शेयेर गर्नुहोस
बैतडी । बैतडीमा श्रीमानले कोदालो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका–७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले आज (बिहीबार) आफ्नै श्रीमतीको कोदालो प्रहार गरेर हत्या गरेका हुन् ।
प्रहरी स्रोतकाअनुसार कोदालो प्रहारबाट उनकी ५६ वर्षीया श्रीमती पार्वती धामीको घाइते भएकी थिइन् । कोदालो प्रहारबाट घाइते भएकी उनको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
यस्तै जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी दिपक गिरीले धामीकै कुटपिटबाट दशरथचन्द नगरपालिका–९ घर भएर डिलाशैनी गाउँपालिकामा उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ वर्षीय सुभाष कलौनी र डिलाशैनी गाउँपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत २६ वर्षीय देवराज भट्ट पनि घाइते भएको जानकारी दिए ।
पालिकाका कर्मचारी धामीको घरमा भाडामा बस्ने गर्दथे । अहिले घाइतेहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको र उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ ।
घटना र विवादबारे थप विवरण भने खुलेको छैन । कुटपिट गर्नेलाई भने जिल्ला प्रहरी कार्यालय बैतडीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।















