कतारका राजाको सम्मानमा मंगलबार सार्वजनिक विदा

शेयेर गर्नुहोस

काठमाडौँ । कतारको राजाको सम्मानमा भोलि (मंगलबार) सार्वजनिक विदा दिइने निर्णय भएको छ।

राष्ट्र प्रमुखसमेत रहेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि मंगलबार नेपाल आउने भएपछि नेपाल सरकारले उनको सम्मानमा एक दिन सार्वजनिक बिदा दिने भएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले कतारका राजाको नेपाल भ्रमणको पहिलो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले बताए । मन्त्रिपरिषद्को निर्णयअनुसार मंगलबार सार्वजनिक बिदा हुनेछ । विदेशी राष्ट्र प्रमुखको नेपाल भ्रमण हुँदा सार्वजनिक बिदा दिने यसअघिको अभ्यासअनुसार नै कतारका राजाको भ्रमणमा बिदा दिने निर्णय भएको मन्त्री श्रेष्ठले बताए ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उनको भ्रमण हुन लागेको हो । पहिलोपल्ट कतारका राजा नेपाल आउन लागेका हुन् । दुई निजी जहाज लिएर आउन लागेका उनका साथमा आधा दर्जनभन्दा बढी मन्त्री हुने बताइएको छ । उनको भ्रमणपूर्व नै तयारीका लागि ५० भन्दा बढी कतारी प्रतिनिधि काठमाडौं आउने छन् ।

नेपालस्थित कतारी राजदूत मिस्हल बिन मोहम्मद अल अन्सारीले भ्रमणको गृहकार्य अन्तिम चरणमा रहेको बताए । परराष्ट्र मन्त्रालयका अनुसार कतारका अमिरले मंगलबार राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँग भने बुधबार द्विपक्षीय वार्ता गरी केही सम्झौता र समझदारीमा हस्ताक्षर हुने कार्यक्रम तय भएको छ । उनी बुधबार बेलुका नै कतार फर्कने छन् ।

कतार न्युज एजेन्सीले एसियाली मुलुकको भ्रमणमा निस्केका राजाले सम्बन्धित मुलुकका नेता तथा वरिष्ठ अधिकारीहरूसँग सहकार्य अभिवृद्धि गर्ने तथा विभिन्न क्षेत्रमा सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने उल्लेख गरेको छ । तीन एसियाली मुलुकको भ्रमणका लागि गत आइतबार दोहाबाट फिलिपिन्स उडेका कतारी अमिर बंगलादेश हुँदै नेपाल आउन लागेका हुन् ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *