शेयेर गर्नुहोस
यज्ञराज उपाध्याय, टीकापुर । कैलालीको टीकापुर–डुडेझारी सडकको कालोपत्रे हुन बाँकी ग्राभेल सडकमा पानी हाल्ने काम सुरु भएको छ । टीकापुरलाई पुर्व–पश्चिम राजमार्गसँग जोड्ने वैकल्पिक मार्ग टीकापुर-डुडेझारी सडकखण्डको ग्राभेल सडकमा पानी हाल्न सुरु गरिएको हो ।
सडमका निर्माण व्यवसायीका टिप्परहरु धेरै गुडिरहने भएकाले अत्याधिक धुलो हुने गरेको भन्दै सडक छेउमा स्थानीयले पानी हाल्न दबाब दिएका थिए । निर्माण व्यवसायीले सहमति गरेर पनि एक जना बाहेक अरुले कार्यान्वयन नगरेपछि स्थानीयले आइतबार टिप्परहरु सडकमै रोकेका थिए ।
स्थानीय टेकराज उपाध्यायले टिप्पर रोकेर पानी हाल्न दबाब दिएपछि सोमबारबाट पानी हाल्न सुरु भएको बताए । उनले आइतबार ईलाका प्रहरी कार्यालय टीकापुरमा टिप्पर गुड्ने निर्माण व्यवसायीका प्रतिनिधि र स्थानीयका प्रतिनिधिबीचको छलफलमा पालैपालो गरेर दिनमा दुईपटक पानी हाल्दिने सहमति भएको भन्दै सोमबार (आज)देखि कार्यान्वयन गरेको बताए ।
उनका अनुसार सोमबार समीप निर्माण सेवाको ट्यांकरले तीन फन्का गरेर २४ हजार लिटर पानी सडकमा हालेको हो । सडकमा पानी हालेपछी धुलो कम उडेको उनको भनाई छ ।
निर्माण सेवाका सञ्चालक ज्ञानेन्द्र शाहले आफुले आफ्नो पालो कटाएको जानकारी दिए । उनले सहमति अनुसार आफुले हालिसकेको भन्दै स्थानीयले चलनचल्तीको बाटोमा यसरी टिप्पर नै चल्न नदिने भन्ने कुरा अलि नसुहाएको बताए । शाहले यस विषयमा गाउँपालिकालाई पनि स्थानीयहरुले घच्घचाउनुपर्ने भन्दै आफ्नो एउटा मात्र टिप्पर चल्ने गरेको जानकारी दिए ।















