जहाँ पैसा नभई साँघु तर्न पाइन्‍न

शेयेर गर्नुहोस

साइकल तारेको १०, मोटरसाइकल २० र अटोको १०० रूपैयाँ
अर्जुन शाह । भजनी, कैलाली — कैलारी गाउँका प्रेमबहादुर चौधरी कामका लागि भजनी नगरपालिकाको कार्यालय पुग्ने हतारोमा थिए । उनी कान्द्रा नदीको कर्मदेवघाटमा निर्मित साँघुको छेवैमा पुगे । त्यहाँ छाप्रामा बसेका स्थानीयले रोकेर २० रुपैयाँ मागेपछि उनी अक्क न बक्क भए ।
कैलालीको भजनी नगरपालिकाको कर्मदेवघाटमा निर्मित काठेसाँघु। यो साँघु तर्न पैसा तिर्नुपर्ने बाध्यता छ ।

‘केको पैसा चाहियो’ भन्ने उनको प्रश्नमा त्यहाँ उभिएका युवाबाट ‘साँघु तरेको पैसा लाग्छ’ भन्ने जवाफ पाए । समयमै नगरपालिका पुग्नुपर्ने भएकाले पाइन्टको वरिपरिका दुवै खल्ती छामे तर केही फेला परेन । पैसा उठाउने युवकले भने, ‘पैसा नभए त साँघु तर्न पाइन्न ।’ केहीबेर कुरा गरेपछि फर्किएर तिर्ने सर्तमा मात्रै उनले साँघु तर्ने अनुमति पाए ।

कर्मदेवघाटको साँघुमा साइकल तारेको १०, मोटरसाइकल तारेको २० र अटो तारेको एक सय रुपैयाँ ठेकेदारले असुल्ने गरेको स्थानीयले बताए । ‘हामीले नगरपालिकासँग वर्षको साढे तीन लाखमा ठेक्का लिएका छौं, त्यही रकम असुल्न पनि यसरी पैसा लिनुपर्ने हुन्छ,’ ठेकेदार बमबहादुर साउदले भने । कर्मदेवसहित भजनी नगरपालिका क्षेत्रको कान्द्रा नदीको ५ ठाउँमा यसैगरी स्थानीयले डुंगा र साँघु तरेको पैसा तिर्नुपर्ने बाध्यता छ ।

पुल नभएकाले नगरपालिका कार्यालयले नै वर्षातको समयमा स्थानीय ठेकेदारलाई डुंगाबाट नदी तार्ने ठेक्का दिएको छ । कर्मदेवघाट, बिजुलिया–पचमुडिया, लालबोझी, मिलनपुर, पहलवान गरी पाँच ठाउँमा नदी तार्न ठेक्का लगाइएको वडा नम्बर ५ का अध्यक्ष केशवबहादुर बुढाले बताए । ‘भजनी र अन्य गाउँबाट कान्द्रा नदी ओहोरदोहोर गर्नेलाई सास्ती छ,’ वडाध्यक्ष बुढाले भने, ‘पक्की पुल बन्ने ठेगान छैन । ठेकेदारले आफ्नो मर्जीले रकम असुल गरिरहेका छन् ।’ विद्यार्थीलाई भने निःशुल्क गरिएको उनको भनाइ छ ।

शिक्षकहरूले एकमुष्ठ रूपमा विद्यालयबाट तिराउने गरेको पचमुढियाका एक शिक्षकले बताए । नगरपालिकाले डुंगा चलाएर नदी तार्न ठेक्का दिएको भए पनि ठेकेदार आफैँले काठेसाँघु बनाएकाले रकम असुलेको नगरपालिका उपप्रमुख छाया देवकोटाले बताइन् । ‘नगरपालिका आफैँले साँघु बनाउन सक्ने भए पनि संरक्षण नहुने भएकाले ठेक्का दिइएको हो,’ उनले भनिन् । कैलालीको मलवार क्षेत्रतिर बग्ने मुख्य नदी हो कान्द्रा । यही नदीले हरेक वर्षामा डुबान गरेर सयौं परिवारको बिचल्ली गराउँदै आएको छ ।

भजनी क्षेत्रमा बग्ने कान्द्रा नदीमा पक्की पुल छैन । ‘हामीलाई त यो नदीले लास्टै दुःख दिएको छ, बर्खामा चारैतिर डुबान भएर धनजनको क्षति हुन्छ । त्यसबेला लगभग आवागमन पूरै ठप्प हुन्छ, हिउँदमा पनि साँघु तर्न दैनिक खर्च लाग्छ,’ स्थानीय खुसीराम चौधरीले दुखेसो पोखे ।

९ वर्षदेखि पुल अधुरै

पक्की पुल नभएकै कारण स्थानीय बासिन्दा बर्खामा डुंगामा र हिउँदमा काठेसाँघुबाट तर्न पैसा तिर्नुपर्ने बाध्यतामा छन् । कान्द्रा नदीमा पुल निर्माणको ठेक्का सम्झौता भएको नौ वर्ष बित्न थाल्यो तर काम भने अगाडि बढेको छैन ।

हुलाकी सडक खण्डमा लालबोझी र भजनी जोड्न पुल निर्माण गर्न २०६८ असारमा लामा शाल्पा शेर्पा बिरुवा जेभी कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । ४ करोड लागतमा उक्त पुल साढे २ वर्षभित्र तयार गर्नुपर्ने सम्झौता थियो । लामो समयसम्म काम नभएपछि २०७५ असारपछि ठेक्का तोड्ने तयारी गर्दैगर्दा कानुनी रूपमा एक वर्षको म्याद थप भएको हुलाकी सडकका इन्जिनियर पदमबहादुर मडैंले बताए ।

‘अहिलेसम्म ५५ प्रतिशत काम मात्र भएको छ,’ उनले भने, ‘निर्माण कम्पनीले चालु आर्थिक वर्षभित्र काम पूरा गरिसक्ने प्रतिबद्धता गरेको छ ।’ पक्की पुल नभएकाले कैलालीको दक्षिण क्षेत्रका बासिन्दा सदरमुकाम धनगढीसँग सिधा जोडिन सकेका छैनन् । हाल स्थानीय बासिन्दाले २५ किलोमिटर उत्तर राजमार्ग भएर धनगढी सदरमुकाम पुग्नुपर्ने अवस्था छ ।
(साभारः कान्तिपुर)

ताजा खबर

सुदूरपश्चिमका आशिषले ३६ वर्षको कीर्तिमान तोडे

बाजुरामा दुई बालिका कर्णाली नदीमा बेपत्ता

कैलालीमा बोईलर कुखुरासहित एक लाख बढीका सामान बरामद

भजनी नगरपालिकामा आधारभूत तहको नतिजा निराशाजनक

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *