शेयेर गर्नुहोस
कैलाली जिल्लामा राष्ट्रिय परिचय पत्र बनाउँदा राष्ट्रियता झल्काउने टोपी खोल्न लगाइने गरेको छ । जिल्ला प्रशासन कार्यालय र मातहतका ईलाका प्रशासन कार्यालयहरुले राष्ट्रिय परिचय पत्र बनाउन फोटो खिच्दा ढाका टोपी, महिलालाई गहना निकाल्न लगाइन्छ । यतिसम्म कि महिलाले लगाएको सिन्दुरसमेत पुछ्न लगाइन्छ । फोटो राम्रो नआउने भन्दै परिचय पत्रका लागि राष्ट्रियता झल्काउने पहिरन, महिलाले गरगहना र सिन्दुरसमेत लाउन नपाइनुले सेवाग्राही असन्तुष्ट देखिएका छन् । सामाजिक सुरक्षा भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछी प्रशासन कार्यालयमा सेवाग्राहीको भिडै लागिरहेको छ । उनीहरुमध्ये कतिपयले फोटो खिच्ने क्रममा टोपी, गहना निकाल्न भनेपछी प्रतिवादसमेत गर्ने गर्छन् ।
राष्ट्रियता झल्काउने पहिरन, महिलाको पहिचानसँग जोडिएको मङ्गलसुत्र निकाल्न लाउनु, सिन्दुर पुछ्न लगाउनु राम्रो नभएको धेरैले बताइरहेका छन् । राष्ट्रिय परिचय पत्र जस्तो राष्ट्रको महत्वपूर्ण प्रमाणमै राष्ट्रिय पहिरन निषेध गरिएकोप्रति विरोधसमेत हुने गरेको छ ।
तसर्थ राष्ट्रिय परिचय पत्र बनाउने क्रममा फोटो खिच्दा अस्वभाविक देखिने टोपीबाहेक ढाका टोपी लगायतलाई निषेध गरिनु हुँदैन । महिलाले लगाएको गहना, सिन्दुरलाई निषेध गरेर नागरिकको मनमा आशंका उब्जाउने कामलाई तुरुन्तै बन्द गर्नुपर्छ । यसका लागि जिल्ला प्रशासन कार्यालय र मातहतका इलाका प्रशासन कार्यालयहरुले गम्भीर रुपमा ध्यान दिन आवश्यक छ ।















