शेयेर गर्नुहोस
धनगढी । मंगलवार सुदूरपश्चिम प्रदेशका ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशाला, डडेल्धुरा अस्पतालको प्रयोगशाला र काठमाडौँस्थित प्रयोगशालामा भएको परीक्षणमा आज ५० जनामा संक्रमण पुष्टि भएको हो ।
डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा २४७ जनाको कोरोना परीक्षण भएकोमा ४६ जनामा संक्रमण देखिएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भुषालका अनुसार संक्रमित सबै डोटी जिल्लाका हुन् ।
जिल्लाको शिखर नगरपालिका–१० का १६ जना, ९ का १४ जना, ७ का १३ जना र १ का दुई र दिपायल सिलगढी नगरपालिका–८ का एक जनामा संक्रमण पुष्टि भएको उनले बताए ।
उता काठमाडौँमा भएको परीक्षणमा दार्चुलाका दुई र कञ्चनपुरका एक गरी सुदूरपश्चिमका तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यता सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय ४९ जनाको कोरोना परीक्षण भएकोमा एक जनामा मात्र संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । संक्रमण पुष्टि भएका व्यक्ति कैलालीको जोशीपुर गाउँपालिका–७ का ३५ बर्षीय पुरुष हुन् ।
मंगलवार ५० जनामा कोरोना पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार ७६ पुगेको छ । सबैभन्दा बढि कैलालीमा एक हजार तीन सय १७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । डोटीमा ८ सय ८१, अछाममा सात सय ३७, बाजुरामा ६ सय २३ र कञ्चनपुरमा ५ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै डडेल्धुराका तीन सय १४, बैतडीका तीन सय एक, बझाङका दुई सय ९८ र दार्चुलाका ४७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका चार हजार दुई सय बढि डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।