शीतल सामुदायिक वनः सचिवबाट एक महिनामै राजिनामा दिएका बुढा अध्यक्ष चयन

शेयेर गर्नुहोस

यज्ञराज उपाध्याय÷टीकापुर, ८ फागुन । कैलालीको टीकापुर नगरपालिका–२ राजिपुरमा रहेको शीतल सामुदायिक वन उपभोक्ता समितिले लामो समयपछि नयाँ नेतृत्व पाउने भएको छ । सामुदायिक वनले नयाँ कार्यसमिति पाउने भएपनि अहिले साधारणसभाबाट चयन कार्यसमितिलाई मुर्तरुप दिनका लागि कानुनअनुसार बहुमत उपभोक्ताको सहमति जुटाएर सब(डिभिजन वन कार्यालय टीकापुरमा कागजात पठाउन बाँकी रहेको छ ।

करिब १५ वर्षदेखि उपभोक्ता समितिको नेतृत्व गर्दै आएका सिद्ध ठकुल्लाले गत कार्यसमितिमै काम गर्ने वातावरण नभएको भन्दै वनमा अनुपस्थिति जनाएको पछि शनिबारको साधारण सभाबाट तत्कालीन कार्यसमितिमा सचिव भएको एक महिनामै राजिनामा दिएका कर्ण बुढा अध्यक्षमा प्रस्तावित भएका हुन् ।

पूर्व अध्यक्ष ठकुल्लाकै प्रस्तावमा बुढाले वनको नेतृत्व गर्ने अवसर पाएका हुन् । अघिल्लो कार्यसमितिमा वनलाई सुधार गर्नुपर्ने सन्दर्भका आफ्ना प्रस्तावमा सहमति भएर पनि कार्यान्वयन नगरिएको भन्दै ७ जनालाई साथमा लिएर बुढाले एक महिनामै राजिनामा दिएका थिए । त्यसपछि उनी वनतर्फ फर्केर पनि नगएको आफै स्विकार्छन । पुर्वअध्यक्ष ठकुल्ला पनि वनमा काठ चोरी भएपछि घरायसी काम देखाउदै उपाध्यक्षलाई कार्यवाहक दिएर विदामा बसे र त्यसपश्चात बुढासहितका सदस्यहरुले राजिनामा दिएको थाहा पाएपछी आफुले वन चलाउन नसक्ने भन्दै वनतर्फ हेर्नै छाडिदिए । उनैको कार्यकालमा धेरै पटक काठ चोरीका साथ आर्थिक हिनामिना भएको आरोपसमेत लाग्ने गरेको छ ।

उपाध्यक्षलाई कार्यवाहक दिएर चार महिनाका लागि विदामा बसेको केही समयपश्चात उपाध्यक्ष पनि स्वास्थ्य समस्या देखाउदै काठमाडौं गएपछी नेतृत्वबिहिन बनेको सामुदायिक वन सदस्य सचिवको भरमा रहेको थियो । वनभित्र यो अवधिमा के कस्ता काम भए, कति आर्थिक हिनामिना भयो यकिन कसैलाई थाहा छैन । साधारणसभाको अघिल्लो दिनमात्र वर्तमान अध्यक्ष बुढाले वनभित्र व्यापक हिनामिना भएको स्विकार्दै अब वनको आर्थिक कारोबार बैंकिङ गर्नुपर्ने लगायत प्रस्तावमा सहमति भएपनि कार्यान्वयन नभएपछी आफ्नो नेतृत्वमा ८ सदस्यले राजिनामा बुझाएको बताएका थिए ।

यता पुर्व अध्यक्ष ठकुल्लाले साधारणसभा अघि आफ्नो कार्यकालमा आर्थिक हिनामिना केही नभएको दाबी गरेका छन् । उनले लामो समय वनको नेतृत्व गरिसकेकोले अब अरुलाई अवसर दिने बताएका थिए । उनले आफू कृषि संगै व्यवसायमा पनि लागेकाले समय दिन नसक्ने भन्दै तत्कालीन सचिव बुढासहितका सदस्यको राजिनामाका सम्बन्ध धेरै पछि थाहा पाएको बताएका हुन् । बहुमत सदस्यले राजीनामा दिएपछी आफुले वन चलाउन नसक्ने भन्दै जानै छाडेको उनले स्विकारे ।

साधारणसभा अघिसम्म एक अर्काका बारेमा थाहा नभएको बताउने ठकुल्ला र बुढाको रातारातको मिलन अचम्मको भएको एक उपभोक्ताले बताएका छन् । नाम नखोल्ने सर्तमा उनले ठकुल्लाले आफ्नो पालाको हिनामिनाबारे सुचना बाहिर आउनसक्ने आशंका भएपछी बुढालाई अध्यक्ष बनाएको दाबी गरे । आफ्ना कुरा बाहिर ल्याइदिने डरले बुढालाई अध्यक्ष बनाएर चुप बनाउन खोजेको आरोप लगाउदै नयाँ कार्यसमितिले पहिले भएका सबै हिनामिनाको फाइल खोलेर दोषीलाई कारबाही गर्नुपर्ने बताए ।

अहिले चयन भएका अध्यक्ष बुढाले पुर्वअध्यक्ष ठकुल्लासहितका अन्य सदस्य र केही उपभोक्ताबीचको छलफलमा अध्यक्ष बनेको बताए । उनले वनमा सुधारका कामहरु गर्न एक वर्ष अध्यक्ष बनाउन आग्रह गरेपछि सहमति अनुसार आफू तयार भएको बताए । तर पनि आधिकारिक रुपमा कोरम पुर्‍याएर वन कार्यालयलाई कागजात पठाउन बाँकी नै रहेकाले सबै उपभोक्तासम्म पुग्ने काम भइरहेको उनले जानकारी दिए ।

उनले पुर्वअध्यक्षको पालाको अडिट रिपोर्ट आफुले पहिला एकपटक पनि हेर्न नपाएको भन्दै शनिबार भएको साधारणसभाको दिनमात्र देखेकाले त्यो अध्ययन नगरी हावातालमा हस्ताक्षर नगर्ने भन्दै नगरेको बताए । बुढाले आर्थिक हिनामिनाका सन्दर्भमा विधिवत रुपमा अध्यक्ष भइसकेपछि कार्यसमिति बैठक बसेर छलफल गरिने बताउदै अघिल्ला कार्यसमितिहरुका आर्थिक हिनामिनामा आफू संलग्न नरहेको दाबीसमेत गरे ।

नव गठित कार्यसमितिमा अध्यक्षमा बुढासहित सचिव सन्देश चौधरी, उपसचिव कटक थापा, सदस्यहरु बिक्रम साउद, हेमन्त सेठी, धुर्व परियार, रमिता चौधरी, रेणुका नगार्जी, भगवती रावल, ठाकुर प्रसाद चौधरी रहेका छन् भने उपाध्यक्ष, कोषाध्यक्ष र तीन सदस्य चयन बाँकी रहेको छ ।

ताजा खबर

कैलाली सीमा नाकाबाट लागू औषध सहित २ जना पक्राउ

कैलालीमा लागू औषध सहित ३ जना पक्राउ

कैलालीको टीकापुरबाट लागूऔषध सहित एकजना पक्राउ

कैलालीका सीमा नाकामा प्रहरीको कडाई

amazed