बाढी-पहिरोका कारण दार्चुलाको खार–खलङ्गा–देथला सडक तीन सातादेखि अवरुद्ध

शेयेर गर्नुहोस

दार्चुला । दार्चुलाको खार–खलङ्गा–देथला सडक तीन सातादेखि अवरुद्ध छ । खलङ्गा–खार–देथला सडकखण्ड र गोकुलेश्वर–देथला हुँदै खार–खलङ्गा जोड्ने सडक बाढी र पहिरोका कारण ठाउँ ठाउँमा अवरुद्ध भएको हो । दुवैतर्फ सडक अवरुद्ध हुँदा नौगाड गाउँपालिकाका स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ ।

यही साउन ५ गते आएको बाढी पहिरोका कारण खार–खलङ्गा–देथला सडक अवरुद्ध भएको हो । सडकमा ग्राभेल गर्ने बेला बाढी पहिरोले अवरुद्ध गरेसँगै निर्माणको कार्य पनि ठप्प छ । प्रदेशको भौतिक पूर्वाधार कार्यालयअन्तर्गगत पूर्वाधार विकास कार्यालय बैतडीले यो सडक हेर्ने गर्छ ।

सडकको दुवैतर्फ कालोपत्रे र ग्राभेलका लागि गत आर्थिक वर्षको अन्तिममा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौतापछि ठेकेदार परिचालन हुने बित्तिकै बाढी पहिरो आएपछि यो सडकखण्ड तीन सातादेखि अवरुद्ध छ । अवरुद्ध सडकखण्ड खुलाउने प्रयास नहुँदा नौगाडका स्थानीयवासीलाई आवतजावत र खाद्यान्न ढुवानी गर्न समस्या भएको छ ।

खलङ्गा–खार सडकखण्डको मालभेला, डुङुरी, काटैलगायतका आधा दर्जन ठाउँमा सडक अवरुद्ध भएको पूर्वाधार विकास कार्यालय बैतडीका सव इन्जिनीयर दीपेन्द्र धानुकले बताए । “अवरुद्ध सडकको सर्वेक्षण गरेका छौँ,” उनले भने, “छिट्टै बाटो खुलाउने प्रयास हुन्छ । सडक पूर्णरूपमा सञ्चालन गर्न भने केही समय लाग्छ ।”

उनका अनुसार भत्किएको सडकखण्डको मूल्याङ्कन भइसकेको छ । “कार्यालयमा पेश गर्ने तयारी छ । कुनै ठाउँमा पर्खाल लगाउनुपर्ने र थप ब्याक कटिङ गर्नुपर्ने अवस्था देखिन्छ ।” धेरै ठाउँमा पर्खाल लगाएर पनि बाटो सञ्चालन गर्नुपर्ने अवस्था देखिएको धानुकले बताए ।

काटैभन्दा माथिल्लो क्षेत्रमा सडकमा कम क्षति पुगेको छ । खलङ्गा–खार सडकखण्डको झण्डै नौ किलोमिटर क्षेत्रमा ठेक्का सम्झौता भएर काम शुरु भएको अवस्थामा अवरुद्ध भएको हो । यो सडकखण्डमा ग्वालेक निर्माण सेवाले रु १८ करोड मा कालोपत्रको ठेक्का पाएको छ ।

यस्तै देथला हुँदै खार–खलङ्गा जोड्ने गरी कालोपत्रे भइरहेको छ । देथलादेखि माथिल्लो क्षेत्रमा छ किलोमिटर कालोपत्र भइसकेको अवस्थामा यो क्षेत्र पनि ठाउँठाउँमा खहरे खोला र पहिराले सडक अवरुद्ध भएको सव इन्जिनीयर धानुक बताउँछन् । “दुवैतर्फ सडक खुलाउन तत्काल प्रक्रिया अघि बढाउँछौँ”, उनले भने । सडक नहुँदा नौगाडमा भाडादर महँगो हुँदै जाँदा खाद्यान्नको मूल्यसमेत चर्को हुन थालेको छ ।

खलङ्गा–खार सडकखण्डको काटैसम्म बढी अवरुद्ध छ । उता नौगाड गाउँपालिकाको धुलीगडा, जामिर, खार, दल्लेख क्षेत्रमा सडक बढी अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउने विषयमा सरोकारवाला निकायको ध्यानाकर्षण गराउने काम भएको नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामीले बताए ।

अहिले सडक दुवैतर्फ अवरुद्ध छ । सडक नहुँदा अहिले पूरै नौगाडबासीलाई हिँडडुलमा समस्या भएको अध्यक्ष धामीको भनाइ छ । यो सडक प्रदेशको भौतिक मन्त्रालयले हेर्दै आएको छ । स्थानीय तहले खनेका सडक पनि अवरुद्ध भएकाले खुलाउने प्रयास भइरहेको अध्यक्ष धामीले बताए । रासस

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *