शेयेर गर्नुहोस
धनगढी । नेपाल पत्रकार महासंघको सदस्यता नामावली सच्याउन माग गरिएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष योगेश रावलसहित प्रदेशका सबै जिल्लाका अध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी गर्दै महासंघ सदस्यता नामावली सच्याउन माग गरेका हुन ।
महासंघ केन्द्रीय समितिले जेठ २६ गते हुने संघ, प्रदेश र जिल्ला शाखा निर्वाचनका लागि साधारण सदस्यहरुको नामावली सार्वजनिक गरेको थियो । केन्द्रीय समितिले सार्वजनिक गरेको नामावलीमा जिल्ला र प्रदेशले सिफारिस गरेका बाहेक अन्य सदस्य पनि थपिएर आएपछि असन्तुष्टि बढेको हो । जिल्ला र प्रदेशबाट नयाँ सदस्यताका लागि सिफारिस गरेकाहरुलाई भन्दा आफुअनुकुलका व्यक्तिलाई सदस्यता दिएर नामावली सार्वजनिक गरिएको भन्दै विरोध भएको छ ।
पत्रकार महासंघ सुदूरपश्चिम र मातहतका जिल्ला शाखाहरुले उक्त विषयमा विरोध जनाउदै विज्ञप्ती जारी गरेर केन्द्रले सार्वजनिक गरेको नामावली सच्याउन माग गरेका हुन ।
उक्त विज्ञप्तीमा प्रदेश अध्यक्ष रावल सहित कैलाली शाखा अध्यक्ष हिमालय जोशी, बझाङ शाखा अध्यक्ष शैलेन्द्र रोकाया, डोटी शाखा अध्यक्ष मोहन शाही, बाजुरा शाखा अध्यक्ष छक्क मल्ल, अछाम शाखा अध्यक्ष खम्म खत्री, बैतडी शाखा अध्यक्ष खगेन्द्र अवस्थी, कञ्चनपुर शाखा अध्यक्ष माधव धामी, दार्चुला शाखा अध्यक्ष कृष्ण धामी र डडेल्धुरा शाखा अध्यक्ष हिक्मतबहादुर सिंहले हस्ताक्षर गरेका छन ।
नामावली सच्याउने काम नभए कुनै पनि गतिविधि सञ्चालन गर्न नसकिने विज्ञप्तिमार्फत भनिएको छ । यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितीको जिम्मेवारी पत्रकार महासंघ केन्द्रिय समितिले नै लिनुपर्ने चेतावनी समेत जिल्ला शाखा र प्रदेश समितिले दिएको छ ।
















