शेयेर गर्नुहोस
शम्भु यादव ।
सिरहा । ८५ वर्षीया सुदामादेवी साह छिमेकीको घरमा गफिँदै थिइन्। कान्छो छोरो रामअवतारले बुहारी मनीषाको खुट्टाको घाउ झारफुक गर्न बोलाए। सुदामादेवीले आफूलाई बोक्सी आरोप लगाउने छोराको घरमा नजाने तर आफ्नो घरमा आए झारफुक गरिदिने अड्डी कसिन्।
‘तिमीले बोक्सी लगाएको हो, त्यही भएर बुहारी बिरामी परेको छ, तिमीले छुटाउनुपर्छ भन्दै थिए रामअवतार’, एक स्थानीयले भने, ‘आफ्नो घरमा बुहारी ल्याउनु अनि झारफुक गर्छु भन्दै सुदामादेवीले जवाफ दिइन्।’ त्यससँगै रिसाएका रामअवतारले घाँटी थिचेर कुटपिट गर्दा ती वृद्धा गम्भीर घाइते भइन्। यो घटना यही कात्तिक ११ गते कर्जन्हा नगरपालिका ३ खैराहा टोलमा भएको थियो।
स्थानीयले घाइतेलाई नजिकै अस्पताल पु¥याए। थप उपचारका लागि जनकपुरस्थित जानकी मेडिकलमा लगे। तर, उपचार खर्च अभावका कारण घाइतेलाई फर्काएर जिल्ला अस्पताल सिरहामा ल्याइयो। उपचारकै क्रममा शनिबार सुदामादेवीको मृत्यु भएको छ। जेठो छोरो रामबहादुरले आइतबार आमाको दाहसंस्कार गरेका छन्।
जिल्ला प्रहरी प्रवक्ता शालिग्राम शर्मा पौडेलले अभियुक्त रामअवतारलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताए। रामअवतारविरुद्ध कर्तव्य ज्यान र बोक्सीको आरोपसम्बन्धी मुद्दा चलाइएको डीएसपी पौडेलको भनाइ छ।
विगतमा सुदामालाई कान्छो छोरोले मलमूत्र खुवाउने प्रयास गरेको, पटक–पटक कुटपिट गरेको स्थानीयको भनाइ छ। ‘बुवाको निधनपछि १५ वर्षदेखि आमा एक्लै बस्दै आएकी थिइन्’, सुदामाकी छोरी रामतोला साहले भनिन्, ‘दाइले जबर्जस्ती आरोप लगाएर आमाको हत्या गरेको छ।’
सुदामादेवीले वर्षौंदेखि गाउँमा झारफुकको काम गर्दै आएको उनले सुनाइन्। बोक्सी आरोप लगाएर वृद्ध आमालाई अलग पारेको उनको गुनासो छ। आमाले गाउँमा बनिबुतो गरी गुजारा चलाउँदै थिइन्। ‘गाउँघरमा अहिले पनि अन्धविश्वास गएको छैन’, स्थानीय प्रकाश कोइरालाले भने, ‘बिरामी प¥यो भने धाँमीझाक्रीकहाँ पुग्ने गर्छन्। निको हुनेले धामी सही हो भन्छ। जसलाई निको हुँदैन उसले बोक्सा÷बोक्सीको आरोप लगाउन सुरु गर्छ।’ बोक्सी आरोप लगाउनेहरूलाई सरकारले कडा कारबाही नगरेसम्म यस्ता कुप्रथा नहट्ने उनको भनाइ छ। जिल्ला प्रहरीका अनुसार वैशाखयता सिरहामा बोक्सी आरोप दुव्र्यवहार, कुटपिटका ८ वटा घटना भएका छन्। नवराजपुर गाउँपालिका–५ कुर्सन्डीमा मूर्तिदेवी यादवलाई असोज ३ गते मध्यराति स्थानीयले बोक्सी आरोप लगाएर मलमूत्र खुवाएका थिए। कुटपिट गरेका थिए। दुई हप्ताको उपचारपछि उनी घर फर्केकी छन्। तर, केही बोल्दिनन्, टोलाइरहन्छिन्। आफन्तको सहायताले उनी खानेबस्ने गर्छन्। उनका आफन्तले ८ जनाविरुद्ध जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। त्यसमध्ये केहीलाई प्रहरीले पक्राउ गरेको छ।
(साभारः अन्नपूर्ण पोष्ट)