शेयेर गर्नुहोस
टीकापुर । कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार आज चट्याङ लागेर जोशीपुर गाउँपालिका–३ भितरीयाका ३२ वर्षीय जयराम डंगौराको मृत्यु भएको हो ।
खेतमा काम गरिरहेका बेला चट्याङ लागेर घाइते भएका डंगौराको स्थानीय मेडिकल महापार्वतीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यसैगरी धनगढी उपमहानगरपालिका–१८ बस्ने २७ वर्षीय शालिम चौधरी आफ्नै घर नजिक रहेको खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागेर घाइते भएकामा सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
चट्याङ लागेर घाइते हुनेहरुमा जानकी गाउँपालिका–४ बेलपुर बस्ने २९ वर्षीया रिता कठरिया, २३ वर्षीया सुस्मा डगौरा, भजनी नगरपालिका–६ बस्ने ५५ वर्षीय रामबहादुर चौधरी, घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने ९ वर्षीया सरस्वती भुल, सोही ठाउँकी ७ वर्षीया पारु कठायत र १० वर्षीया खिमा कठायत रहेका प्रहरीले जानकारी दिएको छ ।















