प्रदेश प्रमुखले फेरी समय थप गरेका भन्दै रेशम पक्ष र काँग्रेसका सांसद अदालत जाने

शेयेर गर्नुहोस

धनगढी । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी पक्षीय सांसदसँगै काँग्रेस पनि अदालत जाने भएको छ । न्यायको लडाइँका लागि दुवै पक्ष अदालत जाने भएका हुन् ।

उनीहरुले मंगलबार साँझ पत्रकार सम्मेलन गरेरै यस्तो चेतावनी दिएका हुन् । मुख्यमन्त्रीको सरकारी निवासमा पत्रकार सम्मेलन गर्दै दुवै दलहरूले मुख्यमन्त्री नियुक्तिमा थप समय दिएर असंवैधानिक काम गरेको भन्दै न्यायालय जाने बताए । मंगलबार प्रदेश प्रमुख नजिर मियाँले ६ गते साँझ ५ बजे सम्मको लागि मुख्यमन्त्रीमा दाबी गर्न थप समय दिएका थिए ।

२ गते मुख्यमन्त्रीमा दाबी गरेका नागरिक उन्मुक्ति पार्टीका दुबै सांसदहरूको दाबी अस्वीकृत गर्दै प्रदेश प्रमुखले नयाँ समय दिएका हुन् । आइतबार नागरिक उन्मुक्तिका रेशम पक्षीय लक्ष्मण किशोर चौधरी र रञ्जिता पक्षीय कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

दुबै दाबी प्रदेश प्रमुखले खारेज गरेर संविधानको १६८ को २ बमोजिम पुनः आह्वान गरेका थिए । प्रदेश प्रमुखको उक्त कदम विरुद्ध मुख्यमन्त्रीमा दाबी पेस गरेका लक्ष्मण किशोर चौधरीले अदालत जाने बताए । चौधरीले प्रदेश प्रमुखले कानुन विपरीत सरकार निर्माणको समय लम्ब्याएको भन्दै आपत्ति समेत जनाए । उनले सबै प्रक्रिया पुरा हुँदा पनि आफ्नो दाबी खारेज गरेको भन्दै असंवैधानिक काम भएको दाबी गरे ।

कांग्रेस संसदीय दलका नेता समेत रहेका प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले पनि प्रदेश प्रमुखबाट असंवैधानिक काम भएको भन्दै न्यायिक लडाइँ लड्ने बताए । प्रदेश प्रमुखले समय लिएर फेरि समय थप गरेको र त्यो असंवैधानिक काम भएकाले न्यायालय जाने उनले बताए । उनले नेकपा एकीकृत समाजवादीले समेत नैतिकता देखाउन नसकेको बताए ।

पछिल्लो समय सुदूरपश्चिममा मुख्यमन्त्रीको विषयलाई लिएर अनेक खेलहरु भइरहेका छन् । एकीकृत समाजवादीले मुख्यमन्त्रीका लागि संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई अघि सार्ने निर्णय गरेको भए पनि नेकपा एमालेले भने उनको विकल्प खोज्नुपर्ने भन्दै अहिले छलफल जारी छ ।

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *