शेयेर गर्नुहोस
धनगढी । कैलालीको गौरीगंगा नगरपालिकाले मापदण्ड विपरीत नदीजन्य पदार्थको दोहन गर्दै आएको छ ।
गौरीगंगा नगरपालिका–३ शिवगंगा नदीमा डोजर लगाएर नदीजन्य पदार्थको दोहन गर्दै आएको हो । नगरपालिकाले डोजर र से १ ग १२४ र से १ ग १२५ नम्बरको टिप्पर प्रयोग गरेर मापदण्ड विपरीत नदीजन्य पदार्थको दोहन गर्दै आएको छ । वडा नम्बर ३ को कार्यालयले ग्राभेलका लागि महेन्द्र राजमार्गको शिवगंगा पुलदेखि पाँच समय मिटर दक्षिणबाट नदीजन्य पदार्थ उत्खनन् गर्ने काम गर्दै आएको छ ।
वडा नम्बर ३ का सडकहरूमा ग्राभेल गर्न थालिएको वडा सदस्यसमेत रहेका स्थानीय हरिराम आर्चायले बताए । उनले भने, ‘वडाका सडकहरूमा ग्राभेल गर्न खनेका हौँ । असार पनि सुरु हुँदैछ । बर्खामा हिलो हुन्छ । हतार–हतारमा काम गर्दैछौं । महेन्द्र राजमार्गबाट पाँच सय मिटर तल खन्न पाउने भनियो । त्यही कारणले मैले नै खन्न भनेको हुँ ।’
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको वातावरण तथा विपद् व्यवस्थापन शाखाले जिल्ला समन्वय समितिहरू र स्थानीय तहहरूलाई पठाएको मापदण्ड विपरीत गौरीगंगा नगरपालिकाले नदीजन्य पदार्थको दोहन गर्दै आएको छ । ढुङ्गा, गिट्टी, तथा बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्डको दफा ४ (१०) मा घना बस्ती र वन क्षेत्रको २ किलोमिटर, राजमार्गको पाँच सय मिटर दूरी भित्रको नदी, सडक पुल तथा झोलुङ्गे पुलको एक किलोमिटर तल र पाँच सय मिटर माथिको नदीजन्य पदार्थ उत्खनन् र सङ्कलन गर्न पाइने छैन भनिएको छ ।
तर, गौरीगंगा नगरपालिकाले शिवगंगा नदीको पुलबाट पाँच सय मिटर तल डोजर प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन् गर्दै आएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले नदीे सङ्कलनको जिम्मा स्थानीय सरकारको भएको बताए । उनले भने, ‘स्थानीय तहहरूले नदीको सङ्कलन गर्नुपर्ने हो । उहाँहरूबाटै मापदण्ड विपरीतको काम नहुनुपर्ने हो । के भएको रहेछ ? प्रहरीलाई पठाउछु ।’
जिल्ला समन्वय समिति कैलालीका कार्यवाहक प्रमुख खगराज भुषालले गौरीगंगा नगरपालिकाका नगर प्रमुख देविदत्त कडेललाई फोन गरेपछि डोजरसहितका टिप्पर पुलबाट एक किलोमिटर तलको दुरीमा लगिएको थियो । नगर प्रमुख कडेलले वडाका जनप्रतिनिधिहरू, डोजरका चालक र टिप्परका चालकहरूलाई मापदण्डको विषयमा जानकारी नभएकाले यस्तो भएको बताए ।
उनले भने, ‘उहाँहरूले पुलबाट पाँच सय मिटर तल सोच्नु भएको रहेछ। पाँच सय मिटर जतिमा खन्नु भयो । मलाई जानकारी भएपछि एक हजार मिटरमा पठाएको छु । पुलबाट माथि पाँच सय मिटर र तल एक किलोमिटरमा खन्न नमिल्ने भनेर मैले भनेको छु ।’ नदीको सतह तल गएकाले शिवगंगा नदीको पुल भासिएको थियो । सडक डिभिजन कार्यालयले पछि मर्मत गरेको थियो ।















