प्रधानमन्त्री कप क्रिकेट बैतडीमा हुने

शेयेर गर्नुहोस

बैतडी ।  प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट बैतडीमा हुने भएको छ ।

यही फागुन ११ गतेदेखि सुरु हुने प्रतियोगिताका खेल बैतडीको दशरथचन्द नगरपालिका–५ सुन्दरखालीमा रहेको दशरथचन्द क्रिकेट मैदानमा खेलाइने  सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले बताउनुभयो । आठ टोली सहभागी हुने प्रतियोगिताका खेल प्लेट र एलाइट गरेर दुई चरणमा हुनेछन् ।

प्लेट च्याम्पियनसिपका खेल फागुन ११ गतेदेखि र फागुन १४ देखि एलाइट कप सञ्चालन हुने छ । प्लेट च्याम्पियनसिपको उद्घाटन  खेलमा फागुन ११ गते बझाङ र दार्चुला भिड्ने छन् । सोही दिन हुने अर्को खेलमा डडेल्धुरा र डोटी खेल्ने छन् ।

फागुन १२ गते पहिलो खेलमा दार्चुला र डोटी भिड्दा दोस्रोमा डडेल्धुरा र बझाङ  आमनेसामने हुने छन् । फागुन १३ गते हुने पहिलो खेलमा दार्चुला र डडेल्धुरा प्रतिस्पर्धा गर्दा दोस्रोमा बझाङ र डोटीबीच भिडन्त हुनेछ ।

प्लेट च्याम्पियनसिपको च्याम्पियन टोली एलाइट कपका लागि छनोट हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले जानकारी दिनुभयो । फागुन १४ गते हुने एलाइट कपको उद्घाटन खेलमा बैतडी र अछाम भिड्ने छन् ।

फागुन १५ गते प्लेट च्याम्पियन र अछाम, फागुन १६ गते बैतडी र प्लेट च्याम्पियन, फागुन १७ गते अछाम र कञ्चनपुर, फागुन १८ गते कञ्चनपुर र प्लेट च्याम्पियन, फागुन १९ गते कैलाली र अछाम, फागुन २० गते प्लेट च्याम्पियन र कैलाली, फागुन २१ गते बैतडी र कञ्चनपुर, फागुन २२ गते कैलाली र कञ्चनपुर, फागुन २३ गते कैलाली र बैतडी खेल्ने छन् । फागुन २४ गते प्रतियोगिताको शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ ।

प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली तयार गरिनेछ ।रासस

ताजा खबर

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *