शेयेर गर्नुहोस
यज्ञराज उपाध्याय, टीकापुर । ईलाका प्रहरी कार्यालय टीकापुरमा गत आर्थिक वर्ष ०८०/८१ मा दुई सय ४ वटा मुद्दा दर्ता भएका छन् । गत वर्षको साउन १ गतेदेखी ०८१ को असार ३१ गतेसम्म दुई सय ४ वटा मुद्दा दर्ता भएका हुन् ।
ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) लोकराज अवस्थीले उक्त एक वर्षको तथ्यांक दिँदै दुई सय ४ मुद्दा दर्ता हुँदा एक सय ९९ जनालाई पक्राउ गरिएको बताए । जसमा एक सय ९० पुरुष र ९ जना महिला रहेका छन् ।
उनले सबैभन्दा धेरै लागूऔषधका मुद्दा दर्ता भएको बताउदै सोही मुद्दा शिर्षकमा धेरै जना पक्राउ परेको जानकारी दिए । उनका अनुसार लागूऔषधमा गत आव ०८०/८१ मा ५८ वटा मुद्दा दर्ता हुँदा ८२ जना पक्राउ परेका हुन् । त्यसभन्दा अघिल्लो आर्थिक वर्ष ०७९/८० मा लागूऔषधमा ५१ वटा मुद्दा दर्ता भएकोमा ६७ जना पक्राउ परेका थिए ।
इन्स्पेक्टर अवस्थीले दिएको तथ्यांकमा लागूऔषधपछि झुन्डिएर आत्महत्या शिर्षकमा बढी मुद्दा दर्ता भएको देखिन्छ । उक्त मुद्दा शिर्षकमा ३० वटा मुद्दा दर्ता भएका छन् । अभद्र व्यवहारमा २६ वटा मुद्दा दर्ता भएकोमा ३६ जना पक्राउ परेका छन् भने भवितब्य ज्यानमा २४ वटा मुद्दा दर्ता भएका छन् ।
त्यस्तै बैंकिङ कसुरमा १३ वटा मुद्दा दर्ता हुँदा २ जना मात्र पक्राउ परेको तथ्यांकमा उल्लेख छ । फुटकर ज्यान शिर्षकमा १० वटा मुद्दा दर्ता भएका छन् । ज्यान मार्ने उद्योगमा ८ वटा मुद्दा दर्ता हुँदा १८ जना पक्राउ, जबर्जस्ति करणीमा ८ वटा मुद्दा दर्ता हुँदा ९ जना पक्राउ परेका छन् ।
कर्तव्य ज्यान शिर्षकमा ५ वटा मुद्दा दर्ता हुँदा ६ पुरुष, ५ महिलासहित १० जना पक्राउ र डाका चोरी शिर्षकमा ५ वटा मुद्दा दर्ता हुँदा १० जना पक्राउ परेका छन् । सवारीबाट भवितव्य ज्यान र बिष सेवन, आत्महत्या दुरुत्साहनमा एक/एक वटा मुद्दा दर्ता भएका छन् ।
वैवाहिक करणीमा एक वटा मुद्दा दर्ता र एक जना पक्राउ, गर्भपतनबाट कर्तव्यमा परिणत शिर्षकमा एक वटा मुद्दा दर्ता र एक महिलासहित दुईजना पक्राउ, नकबजनी चोरीमा एक वटा मुद्दा दर्ता र दुई जना पक्राउ, साधारण चोरीमा दुई वटा मुद्दा दर्ता र दुई जना पक्राउ, सवारी ज्यानमा तीन वटा मुद्दा दर्ता र दुई जना पक्राउ, ठगीमा दुई वटा मुद्दा दर्ता र एक जना पक्राउ, जुवामा दुई वटा मुद्दा दर्ता र २० जना पक्राउ परेका छन् ।
इन्स्पेक्टरका अवस्थीका अनुसार अदालतको फैसला कार्यान्वयनको क्रममा ०८०/८१ मा ७८ जना फरार प्रतिवादीसमेत पक्राउ गरिएको छ । जबकी अघिल्लो आर्थिक वर्ष ०७९/८० मा १८ जना फरार प्रतिवादी पक्राउ परेका थिए । तर मुद्दा दर्ता संख्यामा भने अघिल्ला आर्थिक वर्ष भन्दा केही कमी भएको देखिन्छ । ईलाका प्रहरी कार्यालय टीकापुरको त्रिवर्षीय तालिका हेर्दा ०७८/७९ मा दुई सय १७ वटा मुद्दा दर्ता, ०७९/८० मा दुई सय १४ वटा मुद्दा दर्ता र ०८०/८१ मा दुई सय ४ मुद्दा दर्ता भएका छन् । यो तालिकाले क्रमशः मुद्दा दर्ता संख्या घटिरहेको देखाएको छ ।