार्किङ, ट्राफिक लाइट निर्माण नगरिँदा हाल तिनै डिभाइडरका कारण दुर्घटनाको जोखिम बढेको हो ।
स्थानीयले पटक पटक डिभाइडर हटाउन आग्रह गरे पनि नगरपालिकाले भने बेवास्ता गर्दै आएको छ । यातायात व्यवसायी राजेन्द्र खड्काले डिभाइडरका कारण दुर्घटनाको उच्च जोखिम रहेको बताए । ‘दुर्घटनाको जोखिमकै कारण धनगढी उपमहानगरपालिकाले डिभाइडर हटाइसकेको छ’ उनले भने ‘गोदावरी नगरपालिकालाई हामीले धेरै पटक डिभाइडर हटाउन भनिसकेका छौ । तर, नगरपालिकाले सडक सँग समन्वय गरेर हटाउने भन्दै आएको छ ।’ उनले डिभाइडर हटाउन नगरपालिकाले चासो नदिए सबै व्यवसायी मिलेर डेलिगेसन दिने योजना रहेको बताए । उनले नगरपालिकाले डिभाइडर हटाउन चाहेमा आफूहरू चन्दा उठाएर दिन पनि तयार रहेको बताए ।
सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख एसपी राजेन्द्र बहादुर बस्नेतले डिभाइडर हटाउनको लागि आफूहरूले पनि पहल गरिरहेको भए पनि बजेट अभावका कारण काम गर्न नसकिएको जानकारी पाएको बताए । ‘गोदावरी नगरपालिकामा बजेट नभएका कारणले डिभाइडर नहटेको हामीले बुझेका छौ’ उनले भने ‘यो सडकमा डिभाइडर उपयुक्त छैन । यसले सानो दुर्घटना हुँदा पनि ज्यानको जोखिम बढाएको छ ।’ उनले डिभाइडर तत्कालै हटाउन सके राम्रो हुने बताए । ‘ज्यान जोखिममा पर्छ भने बजेट ठुलो कुरा होइन’ उनले भने ‘नगरपालिकाले यसमा ध्यान दिन आवश्यक छ ।’
सुदूरपश्चिम प्रदेशका सांसद प्रकाश बमले नगरपालिका सँग समन्वय गरेर डिभाइडर हट्ने बताए । उनले ट्राफिक प्रहरी, प्रहरी र नगरपालिका बिच समन्वय भए डिभाइडर हट्ने बताए । आफूले पनि डिभाइडर हटाउन कुरा गर्ने उनको भनाइ छ ।
नगरका प्रवक्ता गोपाल दत्त भट्टले डिभाइडर हटाउनको लागि सडक डिभिजन कार्यालय सँग समन्वय गरिरहेको बताए । उनले डिभाइडर हटाउन एक हप्ता अगाडि मात्रै सडक डिभिजन कार्यालयका प्रमुख सँग कुरा गरेको भए पनि कहिले हटाउने भन्ने विषयमा भने स्पष्ट जवाफ नआएको बताए । उनले नगरपालिका आफैले पनि डिभाइडर हटाउन सक्ने भए पनि बजेटको अभाव रहेको बताए ।















