शेयेर गर्नुहोस
काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा (एमाले)की विमला घिमिरे निर्वाचित भएकी छन् ।
बुधबार राष्ट्रियसभा बैठकमा उपाध्यक्षको निर्वाचनमा भएको मत विभाजनमा घिमिरे नेपाली कांग्रेसका उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।
५९ सदस्यीय राष्ट्रियसभामा ३९ मतसहित घिमिरे उपाध्यक्षमा निर्वाचित भएकी हुन् । उनलाई नेकपा एमाले, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका सांसदले मत दिएका छन् । उपाध्यक्षकी अर्की प्रतिस्पर्धी कांग्रेसकी पुडासैनीले १६ मतमात्र पाइन् । मतदानमा ५५ सदस्य सहभागी भएका थिए ।
मतदानअघि बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त पदमा नेपाली कांग्रेसका पुडासैनी र एमालेका घिमिरेलाई निर्वाचित गरियोस् भन्ने दुई प्रस्तावबारे जानकारी गराएका थिए । बैठकमा दुवै प्रस्तावका प्रस्तावक र समर्थकले मन्तव्य राखेपछि मत विभाजनमार्फत निर्वाचन भएको थियो ।