शेयेर गर्नुहोस
काठमाडौं । नेपालमा एकैदिन थप एक हजार १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो अहिलसम्मकै सर्वाधिक संख्या हो ।
पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट यति धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २८ हजार २५७ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या पनि बढ्दो छ । कोरोना भाइरसको संक्रमणबाट एकैदिन थप सात जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ।
मंगलबार कोरोनाका कारण मृत्यु पुष्टि भएका व्यक्तिमध्ये ६ जना पुरुष र एक जना महिला रहेका छन् । काभ्रे जिल्लाको धुलिखेल नगरपालिका घर भई काठमाडौंको बानेश्वर निवासी ८९ वर्षीय एक पुरुषको भाद्र १ गते राति धुलिखेल अस्पतालमा निधन भएको थियो ।
त्यस्तै नवलपरासीको रामग्राम बस्ने ३७ वर्षीय पुरुषको भाद्र २ गते बिहान ललितपुरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान निधन भएको हो । मोरङको विराटनगरका ४७ वर्षीय पुरुषको भाद्र १ गते कोशी अस्पतालमा निधन भएको थियो भने धनुषाको धनौजीका ६५ वर्षीय पुरुषको भाद्र १ गते प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको थियो ।
यस्तै कास्कीको पोखराका ८७ वर्षीय पुरुषको भाद्र २ गते बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र तनहुँको व्यास नगरपालिकाका ५० वर्षीया महिलाको भाद्र १ गते राति पोखरास्थित सेवा अस्पतालमा निधन भएको थियो । मृतक सबैमा केही न केही स्वास्थ्य समस्या भएकै कारण कोरोनाका कारण मृत्यु भएको देखिन्छ ।