शेयेर गर्नुहोस
धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले बोल्दा बोल्दै पद गएको हुन सक्ने बताएका छन् ।
उनले धनगढीमा सञ्चारिका समूहले आयोजना गरेको लैङ्गिक समानता र सामाजिक समावेशीको सवाल विषयक तालिमको समापन समारोहमा जुनसुकै बेला पनि मन्त्री पद जान सक्ने बताएका हुन् । उनले भने, ‘अहिले के हुन्छ थाहा छैन मलाई । म यहाँ बोलिरहेको छु। मेरै मन्त्री पद गएको पनि हुन सक्छ ।’
नेपाली काँग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा छ । माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी सरकारबाट बाहिरिएका छन् । प्रदेशमा काँग्रेस र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरू छन् । काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नेतृत्वको प्रदेश सरकार अल्पमतमा रहेका बेला केन्द्रमा नागरिक उन्मुक्ति पार्टीले नयाँ गठबन्धनका प्रधानमन्त्री पुष्पकमल दाहल ९प्रचण्ड०लाई बुधवार विश्वासको मत दिएको छ ।
केन्द्रमा नयाँ गठबन्धनलाई विश्वासको मत दिएको नागरिक उन्मुक्ति सुदूरपश्चिम प्रदेश सरकारमा छ । प्रदेश सरकारबाट नागरिक उन्मुक्ति बाहिर गएको छैन । नागरिक उन्मुक्तिका सात र एक राप्रपा तथा एक स्वतन्त्र प्रदेश सभा सदस्यको साथ काँग्रेसलाई आवश्यक छ । नेपाली काँग्रेससँग १८ जना प्रदेश सभा सदस्य मात्र छन । सुदूरपश्चिममा बहुमतका लागि २७ जना प्रदेश सभा सदस्यहरूको मत आवश्यक हुन्छ ।
केन्द्रीय राजनीति फेरिएकाले सुदूरपश्चिमका कानुन मन्त्री भट्टले पद जुनसुकै बेला जाने अवस्था रहेको बताएका हुन् ।















