शेयेर गर्नुहोस
धनगढी । कैलाली र कञ्चनपुरबाट एकैदिन लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् ।
एक किशोरीसहित प्रहरीले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको हो । कैलालीको धनगढी उपमहानगरपालिका–९ मसानघाटबाट २ सय १० मिलिग्राम लागूऔषधसहित २५ वर्षीय दिनेश बोहरालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित बोहरालाई नियन्त्रणमा लिएको हो । त्यस्तै गोदावरी नगरपालिका–२ तेघरीबाट २ सय ५० मिलिग्राम लागूऔषधसहित थप एक जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–२ तेघरीका २५ वर्षीय बिजय लामा शनिबार दिउँसो पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले आफ्नै घरको कोठामा बसिरहेको अवस्थामा उनलाई लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो । उता कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरबाट शून्य दशमलव २२१ मिलिग्राम लागूऔषधसहित सोही स्थानका २८ वर्षीय हरिश जोशीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो । जिल्लाको बेलौरी नगरपालिका–६ बैशाखाबाट पनि १ दशमलव ६५ ग्राम लागूऔषधसहित एक किशोरी र एक युवकलाई पक्राउ गरिएको छ ।















