शेयेर गर्नुहोस
दार्चुला । दार्चुलाको खार–खलङ्गा–देथला सडक तीन सातादेखि अवरुद्ध छ । खलङ्गा–खार–देथला सडकखण्ड र गोकुलेश्वर–देथला हुँदै खार–खलङ्गा जोड्ने सडक बाढी र पहिरोका कारण ठाउँ ठाउँमा अवरुद्ध भएको हो । दुवैतर्फ सडक अवरुद्ध हुँदा नौगाड गाउँपालिकाका स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ ।
यही साउन ५ गते आएको बाढी पहिरोका कारण खार–खलङ्गा–देथला सडक अवरुद्ध भएको हो । सडकमा ग्राभेल गर्ने बेला बाढी पहिरोले अवरुद्ध गरेसँगै निर्माणको कार्य पनि ठप्प छ । प्रदेशको भौतिक पूर्वाधार कार्यालयअन्तर्गगत पूर्वाधार विकास कार्यालय बैतडीले यो सडक हेर्ने गर्छ ।
सडकको दुवैतर्फ कालोपत्रे र ग्राभेलका लागि गत आर्थिक वर्षको अन्तिममा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौतापछि ठेकेदार परिचालन हुने बित्तिकै बाढी पहिरो आएपछि यो सडकखण्ड तीन सातादेखि अवरुद्ध छ । अवरुद्ध सडकखण्ड खुलाउने प्रयास नहुँदा नौगाडका स्थानीयवासीलाई आवतजावत र खाद्यान्न ढुवानी गर्न समस्या भएको छ ।
खलङ्गा–खार सडकखण्डको मालभेला, डुङुरी, काटैलगायतका आधा दर्जन ठाउँमा सडक अवरुद्ध भएको पूर्वाधार विकास कार्यालय बैतडीका सव इन्जिनीयर दीपेन्द्र धानुकले बताए । “अवरुद्ध सडकको सर्वेक्षण गरेका छौँ,” उनले भने, “छिट्टै बाटो खुलाउने प्रयास हुन्छ । सडक पूर्णरूपमा सञ्चालन गर्न भने केही समय लाग्छ ।”
उनका अनुसार भत्किएको सडकखण्डको मूल्याङ्कन भइसकेको छ । “कार्यालयमा पेश गर्ने तयारी छ । कुनै ठाउँमा पर्खाल लगाउनुपर्ने र थप ब्याक कटिङ गर्नुपर्ने अवस्था देखिन्छ ।” धेरै ठाउँमा पर्खाल लगाएर पनि बाटो सञ्चालन गर्नुपर्ने अवस्था देखिएको धानुकले बताए ।
काटैभन्दा माथिल्लो क्षेत्रमा सडकमा कम क्षति पुगेको छ । खलङ्गा–खार सडकखण्डको झण्डै नौ किलोमिटर क्षेत्रमा ठेक्का सम्झौता भएर काम शुरु भएको अवस्थामा अवरुद्ध भएको हो । यो सडकखण्डमा ग्वालेक निर्माण सेवाले रु १८ करोड मा कालोपत्रको ठेक्का पाएको छ ।
यस्तै देथला हुँदै खार–खलङ्गा जोड्ने गरी कालोपत्रे भइरहेको छ । देथलादेखि माथिल्लो क्षेत्रमा छ किलोमिटर कालोपत्र भइसकेको अवस्थामा यो क्षेत्र पनि ठाउँठाउँमा खहरे खोला र पहिराले सडक अवरुद्ध भएको सव इन्जिनीयर धानुक बताउँछन् । “दुवैतर्फ सडक खुलाउन तत्काल प्रक्रिया अघि बढाउँछौँ”, उनले भने । सडक नहुँदा नौगाडमा भाडादर महँगो हुँदै जाँदा खाद्यान्नको मूल्यसमेत चर्को हुन थालेको छ ।
खलङ्गा–खार सडकखण्डको काटैसम्म बढी अवरुद्ध छ । उता नौगाड गाउँपालिकाको धुलीगडा, जामिर, खार, दल्लेख क्षेत्रमा सडक बढी अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउने विषयमा सरोकारवाला निकायको ध्यानाकर्षण गराउने काम भएको नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामीले बताए ।
अहिले सडक दुवैतर्फ अवरुद्ध छ । सडक नहुँदा अहिले पूरै नौगाडबासीलाई हिँडडुलमा समस्या भएको अध्यक्ष धामीको भनाइ छ । यो सडक प्रदेशको भौतिक मन्त्रालयले हेर्दै आएको छ । स्थानीय तहले खनेका सडक पनि अवरुद्ध भएकाले खुलाउने प्रयास भइरहेको अध्यक्ष धामीले बताए । रासस